अरु समयमा पनि रूपैडिहामा नेपाली उपभोक्ताहरूको घुइँचो लागिरहँदा नेपालगन्जका पसलहरू सुनसान रहन्छन् । अहिले नयाँ शैक्षिक सत्रसँगै स्कुल ड्रेसकै भएपनि कारोबार बढ्ला भन्ने आशामा बसेका नेपालगन्जका व्यापारीहरूलाई यहाँका अधिकांश निजी तथा संस्थागत विद्यालयहरूले धोका दिएका छन् । मिसन टुडेले कुरा गरेका अभिभावक, स्कुलका सञ्चालक, प्रधानाध्यापक, नेपालगन्जका कपडा व्यापारी, गार्मेन्ट उद्योगी र सिलाइकटाइ व्यवसायीहरूले निजी तथा संस्थागत विद्यालयहरूले कमिसनकै लागि रूपैडिहाका व्यापारीसँग साँठगाँठ गरी नेपाली अभिभावकलाई उतै जान्न बाध्य पारेको बताए ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जको सीमावर्ती भारतीय बजार रूपैडिहामा रहेको एक कपडा पसल हाल नेपाली ग्राहकले भरिभराउ हुन्छ । उक्त पसलमा बिहीबार पनि नेपाली ग्राहकहरूको घुइँचो थियो । ती नेपाली ग्राहकहरू उक्त पसलमा बालबच्चाका लागि स्कुल ड्रेस किन्न पुगेका अभिभावकहरू थिए ।
यता नेपालगन्जका स्कुल ड्रेस विक्रेता कपडा पसलहरू भने सुनसान जस्तै छन् । फाट्टफुट्टबाहेक स्कुल ड्रेसका लागि आउने ग्राहकहरू छैनन् । नेपालगन्जका पसलमा स्कुल ड्रेस किन्न आउने ग्राहकहरू पनि अधिकांशतः सामुदायिक विद्यालयका रहेका पसलेहरू बताउँछन् । निजी विद्यालयका अभिभावक ग्राहकहरू कत्तिको आउँछन् त ? भन्ने प्रश्न सोध्दा धेरैजसो कपडा व्यापारीहरूले नाक खुम्च्याउँदै उस्तै खाले उत्तर दिए, ‘नेपालगन्जका निजी स्कुलका अभिभावक त कत्ति पनि छैनन् । सबै रूपैडिहाको अग्रवाल ड्रेसेजमा जान्छन् ।’
अरु समयमा पनि रूपैडिहामा नेपाली उपभोक्ताहरूको घुइँचो लागिरहँदा नेपालगन्जका पसलहरू सुनसान रहन्छन् । अहिले नयाँ शैक्षिक सत्रसँगै स्कुल ड्रेसकै भएपनि कारोबार बढ्ला भन्ने आशामा बसेका नेपालगन्जका व्यापारीहरूलाई यहाँका अधिकांश निजी तथा संस्थागत विद्यालयहरूले धोका दिएका छन् । नेपालगन्जका व्यापारी तथा अभिभावकहरूको आरोप छ, ‘रूपैडिहाका व्यापारीले दिने कमिसनका लोभमा यहाँका विद्यालयहरूले अभिभावकलाई उतै जान बाध्यतापूर्ण अवस्था सृजना गरेका छन् ।’
मिसन टुडेले कुरा गरेका अभिभावक, स्कुलका सञ्चालक, प्रधानाध्यापक, नेपालगन्जका कपडा व्यापारी, गार्मेन्ट उद्योगी र सिलाइकटाइ व्यवसायीहरूले निजी तथा संस्थागत विद्यालयहरूले कमिसनकै लागि रूपैडिहाका व्यापारीसँग साँठगाँठ गरी नेपाली अभिभावकलाई उतै जान्न बाध्य पारेको बताए । रूपैडिहाको अग्रवाल ड्रेसेजबाट स्कुल ड्रेसको कपडा खरिद गरी ग्राहकहरूको एक समूह बाहिरिँदै थियो । अर्काे समूह पसलमा पस्दै थियो । पसल बाहिर रहेका सवारी साधनहरू सबै नेपाली नम्बर प्लेटका थिए । पसल सञ्चालकका अनुसार उक्त पसल स्कुल ड्रेसकै लागि भनेर नयाँ खोलिएको हो ।
