– सागर गैरे
२०२५ अप्रिल २३, मंगलबार । गर्मीको चपेटबाट राहत लिन भारतको जम्मु–कश्मीरस्थित बैशारण उपत्यकामा करिब १५०० पर्यटकहरू प्राकृतिक सौन्दर्यमा रमाइरहेका थिए । तर मध्यान्ह २ः४५ बजे एकाएक शान्त वातावरण भयावह त्रासमा रूपान्तरित भयो,जब सैनिक बर्दीमा देखिएका तीनदेखि छ जनाको समूहले हतियारसहित उपत्यका प्रवेश ग¥यो र अन्धाधुन्ध गोलीबारी सुरु ग¥यो।
केवल २० मिनेटको आक्रमणमा २६ जना पुरुष पर्यटकको मृत्यु भयो र २० भन्दा बढी घाइते भए । आक्रमणकारीहरू घटनापछि सजिलै हराए । पर्यटकीय सिजनको सुरुवातमै भएको यो निर्मम आक्रमणले भारतलाई एकैछिनमा स्तब्ध बनायो । घटनाको तुरुन्तै प्रतिक्रिया स्वरूप भारतका गृहमन्त्री अमित शाह घटनास्थल पुगे भने साउदी भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किए ।
यो खबर केही समयमै भारतीय सञ्चारमाध्यममा डढेलोजस्तै फैलियो । घटनाले भारत–पाकिस्तान सम्बन्धमा पुनःतनावको बादल मडारियो । दुवै मुलुकका नेताहरू र सञ्चारमाध्यमबीच कडा आरोप–प्रत्यारोप सुरु भयो । जसको असर सीमामा समेत देखिन थालेको छ ।
दक्षिण एसिया ऐतिहासिक,साँस्कृतिक र जातीय विविधताले भरिएको क्षेत्र भए तापनि विश्वकै एक संवेदनशील र अनिश्चिततापूर्ण भू–राजनीतिक क्षेत्र पनि हो । यसको मूल जड भारत र पाकिस्तानबीचको सात दशक लामो द्धन्द्ध हो, जसले दुई मुलुक मात्र होइन, समग्र क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिलाई समेत बन्धक बनाइरहेको छ ।
कसैले अपेक्षा गरेको थिएन ,एउटै घटनाले भारत–पाकिस्तान सम्बन्धलाई यस्तो तहमा पु¥याउँछ भनेर । विश्वका प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक,कश्मीर अहिले स्तब्ध छ । जहाँ सधैं पर्यटकहरूको भीड लाग्ने पहलगाम जस्ता स्थानहरूमा अहिले सन्नाटा छाएको छ । पर्यटकहरूले पहिल्यै बुक गरिसकेका होटल र टुर प्याकेजहरू धमाधम रद्द गरिरहेका छन् ।
घटना भएको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भारतले पाकिस्तानमाथि सिमापार आतंकवाद लाई प्रश्रय दिएको संगिन आरोप लगाउँदै केही गम्भीर निर्णयहरू गरयो , जसको दीर्घकालीन प्रभाव भारत–पाकिस्तान सम्बन्धमा पर्ने देखिन्छ । भारत सरकारले गरेका निर्णयहरू यस्ता छन ।
१) सन् १९६० मा गरिएको सिन्धु सन्धि निलम्बन ।
२) अटारी सीमास्थल पूर्ण रूपमा बन्द गर्ने निर्णय ।
३) नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट घटाएर ३० मा सीमित गर्ने निर्देशन ।
४) भारतस्थित पाकिस्तानी सहचारीहरूलाई एक साताभित्र देश छाड्न निर्देशन ।
५)पाकिस्तानी नागरिकहरूलाई भारत प्रवेशको अनुमति खारेज गर्दै २४ घन्टाभित्र भारत छाड्न आदेश ।
भारत सरकारका यी निर्णयहरूलाई लिएर पाकिस्तानमा पनि तीव्र प्रतिक्रिया देखिएको छ । प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतको आरोपलाई गैरजिम्मेवार र कानुनी आधारविहीन भन्दै जवाफस्वरूप निम्न निर्णयहरु गरेको छ ।
