कञ्चनपुरका नौ वटै पालिकाको बजेट सार्वजनिक



कञ्चनपुर ।

जिल्लाका नौ वटै स्थानीय तहले आगामी आव २०८२–८३ को बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, खेलकुद, विपद् व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकतमा राखेका छन् ।

शुक्लाफाँटा नगरपालिकाको ९२ करोड ७८ लाख बजेट

शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि रु ९२ करोड ७८ लाख ५३ हजार ६३१ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाको २०औँ नगर सभामा नगर उपप्रमुख कल्पना पन्तले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने भएको बजेट नगर सभा सदस्यले ध्वनि मतले पारित गरेका हुन् ।

प्रस्तुत बजेटअनुसार नगरपालिकाको चालू खर्च रु ६७ करोड ७१ लाख १४ हजार ५६६ र पुँजीगत खर्च रु २५ करोड सात लाख ३६ हजार ३४ रहेको छ । नगर सभामा प्रस्तुत आयतर्फ आन्तरिक आय रु दुई करोड ४२ लाख ८४ हजार, मालपोतबाट ७३ लाख, संघीय सरकार राजस्व बाँडफाँटबाट रु १३ करोड छ लाख ५६ हजार ६६१ र प्रदेश सरकार राजस्व बाँडफाँटबाट ५१ लख ६४ हजार रहेको छ ।

यसैगरी नेपाल सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण रु ४३ करोड ३२ लाख, प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरण रु चार करोड ३६ लाख २६ हजार, अनुमानित आन्तरिक आय अल्या रु दुई करोड ७५ लाख, क्षेत्रीय सहरी विकास कार्यक्रम रु २० लाख ६० हजार, सडक बोर्डबाट रु ४० लाख र सामाजिक सुरक्षातर्फ रु २५ करोड रहेको छ ।

नगरपालिकाले आर्थिक विकास क्षेत्रतर्फ रु एक करोड १२ लाख ४६ हजार २७१, सामाजिक विकासतर्फ रु २६ करोड ४६ लाख १५ हजार ३२५ विनियोजन गरेको छ । यसैगरी पूर्वाधार विकासतर्फ रु २४ करोड ८६ लाख ३६ हजार ३५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७६ लाख र कार्यालय सञ्चालनतर्फ रु ११ करोड ५४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिकाको बजेट एक अर्ब ९३ करोड २३ हजार

भीमदत्त नगरपालिकाले आगामी आव २०८२–८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १७औँ नगर सभाबाट आगामी वर्षका लागि रु एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट पारित गरेको छ । प्रस्तुत बजेटअनुसार पुँजीगत वित्तीय समानीकरण वडागत पुँजीतर्फ रु १२ करोड सात लाख, विषयगत शाखातर्फ रु २० लाख, नगरस्तरीय पुँजीगत योजना रु पाँच करोड ८३ लाख ८६ हजार ६८१, सवारीसाधन मर्मत रु ५३ लाख ७३ हजार ३१९ बजेट विनियोजन गरिएको छ ।

यसैगरी पुँजीगततर्फ रु पाँच करोड ६४ लाख, ससर्त अनुदान खर्च रु ५४ करोड ९० लाख, विशेष अनुदान खर्च रु दुई करोड ३८ लाख, सामाजिक सुरक्षा रु ५७ करोड, सडक बोर्ड रु एक करोड, सहरी विकास आयोजना रु २० लाख गरेर रु एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट नगरपालिकाले पारित गरेको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ रु २४ करोड ९२ लाख ३६ हजार ६८१, वडा कार्यालय चालूतर्फ रु ६६ लाख ५० हजार, विषयगत शाखा कार्यक्रमतर्फ रु दुई करोड २० लाख, नगर विकास कोषतर्फ रु एक करोड, भारतीय दूतावास म्याचिङतर्फ रु दुई करोड, नगरस्तरीय पुँजीगत रु एक करोड दुई लाख १३ हजार ३००, सवारीसाधन मर्मत रु ५४ लाख, विभिन्न कोषतर्फ रु दुई करोड ६५ हजार विनियोजन गरिएको छ ।
नगरपालिकाले आउँदो आवदेखि महिलाकोे उच्च शिक्षालाई प्राथमिकतामा राख्दै छोरीबुहारी उच्च शिक्षा अध्ययन कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था मिलाएको छ । नगर प्रमुख पदम बोगटीले आउँदो वर्ष कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधि बनाएर लागु गरिने बताए ।

