आधा किलो यार्सागुम्बासहित एकजना पक्राउ



शिवु खनाल । दाङ ।

प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ निवासी ४८ वर्षीय शिवचन्द्र बुढा रहेका छन् ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजे लु५४प ७८२७ नम्बरको मोटरसाइकलबाट शिवचन्द्र बुढाले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी ४५ वर्षीया आशा कुमाललाई ठक्कर दिई घाइते बनाएका थिए । उक्त सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो ।

मोटरसाइकल चालकले लुकाइराखेको झोला खानतलासी गर्दा आधा किलो यार्सागुम्बा, कस्तुरीको विना जस्तो देखिने (प्लास्टिकको डिब्बामा ९८ वटा स–साना दानाहरू अत्तरको सुगन्ध आउने) र मोटरसाइकल बरामद गरी डिभिजन वन कार्यालय दाङ देउखुरीलाई बुझाइएको छ ।

डिभिजन वन कार्यालय दाङ देउखुरीका सिनियर डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेले अनुसन्धान गरी वन ऐन २०७६ बमोजिम आवश्यक कारबाही गरिने बताए । डिभिजन वन कार्यालय दाङ देउखुरीका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालले पक्राउ परेका शिवचन्द्र बुढालाई आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार