धनगढी :डीसीए धनगढीलाई पराजित गर्दै सिवाइसी अत्तरिया कैलालीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा धनगढीलाई अत्तरियाले ६ विकेटले पराजित गरेको हो । योसँगै अत्तरियाले उपाधिका लागि फ्रेन्ड्स क्लब डडेल्धुरासँग प्रतिस्पर्धा गर्ने छ ।
आइतबार भएको दोस्रो सेमिफाइनलमा धनगढीले दिएको १०९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । अत्तरियालाई उपाधि नजिक पुराउन शंकर रानाले ५६ रनको अविजित पारी खेले । उनी खेलको म्यान अफ द म्याच भए । यस्तै, दीपेश कँडेलले २४ र भीम सार्कीले १६ रन बनाए । धनगढीका हिक्मत महराले २ तथा ललित राजवंशी र भोजराज भट्टले १–१ विकेट लिए ।
त्यसअघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाउँदै १०८ रन बनायो । उसका लागि मिलन बोहराले २८, अविशेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५ तथा राजु भण्डारीले १३ रन बनाए । अत्तरियाका कमल गुप्ता र विवेक यादवले २–२ तथा राशिद खान, दिपेश कँडेल र सहाव आलमले १–१ विकेट लिए । फाइनल खेल सोमबार हुने छ ।
गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्