कृष्णपुर नगरपालिकाको एक अर्ब एक करोड ११ लाखको बजेट

कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि रु एक अर्ब एक करोड ११ लाख ८२ हजार ४५१ बराबरको बजेट पारित गरेको छ । प्रस्तुत बजेटअनुसार आन्तरिक आय रु आठ करोड, संघीय सरकारको वित्तीय समानीकरण शीर्षकबाट रु १५ करोड ९९ लाख र प्रदेश सरकारबाट रु एक करोड ४९ लाख १३ हजार रकम प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी संघीय राजस्व बाँडफाँटबाट रु १५ करोड ३० लाख ९३ हजार ४५१ र प्रदेश राजस्व बाँडफाँटबाट रु ४७ लाख २१ हजार, सामाजिक सुरक्षाका लागि रु २५ करोड, संघीय सशर्त अनुदानमार्फत रु २५ करोड एक लाख र प्रदेश ससर्त अनुदानबाट रु एक करोड ९६ लाख ५५ हजार आय हुने बताइएको छ ।

संघीय समपूरक अनुदानबाट रु ८३ लाख र प्रदेशबाट रु दुई करोड १० लाख तथा संघीय विशेष अनुदानबाट रु चार करोड ५५ लाख र प्रदेश विशेष अनुदानबाट रु ४० रकम प्राप्त हुनेछ । नगरपालिकाले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी, खानेपानी, खेलकुदलाई प्राथमिकता दिएको छ ।

नगर प्रमुख हेमराज ओझाले आगामी आवमा शिक्षा भौतिक पूर्वाधार र सामाजिकतर्फ नयाँ कार्यक्रम सञ्चालनका लागि बजेटमा व्यवस्था गरिएको बताए । नगरपालिका क्षेत्रकै राना थारु समुदायबाट पहिलो मन्त्री भएका स्वर्गीय लबरु राना थारुका नामबाट उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

कृष्णपुर स्वास्थ्यचौकीमा सर्पदंश उपचार केन्द्र स्थापना, शीतगृह सञ्चालन, दक्षिण कोरियाका सहयोगमा प्रदेशस्तरको टेक्निकल इन्सिच्युट स्थापना गरिने, कृषि एम्बुलेन्सको व्यवस्था गरिने, नगरपालिकामा तीन वटा रङ्गशाला निर्माण गरिनेलगायतका कार्यक्रम अघि सारिएको छ ।

बेदकोट नगरपालिकाको ९८ करोड ६५ लाख २१ हजार बजेट

बेदकोट नगरपालिकाको १७औँ नगर सभाले रु ९८ करोड ६५ लाख २१ हजार ९२६ बजारको बजेट पारित गरेको छ । नगर प्रमुख भोजराज बोहराका अनुसार बजेटमा एक विद्यालय एक नर्स कार्यक्रम, शीतगृह निर्माण, अस्थायी करार ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्ने, नगरको शान्ति सुरक्षाका लागि नगर प्रहरीको व्यवस्थापन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्ने, दैजीमा आँखा उपचार केन्द्र स्थापना गर्ने, दैनिक ज्यालादारीमा रहेका कर्मचारीलाई मासिक ज्यालादारीमा रुपान्तरण गर्न आवश्यक प्रबन्ध गर्ने रहेको छ ।

पुनर्वास नगरपालिकाको ७५ करोड ७७ लाख १८ हजार बजेट

पुनर्वास नगरपालिकाले आव २०८२–८३ का लागि रु ७५ करोड ७७ लाख १८ हजार ६१ बरावरको बजेट नगर सभाबाट परित गरेको छ । प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु १४ करोड ९३ लाख, ससर्त अनुदानतर्फ रु २८ करोड ६८ लाख र राजस्व बाँडफाँटबाट रु १२ करोड ७० लाख १३ हजार ६१ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ रु एक करोड ४२ लाख तीन हजार, विशेष अनुदान रु ४५ लाख, समपूरक अनुदान रु ६९ लाख र सवारीसाधन कर बाँडफाँटबाट रु ८५ लाख दुई हजार प्राप्त हुनेछ । नगरपालिकाले आन्तरिक आयबाट रु चार करोड ३० लाख सङ्कलन हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, पर्यापर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

