तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणमा तीव्रता



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर भित्रने र जिल्लामै उत्पादन हुने तरकारीमा भएको विषादी परीक्षणलाई तीव्रता दिइएको छ । कृषि थोक बजार वीरेन्द्रनगरमा व्यवसायीहरूले भित्राइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमूना परीक्षणमध्ये ९ वटा तरकारीहरूमा अत्यधिक विषादी प्रयोग भएको भन्दै नष्ट पनि गरिएको छ ।

कार्तिक २०८१ मा स्थापना भएको एकाइले हालसम्म १४१६ नमुना परीक्षण गरिसकेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीले जानकारी दिए ।
उनकाअनुसार यीमध्ये ८ वटा नमुनाहरू केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखा र एकाइले संयुक्त बजार अनुगमन गरेर तरकारीमा विषादी भए नभएको परीक्षणलाई तीव्रता दिन थालेको छ ।

पछिल्लो एक महिनामा सल्यानबाट ल्याइएको काउली, दाङको टमाटर र सुर्खेतभित्रै उत्पादन भएको काँक्रामा खानै नमिल्ने विषादी अत्यधिक देखिएको पुष्टि भएको छ । यही वैशाख ८ गते सल्यानबाट ल्याइएको ९ क्विन्टल काउली, सुर्खेतको झुप्राको झण्डै १ क्विन्टल काँक्रा र दाङबाट ल्याएको ५ क्विन्टल टमाटर नष्ट गरिएको वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले जानकारी दिए ।

उनका अनुसार काउलीमा ९९, काँक्रामा ५३ र टमाटरमा ६१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी अत्यधिक भेटिएको छ । वीरेन्द्रनगरमा भित्रिएको भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएको तरकारीहरूको नियमित रूपमा परीक्षणलाई व्यापकता दिनेगरी एकाइसँग समन्वय गरेर काम भइरहेको छ ।

विषादी सर्वाधिक भेटिएको तरकारी खान नमिल्ने एकाइका प्रमुख धामीले बताए । प्रयोगशाला रिपोर्ट अनुसार खान नमिल्ने कार्बामेट र अर्गानोफस्फेट विषादीको सुर्खेतभित्रै र बाहिरबाट सुर्खेत भित्रने तरकारीमा सर्वाधिक प्रयोग भेटिने गरेको छ । ‘कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ,’ उनले भने, ‘एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीहरूमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशतमाथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ ।’

मानव स्वास्थ्य, प्रकृति र वातावरणमा रासायनिक विषादीको हानिकारक असरका बारेमा कृषक, आमजनमानस उपभोक्ता, विषादी विक्रेता सबैमा व्यापक जनचेतना वृद्धि गर्नु आवश्यक रहेको उनले बतातए । वीन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार आमकृषक उत्पादक मात्र नभई उपभोक्ता पनि हुन् । कृषकलाई कृषक पाठशाला, कृषक दिवस, तालिम जस्ता अभियानहरू सञ्चालन गर्दा पनि विषादी प्रयोग गर्नेको संख्या बढीरहेको उनको भनाइ छ ।
‘रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएको छैन,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिका १० मा पर्ने तिनकुने चोकमा कृषकहरूले बिक्री गर्दै आएको तरकारीसमेत नमुना परीक्षण गरियो । त्यसमा पनि विषादी देखिएको छ ।

घुस्रा क्षेत्रमा उत्पादित तरकारीहरू कृषकहरूले बिहान तिनकुने चोकमा बसेर बिक्री गर्ने गरेका छन् । कृषकहरूले बिक्री गर्दै आएको तरकारीमा विषादी भए नभएको र सचेतना फैलाउने उदेश्यले तरकारीको नमुना लिएर परीक्षण गर्ने काम जारी छ । नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालसहितको अनुगमन टोलीले समेत तरकारी परीक्षणका लागि केही नमुना संकलन गरेको थियो । सो क्रममा घुस्रा क्षेत्रमा उत्पादित तरकारीहरू काँक्रा, भिण्डी, बोडी, गोलभेँडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमुना परीक्षण गर्दा सबै उपभोग गर्न मिल्ने पाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार