जुम्ला ।
जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । चन्दननाथ नगरपालिकासहित ८ वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् । सबै पालिका घोषणा भएपछि जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला बनेको छ । स्थानीय तहका स्वास्थ्य शाखाहरूका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका २०८२ वैशाख १२ गते र सिँजा गाउँपालिका वैशाख २५ गते पूर्णखोप सुनिश्चित घोषणा भएका थिए ।
यस्तै हिमा गाउँपालिका वैशाख ३१ गते, कनकासुन्दरी गाउँपालिका जेठ ८ गते, पातारासी गाउँपालिका जेठ ९ गते, तिला गाउँपालिका जेठ ११ गते र तातोपानी गाउँपालिका पनि पूर्णखोप सुनिश्चित घोषणा भएका थिए । तातोपानी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जुम्ला जिल्ला पूर्णखोपयुक्त बनेको बताए ।
गाउँपालिकामा जन्मेदेखि १५ महिनामुनिका बालबालिका तथा १६ देखि ५९ महिनामुनिका बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चित गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार १६ देखि ५९ महिनासम्मका ५८७ जना बालबालिकाले पूर्णखोप पाएका छन् । यसैगरी जन्मेदेखि १५ महिनाका २९१ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । २८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको छ । यसका साथै पूर्णखोप प्राप्त गरेका ५८७ जना बालबालिका छन् ।









प्रतिक्रिया दिनुहोस्