
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जस्थित भेरी अस्पतालमा करिब एक महिनाअघिबाट सञ्चालनमा आएको जलन वार्डको औपचारिक उद्घाटन गरिएको छ । ६ वटा शैया रहेको वार्डको नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले औपचारिक उद्घाटन गरेका हुन् । वार्डमा हाल सबै बेडहरूमा बिरामी रहेका छन् ।
मन्त्री पौडेलले १४ शैयाको नयाँ सर्जिकल वार्ड र नाक कान घाँटी तथा युरोलोजीको छुट्टै वार्डको पनि एकैसाथ उद्घाटन गरेका थिए । सोही अवसरमा सिकलसेल र थालेसिमिया रोगीहरूलाई संक्रामक रोगबाट जोगाउन निःशुल्क लगाइने खोप पनि भेरी अस्पताललाई हस्तान्तरण गरिएको थियो । जसमा इन्फ्लुएन्जा, टाइफाइड, मेनिन्जाइटिस, न्युमोनिया लगायतका संक्रमणबाट बचाउने भ्याक्सिनहरू समावेश रहेका छन् ।
जुन भ्याक्सिनहरू एक जनालाई लगाउँदा १५ देखि २० हजार मूल्य पर्नेमा अस्पतालले निःशुल्क उपलब्ध गराउने भएको छ । यसैगरी, अस्पतालमा नवजात शिशुमा सिकलसेल परीक्षणको लागि मेसिन पनि खरिद गरिएको जानकारी दिइएको छ ।
त्यस अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिएको, पोष्ट ट्रान्सप्लान्ट आइसीयू सञ्चालनमा ल्याइएको एवं सर्जिकल आइसीयू, मेडिकल आइसीयूमा बेड थप गरिएको जानकारी दिए । डा. सुवेदीले आफ्नो कार्यकालको सात महिनामा ७८ वटा नयाँ बेड थपिएको जानकारी दिएका थिए ।
थपिएका बेडसहित भेरी अस्पतालमा अहिले दुई सय ९४ वटा बेडबाट सेवा प्रवाह भइरहेको सुवेदीले बताए ।
यसैगरी भेरी अस्पतालमा स्त्री तथा प्रसुती रोग विभाग विस्तार गरिएको पनि जानकारी दिइएको छ । जसमा शल्यक्रियाका लागि थप दुई वटा बेड थपेर चारवटा बेड पु¥याइएको, पोस्ट अपरेटिभ वार्डमा बेडसङ्ख्या ६ बाट १२ पु¥याइएको, प्रसुति सम्बन्धि बिरामीका लागि १२ वटा शैया थपिएको र स्त्री रोग विशेषज्ञ डाक्टर अस्पतालमै अन ड्युटी रहने व्यवस्था मिलाइएको डा. सुवेदीले जानकारी दिए ।
कार्यक्रममा मेसु सुवेदीले मन्त्री पौडेलसामु एनआइसीयू, एसएनसीयू थप गर्नुपर्ने, सीसीयू बिस्तार गर्नुपर्ने र थप पाँचवटा डायलासिस मेसिन जडान गर्नुपर्ने आवश्यकता पेश गरेका थिए । मन्त्री पौडेलले भेरी अस्पतालले आफ्ना सेवाहरू विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गरेका थिए भने सेवा बिस्तारका लागि आवश्यक सहजीकरण गर्ने बताए ।
आगलागीबाट करिब ३४ लाखको क्षति
भेरी अस्पतालको मेडिकल स्टोरमा वैशाख १३ गते भएको आगलागीबाट करिब ३४ लाखको क्षति भएको पाइएको छ । अस्पतालले आगलागी हुँदा तीन करोड बढीको क्षति भएको अनुमान गरेको बताएपनि क्षतिको विवरण संकलनपश्चात ३३ लाख ८० हजार रूपैयाँ बराबरको औषधिहरू पूर्णरूपमा क्षति भएको पाइएको मेसु डा. निराजन सुवेदीले जानकारी दिए ।
उनका अनुसार ७४ लाख ४१ हजार बराबरको औषधि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा औषधि व्यवस्था विभागसँग समन्वय गर्नुपर्ने अवस्थाको रहेको छ । अस्पतालमा एक करोड ५५ लाख बढीको स्टक रहेकोमा ४६ लाख ८१ हजार मूल्य बराबरको औषधिहरू सुरक्षित रहेको पाइएको सुवेदीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्