१) पाकिस्तानले बाघा सिमाचौकी बन्द गर्नेछ ।
२) भारतका लागि जारी भिसा सुविधा निलम्बन गर्नेछ ।
३) इस्लामाबादमा रहेका भारतका रक्षा, नौसेना तथा हवाई सल्लाहकारहरूलाई ‘अवाञ्छित व्यक्ति’ घोषणा गर्नेछ ।
४) सबै भारतीय एअरलाइन्सहरूका लागि पाकिस्तानको हवाई क्षेत्र बन्द गर्नेछ ।
५) भारतसँग रहेका सम्पूर्ण व्यापारिक सम्बन्ध निलम्बन गर्नेछ ।
भारतले जसरी पाकिस्तानको बिरुद्धमा एकपक्षीय निर्णय गर्यो । पाकिस्तानले पनि भारतकै सिको गरेर भारतलाई प्रतिकुल हुने निर्णयहरु गर्यो । झट्ट हेर्दा जस्तालाई तस्तै जस्तो देखिन्छ । तर गहिरिएर सोच्दा यी निर्णयहरुले भारत पाकिस्तान सम्बन्धलाई दीर्घकालीन द्धन्द्धमा फसाउने निश्चित छ ।
पहलगाम घटना त एउटा बहाना थियो । भारत पाकिस्तानबीचको कटुता अहम् र तिक्तताले बाटो खोजिरहेको थियो । त्यो जुनसुकै बेला जस्तोसुकै परिस्थितिमा विस्फोट हुने सँघारमा थियो । भएको नै त्यही हो । पहलगाम घटनापछी एकाएक भारत पाकिस्तानको सम्बन्ध तनावपूर्ण बनेको छ । दुबै देशले एक अर्कामाथी हिलो छ्याप्ने कोसिस गरेका छन । दुबै देशमा मिडिया युद्व शुरु भैइसकेको छ । यहाँसम्मकी भारतले पाकिस्तानमाथी आक्रमण गर्छ सम्म भन्न थालिएको छ । यदि भारतले आक्रमण गर्छ भने आफुले हातमा दहि जमाएर नबस्ने बरु भारतको डटेर मुकाविला गर्ने पाकिस्तानले बताएको छ । भारत पाकिस्तान सम्बन्धका अनेक सकारात्मक आयाम छन । द्वन्द्व भड्किने अनेक सम्भावित कारण छन । भारत पाकिस्तान बीचमा किन सौहाद्र्वपूर्ण सम्बन्ध हुँन सक्दैन । के के कारण छन जसले भारत पाकिस्तान सधैको दुश्मन भएका छन । यो लेखमा हामी त्यतातिर जाँदैनौ । कुनै दिन अवश्य पनि म यस बिषयमा लेख्नेछु ।
यो लेखमा हामी भारत र पाकिस्तानले हालै एक अर्काको बिरुद्वमा लगाएका निलम्बन र प्रतिबन्धका केही बुँदामा ध्यान केन्द्रीत गर्दछौँ ।
सिन्धु घाँटि जल सम्झौता : संकटमा सहकार्यको ढोका
१९ सितम्बर १९६० मा भारत र पाकिस्तानबीच विश्व बैंकको मध्यस्थतामा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणाली दक्षिण एशियाको एक प्रमुख जल प्रणाली हो, जसमा मुख्य सिन्धु नदीसहित झेलम, चेनाब, रावी, व्यास र सतलज गरी जम्मा छवटा प्रमुख नदिहरू समावेश छन् । यी नदीहरूको उदगम हिमालय क्षेत्र, विशेषगरी तिब्बत र भारतको हिमाचल प्रदेश तथा जम्मु–कश्मीरबाट भएको हो ।
सिन्धु नदी आफैं तिब्बतको मानसरोवर क्षेत्रबाट उत्पत्ति भएर भारत हुँदै पाकिस्तान प्रवेश गर्छ । सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सिन्धु जल सन्धि भएको थियो, जसअनुसार भारतले पूर्वी नदीहरू (सतलज, व्यास, रावी) को प्रयोग गर्ने अधिकार पायो भने पाकिस्तानलाई पश्चिमी नदीहरू (सिन्धु, झेलम, चेनाब) को अधिकार दिइयो । यो सन्धिअनुसार पाकिस्तानले कुल पानीको करिब ८०% भाग प्रयोग गर्छ । बाँध र जलसम्बन्धी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगमा पाकिस्तानले अरबौं डलरको लगानी गरेको छ, विशेषगरी सिन्धु बेसिनमा टरबेला र मङ्गला जस्ता ठूला बाँधहरू निर्माण गरिएको हो ।