लालझाडी गाउँपालिकाको बजेट रु ४३ करोड ६५ लाख २२ हजार

लालझाडी गाउँपालिकाले आव २०८२–८३ का लागि रु ४३ करोड ६५ लाख २२ हजारको बजेट परित गरेको छ । गाउँ सभामा प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ रु २३ करोड ९९ लाख २६ हजार र पुँजीगत खर्चतर्फ रु १९ करोड ६५ लाख ९६ हजार रहेको छ । चालू खर्चतर्फ प्रशासनिक सञ्चालन, तलबभत्ता, सेवा प्रवाह, कार्यक्रम व्यवस्थापनजस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक निर्माण, ऊर्जा र महिला सशक्तीकरणका कार्यक्रम राखिएका छन् ।

बेलडाँडी गाउँपालिकाको बजेट रु ५४ करोड ५० लाख ४४ हजार

बेलडाँडी गाउँपालिकाले आगामी आव २०८२–८३ का लागि रु ५४ करोड ५० लाख ४४ हजारको बजेट ल्याएको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार १७औँ गाउँ सभाबाट बजेट परित गरिएको छ । बजेटअनुसार चालू खर्चतर्फ ३७ करोड ४३ लाख र पुँजीगत खर्चतर्फ रु १७ करोड सात लाख रहेको छ ।

आन्तरिक आयतर्फ रु एक करोड, राजस्व बाँडफाँटतर्फ रु सात करोड ९४ लाख ९० हजार रहेको छ भने वित्तीय हस्तान्तरण संघीय सरकारबाट रु ३१ करोड १४ लाख, प्रदेश सरकारबाट रु दुई ४१ लाख ५४ हजार, सामाजिक सुरक्षातर्फ रु १२ करोड रहेको छ । गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यापर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

बेलौरी नगरपालिकाको ७४ करोड ७७ लाख बजेट

बेलौरी नगरपालिकाले आव २०८२–८३ का लागि रु ७४ करोड ७७ लाख ८० हजारको बजेट नगर सभाबाट पारित बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । आगामी आवमा आन्तरिक राजस्व रु तीन करोड ७१ लाख ६८ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

नगर प्रमुख पोतिलाल चौधरीका अनुसार बजेटमा नगर गौरवका योजनालाई अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको छ । विपद् व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन कोष स्थापना गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको छ । ‘एक घर, एक बीमा’ कार्यक्रमलाई अघि सार्ने योजना बनाइएको छ । विद्यावारिधि गर्ने नगर क्षेत्रका विद्यार्थीलाई रु एक लाखसम्मको अध्ययन खर्च उपलब्ध गराउने योजना बजेटमा रहेको छ ।

कृषकको क्षमता अभिवृद्धि गरी उत्पादकत्व बढाउनका लागि व्यावसायिक खेतीमा संलग्नलाई प्रोत्साहित गर्न बीउबिजन, कृषियन्त्र, उपकरणमा अनुदान उपलब्ध गराउनका लागि बजेटमा व्यवस्था गरिएको नगर प्रमुख चौधरीले उल्लेख गरे । उनका अनुसार केराको थामबाट धागो, डोरी, कागज उत्पादन गर्ने, उखुबाट गुड उत्पादन गर्ने उद्योगलाई प्रोत्साहित गरिने छ ।

दोधारा चाँदनी नगरपालिकाको बजेट रु ७५ करोड ३० लाख

दोधारा चाँदनी नगरपालिकाले आव २०८२–८३ का लागि रु ७५ करोड ३० लाख ७८ हजारको बजेट नगर सभाबाट पारित गरेको छ । बजेटमा नगरपालिकाले किसानलाई आत्मनिर्भर बनाउने, शिक्षा, पूर्वाधार, स्वास्थ्य, युवालाई उद्यमका माध्यमबाट स्वरोजगार बनाउने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

पर्यापर्यटन प्रवद्र्धन गर्ने र नगर क्षेत्रमा खाद्य डिपो सञ्चालन गर्ने नगरपालिकाको आगामी योजना रहेको छ । नगरको आन्तरिक आयमा वृद्धि गर्नका लागि करको दायरालाई फराकिलो बनाइने योजना बजेटमा समावेश गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार