डीप बोरिङ थप गर्दै कोहलपुर खानेपानी



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ र ११ स्थित बौद्ध विहारमा डीप बोरिङ निर्माण गरिएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को सहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशको बजेटबाट डीप बोरिङ निर्माण गरिएको हो । डीप बोरिङ योजना खानेपानी तथा सरसफाइ कार्यालय बाँकेद्वारा कार्यान्वयन गरिएको हो ।

कोहलपुर क्षेत्रको खानेपानीको पहुँच वृद्धि गर्ने उद्देश्यले कार्यालयले ठेक्का प्रक्रियामार्फत डीप बोरिङ निर्माण अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख विधान अर्यालले जानकारी दिए । उनका अनुसार ठेक्का प्रक्रियामार्फत कूल २६ लाख ३० हजार १ सय रूपैयाँमा डीप बोरिङ निर्माण भइरहेको छ । डीप बोरिङ निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

उक्त योजनाका लागि कार्यालयले २०८१ साउन ७ गते बोलपत्र आह्वान गरेको थियो । डीप बोरिङ निर्माणको राजेन्द्र निर्माण सेवासँग २०८१ भाद्र ३१ गते सम्झौता गरिएको थियो । ‘योजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । दुुई सय मिटर डीप बोरिङ बनाउने हो । निर्माण सम्पन्न गरेर उपभोक्ता संस्थालाई हस्तान्तरण गर्छौँ’, कार्यालय प्रमुख अर्यालले मिसन टुडेसँग भने ।

कार्यालयले योजना निर्माण गरेर हस्तान्तरण गरेपछि कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाले सञ्चालन गर्नेछ । कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले प्रदेशको सहयोग र खानेपानी कार्यालयद्वारा डीप बोरिङ निर्माण भइरहेको बताए । उनका अनुसार डीप बोरिङ निर्माणको काम भइरहेको छ । निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको र त्यसपछि कोहलपुरमा खानेपानीको पहुँच वृद्धि हुने अध्यक्ष भुसालले बताए । ‘हामीले कोहलपुरका केही वडामा खानेपानी वितरण गरिरहेका छौँ । अझै खानेपानीको पहुँच वृद्धि गर्ने लक्ष्य रहेको छ । सोहीअनुसार कोहलपुरमा नयाँ डीप बोरिङ निर्माण भएको हो,’ उनले भने ।

कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेका अनुसार संस्थाले कोहलपुर नगरपालिकाका सात वटा वडामा खानेपानी वितरण गरिरहेको छ । उनले संस्थामार्फत कोहलपुर नगरपालिका वडा नम्बर १, २, ५, ६, १०, ११ र १२ नम्बर वडामा खानेपानी वितरण गरिरहेको बताए । कोहलपुरमा संस्थामार्फत ६ हजार घरधुरीले खानेपानी उपभोग गरिरहेका छन् ।

अहिले संस्थाले पुरानो बोरिङबाट पानी निकालेर फिल्टर गर्दै ट्याङ्कीमा रिजर्भ गरेर वितरण गरिरहेको छ । उक्त बोरिङले प्रति सेकेण्ड ३६ लिटर पानी जमिनमुनिबाट निकाल्छ । अहिले जडान भइरहेको बोरिङले प्रतिसेकेण्ड १५ लिटर पानी निकासा गर्ने सचिव वाग्लेले जानकारी दिए । ‘नयाँ बोरिङ निर्माणपछि हामीलाई सहज हुने अपेक्षा गरेका छौँ । त्यसपछि दुई वटा बोरिङले संयुक्त रूपमा प्रतिसेकेण्ड ५० लिटरभन्दा बढी पानी निकासा गर्छन् । त्यसपछि खानेपानीको पहुँच वृद्धि हुनेछ,’ उनले भने । गर्मीयाम बढेसँग खानेपानीको आपूर्ति धेरै हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार