एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले अहिले प्रजातन्त्र र लोकतन्त्रमा विश्वास राख्ने सबैले मिलेर कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउन लाग्नु पर्ने बताएका छन् ।
वाम गठबन्धनको नाममा देशमा अधिनायकवाद लाद्ने षडयन्त्र भैरहेको भन्दै उनले सो षडयन्त्रलाई नेपाली जनताले असफल पार्ने बताए । एराप्रपा राष्ट्रवादी बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले कम्युनीष्टहरुको डीएनएमै अधिनायकवाद रहेको उल्लेख गरे ।
एमाले र माओवादीले जति लोकतन्त्र र प्रजातन्त्रको कुरा गरेपनि उनीहरु कहिल्यैपनि प्रजातन्त्रवादी हुन नसक्ने लोहनीको दावी थियो । देश र जनतालाई अधिनायकबादबाट जोगाउन एराप्रपा राष्ट्रवादीले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सरोमोनियल राजसंस्था हुनुपर्ने एजेण्डालाई अगाडि सारेको दावी गरे ।
देशका सबै भाषाभाषी, जातजाती र धर्म सम्प्रदायलाई एकतावद्ध पार्ने परम्परागत शक्ति राजसंस्थानै भएकोले सो संस्थालाई सरोमोनियल र प्रधानमन्त्रीलाई कार्यकारी बनाउनुपर्ने अभियानमा आफुहरु लागेको अध्यक्ष लोहनीले बताए । निर्वाचन प्रचार प्रसारको सिलसिलामा नेपालगन्ज आएका एराप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले शनिबारनै बाँकेको बैजापुरमा आयोजित चुनावी सभालाई समेत सम्वोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्