स्कुल ड्रेस खरिद गरी फर्किँदै गरेका अभिभावकले पनि विद्यालयले रूपैडिहामै सोही पसलमै स्कुल ड्रेस किन्नु भनेर ‘सिफारिस’ गरेको बताए । उनीहरूले विद्यालयले नै भनेका कारण आफूहरू रूपैडिहा आएको बताए । एक अभिभावकले भनिन्, ‘नेपालगन्जभन्दा सस्तो हुन्छ भनेर यहाँ पठाएको हो । त्यति सस्तो पनि लागेन । यति त यहाँ आउँदा जाँदा लाग्ने भाडामै खर्च भइहाल्छ ।’ उनले रूपैडिहा भन्दा नेपालगन्जमै ड्रेस पाउने व्यवस्था गरेको भए राम्रो हुने बताइन् ।
नेपालगन्जस्थित रस्तोगी बस्त्रालयका सञ्चालक बालकृष्ण रस्तोगी नेपाली अभिभावकहरू रूपैडिहा जान बाध्य हुनुका पछाडि त्यहाँका व्यापारीले दिने कमिसन नै कारण भएको बताए । उनले भने, ‘उसको एकजना एजेन्ट नै नेपालगन्जमा खटाएर कमिसनको कुरो मिलाउने रहेछ । टिचरहरूलाई र सञ्चालकहरूलाई कोट, सर्ट पाइन्ट उपहार दिने रहेछ । त्यही लोभमा स्कुलहरूले अभिभावकलाई पनि दुःख दिइरहेका छन् । यहाँको व्यापारलाई पनि धोका दिइरहेका छन् । भन्सार पनि छल्न बाध्य बनाइरहेका छन् ।’ नेपालगन्जका व्यापारीहरूका अनुसार विद्यार्थी सङ्ख्याका आधारमा स्कुल सञ्चालक तथा शिक्षकहरूले कमिसन लिने गरेका छन् ।
नेपालगन्ज वडा नम्बर १० आदर्शनगरमा रहेको गौरीशंकर गार्मेन्ट उद्योगका सञ्चालक विपीन घिमिरेका अनुसार उनको गार्मेन्टमा बर्दिया र दाङका विद्यालयहरूले स्कुल ड्रेसको व्यवस्थाका लागि अर्डर दिएका छन् । तर, नेपालगन्जको कुनै विद्यालयबाट पनि आफूकहाँ अर्डर नआएको उनले बताए । उनले पनि रूपैडिहाका व्यापारीले दिने कमिसनकै लोभमा परेर नेपालगन्जका स्कुल सञ्चालकहरू यहाँको व्यापारलाई धराशायी बनाउने भूमिका खेलेको बताए ।
नेपालगन्जको कारकाँदोस्थित एक विद्यालयका प्रधानाध्यापकले रूपैडिहाको अग्रवाल ड्रेसेजले आफूसँग अघिल्लो वर्ष पटकपटक कमिसनको लागि कुरा गर्न खाजेको बताए । आफूले हप्काएपछि फोन गर्न छाडेको उक्त पसलेले यसवर्ष भने सम्पर्क नै नगरेको उनको भनाइ छ । ती प्रधानाध्यापकले भने, ‘हामीले नेपालगन्जकै एउटा गार्मेन्टलाई ड्रेसको व्यवस्था गरिदिनु भनेर जिम्मा दिएका छौँ ।’
नेपालगन्जको सदरलाइनका एक टेलर व्यवसायी विपिन वैश्यले आफूकहाँ सिलाइका लागि आउने अधिकांश कपडा रूपैडिहाबाटै खरिद गरिएको हुने गरेको बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्जस्थित ब्राइट होप एकेडेमीका सञ्चालक कुसुम रानाभाट पनि रूपैडिहाका व्यापारीको कमिसनको लोभमा नेपालगन्जका स्कुल सञ्चालकहरू परेको बताउँछन् ।