यो जलस्रोत दुबै देशको कृषि, ऊर्जा र जनजीवनका लागि अत्यन्त संवेदनशील भएकाले रणनीतिक रूपमा महत्त्वपूर्ण छ । भारतले कहिलेकाहीँ पाकिस्तानलाई आतंकवादको प्रसंग उठाउँदै पानीको बहाव रोक्ने चेतावनी दिने गर्छ, जसले गर्दा दुबै देशबीच तनाव अझ बढ्ने गर्छ ।
यो सम्झौता दुबै देशले पालन गरे पनि हाल आएर भारतले फेरि एकपटक पाकिस्तानको ‘सिमा पार आतंकवाद’लाई कारण देखाउँदै सिन्धु जल सम्झौताबाट अलग हुने चेतावनी दिएको छ । भारतको भनाइ अनुसार पहलगाम घटनापछि भारतले सिन्धु नदि सम्झौता मान्ने छैन र आफ्नो पानी पाकिस्तान जान दिने छैन ।
भारतको यो निर्णयलाई लिएर पाकिस्तानमा तिब्र आक्रोश फैलिएको छ । यो सम्झौताको ग्यारेन्टी विश्व बैक बसेको छ । भारतले चाहँदैमा यो सम्झौता रद्द नहुने पाकिस्तान पक्षधरहरुको भनाई रहेको छ ।
२) बाघा–अटारी बोर्डर बन्द : जनतालाई सास्ती
भारत र पाकिस्तान दुबै देशले भारत र पाकिस्तानका नागरिकलाई सिमा आरपारमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन । बाघा–अटारी बोर्डर भारतको पञ्जाब राज्यको अटारी र पाकिस्तानको पंजाब प्रान्तको वाघा क्षेत्रको बीचमा अवस्थित छ, जुन दुई देशबीचको प्रमुख सीमास्तम्भ हो । यो बोर्डर ऐतिहासिक, राजनीतिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ गरिने ’रिट्रिट सेरेमनी’ दुई देशबीचको प्रतिस्पर्धा र राष्ट्रवादको प्रतीक बनेको छ ।
भारत–पाकिस्तान सम्बन्धमा समय–समयमा आउने तनाव, सीमा पारको आतंकवाद, तथा व्यापारिक असमानताका कारण दुबै देशले यो बोर्डर बन्द गर्ने अभिव्यक्ति दिएका छन् । तर यो सीमा बन्द गर्दा दीर्घकालीन रुपमा सीमापार व्यापार, मानवीय सम्बन्ध र जनस्तरको संवादमा गम्भीर असर पर्न सक्छ, जसले क्षेत्रीय स्थायित्व, आपसी विश्वास र शान्तिप्रक्रियामा बाधा पुर्याउने सम्भावना रहन्छ । यस्तो बोर्डर बन्दले दुबै देशको स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्नेछ, विशेषगरी सीमावर्ती समुदायमा रोजगारी र सामाजिक सम्बन्धमा ।
३) भिसा बन्द,सिमामा तनाव
पछिल्लो पटक, जब पहलगामको पवित्र भूमिमा रगत बग्यो,भारत सरकारले त्यसको प्रतिक्रियामा पाकिस्तानी नागरिकमाथि भिसा प्रतिबन्ध लगायो, २४ घण्टाभित्र देश छोड्न आदेश दियो । प्रतिक्रिया स्वरूप पाकिस्तानले पनि भारतीय नागरिकमाथि प्रतिबन्धको घोषणा ग¥यो, राजनैतिक सल्लाहकारहरूलाई देश निकाला ग¥यो ।
सत्ता कति क्रुर हुन्छ भनेर मानिसहरु सोच्न बिवश भएका छन यो निर्णय पछि । दुई देश आफ्ना स्वार्थका लागि आफ्नो गोटीहरू चाल्छन , तर त्यसको चपेटामा पर्न बाध्य हुन्छन् सामान्य मानिसहरू , जो कुनै सन्धिमा हस्ताक्षर गर्दैनन न त कुनै युद्ध घोषणा गर्छन् । तर पीडा भने उनीहरूकै भागमा आउँछ ।