तर, उनले एनप्याब्सन मातहतका विद्यालयहरूले नेपालगन्जमै स्कुल ड्रेसको व्यवस्था मिलाउने अनौपचारिक सहमति भएको दाबी गरे । उनले भने, ‘स्थानीय व्यापार चलायमान गराउन सहयोग गर्नु हाम्रो पनि दायित्व हो । कमिसनको लोभमा सीमापारी पठाउन हुन्न भनेर हामीले अनौपचारिक सहमति गरेका हौँ । मलाई लाग्छ एन प्याब्सन अन्तर्गतका सबै विद्यालयले त्यहाँ पठाउनुभएको छैन् होला ।’ रानाभाटले आफूले स्कुल ड्रेसको लागि रूपैडिहा पठाउनुहुन्न भन्ने आवाज उठाएको दाबी गरे ।
तर, नेपालगन्जका व्यापारीहरू एकाधबाहेक सबै निजी विद्यालयहरूले अभिभावकलाई रूपैडिहा नै पठाउने गरेको बताउँछन् । व्यापारी रस्तोगीका अनुसार कतिपय विद्यालयले त हरेक वर्ष नयाँ पोशाक खरिद गर्न अभिभावकलाई बाध्य बनाउन स्कुल ड्रेस परिवर्तनसमेत गर्ने गरेका छन् ।
वर्षमा एकपटक कपडाको व्यापार बढ्ने आशामा बसेका नेपालगन्जका कपडा व्यापारी तथा गार्मेन्ट उद्योगीहरूलाई निराश बनाउनेगरी यस वर्ष पनि अभिभावकहरू सीमापारी गइरहँदा नेपालगन्ज उद्योग वाणिज्य संघ भने मूकदर्शन बनिरहेको छ । व्यापारीहरूको हकहितमा आवाज उठाउने संस्था चुप लागेर बसेकोमा कपडा व्यापारीहरू रुष्ट छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटले पनि यसवर्ष व्यापारी र विद्यालय सञ्चालकसँग छलफलको कार्यक्रम गर्ने योजना बनाएपनि सफल हुन नसकेको बताउँछन् । उनले अहिले पनि आफूहरू विद्यालय सञ्चालक तथा गार्मेन्ट उद्योगीसँग छलफल कार्यक्रम गर्ने प्रयासमा भने रहेको दाबी गरे ।
स्कुल ड्रेस खरिद गरेर आउने उपभोक्ताहरूबाट भन्सार असुलीमा पनि लापरबाही भइरहेको छ । आक्कलझुक्कल बाहेक भन्सार नतिरीकनै पोशाक भित्र्याउन दिइरहेको छ सुरक्षा निकायले । हातमा बोकेर ल्याउने सामान घरायशी प्रयोजनको हो भनेकै भरमा छुट पाइरहेका हुन्छन् । यसले एकातिर राजस्व असुलीमा घाटा भइरहेको छ भने राजस्व र कर तिरेर बसेका नेपाली व्यापारीहरू व्यापार नभएर मारमा परिरहेका छन् ।
नेपालगन्ज भन्सारका प्रमुख जनार्दन पौडेलले कपडा लिएर आउनेलाई भन्सार छुट नदिइएको दाबी गर्छन् । उनले स्कुल ड्रेसलाई लिएर थप कडाइ गर्न निर्देशन दिने पनि बताए । स्कुल ड्रेस खरिद गर्न गएका उपभोक्ताहरू रूपैडिहाबाट अन्य उपभोग्य सामान पनि खरिद गरी फर्किने गरेका छन् । यसरी स्कुल ड्रेसको लागि उपभोक्तालाई सीमापारी जान बाध्य पारेर व्यापारमा चौतर्फी असर पार्ने काममा विद्यालयहरू संलग्न भएको नेपालगन्जका व्यापारीहरूको आरोप छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष रानाभाट यस समस्याको समाधानका लागि निजी विद्यालयका संगठन र उद्योग वाणिज्य संघले मिलेर काम गर्नुपर्ने बताउँछन् । साथै भन्सारमा कडाइ गर्नु जरुरी रहेको पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्