यतिबेला देश छोड्न लागेका भारतिय तथा पाकिस्तानी नागरिकको हतारो छट्पटी र बेचैनी बोर्डरमा छरपस्ट भएको छ । उनिहरु चिन्तित छन । उनिहरुले आफ्ना महत्वपूर्ण कामहरु आधा अधुरो छोडेर आ आफ्ना देश फर्किन बिवश भएका छन ।
सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने व्यापारिक गतिविधिहरू पूर्ण रुपमा अवरुद्ध छन् । भारतले अबदेखी पाकिस्तानी नागरिकलाई भिसा जारी नगरिने र भारतमा रहेका पाकिस्तानी नागरिकलाई तत्काल भारत छोड्न उर्दि जारी गरेपछि मानिसहरुमा त्रास फैलिएको छ ।
४) दूतावास का कर्मचारी कटौती,सहचरीलाई देश छोड्न निर्देशन
हिजोको घटना पछि भारत र पाकिस्तान दुवैले आफ्नो दूतावास कर्मचारीहरूलाई समेत फिर्ता बोलाउने संकेत दिएका छन् ।
यो परिस्थिति लामो समयसम्म रहन गए द्धिपक्षीय सम्बन्ध थप खराब बन्ने निश्चित छ । भारत र पाकिस्तानका दूतावास एक अर्काको देशमा क्रमशः इस्लामाबाद र नयाँ दिल्लीमा अवस्थित छन् । भारतले इस्लामाबादमा आफ्नो उच्च आयोग सन् १९५० मा स्थापना गरेको हो भने पाकिस्तानले नयाँ दिल्लीमा सन् १९४७ कै अन्त्यतिर आफ्नो उच्च आयोग स्थापना गरेको थियो । सामान्य अवस्थामा यी दूतावासहरूमा करिब १ सयजना कर्मचारी कार्यरत रहने गर्दछन्, जसमा कूटनीतिक अधिकारीदेखि प्राविधिक सहचरीहरूसम्म हुन्छन् । तर हालै दुई देशबीच तनाव पुनः चुलिएपछि दुबैले एकआपसमा कूटनीतिक कर्मचारी कटौती गर्ने निर्णय गरेका छन्, साथै गैर–आवश्यक सहचरिहरूलाई एक साताभित्र फिर्ता बोलाउने निर्देशन पनि दिएका छन् । यस्तो कदमले दुई देशबीचको सम्बन्ध थप चिसिएको संकेत दिन्छ ।
५) हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध
पाकिस्तानले भारतीय एयरलाईन्सको लागि पाकिस्तानको हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । पाकिस्तानको यो निर्णयले भारतमा खल्बली मच्चिएको छ ।
भारत र पाकिस्तानले एकअर्काको हवाई क्षेत्र प्रयोगमा रोक लगाएमा दुबै देशका एयरलाइन्सहरू प्रभावित हुन्छन्, जसले उडानको दूरी, समय, र लागत बढाउँछ, साथै यात्रु र व्यापारिक ढुवानीमा असर पर्छ । पाकिस्तानको आकाश भारतबाट युरोपतर्फ जान महत्त्वपूर्ण मार्ग भएकाले भारतलाई विशेष असर पर्छ भने भारतको पूर्वी आकाश प्रयोग नगर्दा पाकिस्तानले एसियाली गन्तव्यमा कठिनाइ भोग्छ ।
यस्ता निर्णयहरू राजनीतिक दबाब सिर्जना गर्न वा राष्ट्रवादी भावना बढाउन गरिन्छ, तर आर्थिक दृष्टिले घाटा हुने गर्छ । यसअघि पनि पुलवामा आक्रमणपछि सन् २०१९ मा पाकिस्तानले पाँच महिनासम्म भारतका लागि हवाई क्षेत्र बन्द गरेको थियो, जसले भारतका बिमान र यात्रुमा ठूलो असर पारेको थियो ।
अहिले फेरि पाकिस्तानले भारतका बिरुद्व यहि अस्त्र उठाएको छ । पाकिस्तानी निर्णले भारतिय एयरलाईन्सहरुलाई समय र खर्च दुबै बढ्ने देखिएको छ ।
यी त भए हालै गरिएका निर्णयहरु । यसबाट पर्ने प्रभावहरु त बिस्तारै देखिँदै जालान । भनिन्छ राज्यस्तरमा भारत पाकिस्तानबीच जतिसुकै तिक्त सम्बन्ध भएतापनि जनस्तरमा भने त्यो सम्बन्ध खासै खराब छैन ।
राष्ट्रिय अन्तराष्ट्रिय जगतमा भारत पाकिस्तान सम्बन्धमा धेरै विवाद छन । धेरै नै दरार छन । उनिहरुको बैमन्स्यताको मोल दक्षिण एशियाका धेरै देशले उठाउनु परेको छ ।
एउटै आमाका दुई सन्तान : भारत पाकिस्तानको अन्तहिन द्धन्द्ध
भारत र पाकिस्तानले एक–अर्कामाथि जस्तोसुकै प्रतिबन्ध लगाएपनि, वास्तविकता के हो भने, यी दुई मुलुक दाजुभाइ नै हुन् । उनीहरू एउटै भूगोलबाट छुट्टिएका, एउटै आमाका दुई सन्तानझैँ हुन् । भाषा,संस्कृति, खानपान,लवज र रहनसहनसम्ममा यति धेरै समानता छ कि कहिलेकाहीँ दुश्मनीको कारण झनै अचम्म लाग्छ ।
तर विडम्बना, यी दुई मुलुक सधैं कुनै न कुनै विवादमा अल्झिएका देखिन्छन् । सानातिना कुराबाटै द्वन्द्व सुरु हुन्छ र अवस्था गम्भीर बन्यो भने युद्धसम्म पुग्ने जोखिम रहन्छ । दुबै आणविक शक्ति भएको कारण, उनीहरूको द्वन्द्वले केवल दुई देशलाई मात्र नभई, सिंगो दक्षिण एशियालाई अस्थिर बनाइदिन्छ ।
शान्ति र स्थायित्वको चाहना जनस्तरमा देखिए पनि, राजनीतिक स्वार्थ, इतिहासको बोझ र परस्पर अविश्वासका कारण भारत–पाकिस्तान सम्बन्ध कहिल्यै सहज बन्न सकेको छैन ।
उनीहरुबीचको सम्बन्ध कहिले सरल देखिन्छ कहिले प्रतिशोधको ज्वालामा बलेको देखिन्छ । अहिले फेरि एकपटक उनिहरु क्रोधको भुँमरिमा फसेका छन ।
निष्कर्ष
निश्चित रूपमा भारत–पाकिस्तानबीचको सम्बन्ध एकदमै जटिल छ । जहाँ इतिहास, भू–राजनीति, धर्म, जलस्रोत र आतंकवाद जस्ता संवेदनशील विषयहरूले परिस्थिति अझै पेचिलो बनाएका छन् । पहलगामको घटनाले फेरि एकपटक याद गराएको छ कि सहमति कायम गर्न निकै मिहिनेत आवश्यक पर्छ, तर असहमति निम्त्याउन भने एक झिनो घटना नै काफी हुन्छ ।
तर यस्ता सानातिना घटनाले दुई मुलुकबीचको दीर्घकालीन सम्बन्धलाई निर्देशित गर्नु हुँदैन । द्वन्द्वको समाधान युद्ध वा आरोप–प्रत्यारोपबाट होइन, गहिरो संवाद र विश्वास निर्माणबाट मात्र सम्भव छ । दुवै देशले यदि परिपक्व, दूरदर्शी र जनउत्तरदायी नेतृत्व देखाए, अझै पनि संवादको ढोका खुला हुन सक्छ । स्वास्थ्य, शिक्षा, खेलकुद, नवपर्वर्तन र व्यापारजस्ता क्षेत्रहरू राजनीतिभन्दा माथि राखिनु आवश्यक छ । यी क्षेत्रहरूमा सहकार्यले दुवै देशका जनतामा आशा र सम्भावनाको नयाँ अध्याय खोल्न सक्छ ।
यसबाहेक, जनस्तरको सम्पर्क, सांस्कृतिक आदान–प्रदान र पारिवारिक सम्बन्धहरूलाई निरन्तरता दिनु शान्ति स्थापनाको आधार बन्न सक्छ ।
समग्रमा भन्नुपर्दा, भारत–पाकिस्तान सम्बन्ध सधैँ द्वन्द्व र विघटनको सिकार बन्नु हुँदैन । जस्तोसुकै जटिल परिस्थिति भए पनि संवाद कायम रहनु आवश्यक छ र शान्तिपूर्ण सह–अस्तित्वको बाटो खोज्ने प्रयास निरन्तर हुनैपर्छ । यही नै दुवै देशका जनता र भविष्यका पुस्ताको हितमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्