मुुगु : स्वास्थ्य सेवा व्यवस्थापनमा सुधार आएपछि जिल्ला अस्पताल मुगुबाट प्रदान गरिने सेवा थप प्रभावकारी बन्दै गएको छ ।अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको उपलब्धता, एक्स–रे र भिडियो एक्स–रे सेवा, आधुनिक स्वास्थ्य उपकरणहरूको उपलब्धता, अस्पताल परिसरमा सुलभ औषधी पसलको व्यवस्थापन लगायतका कारण यहाँका बिरामीले सहज र प्रभावकारी सेवा पाउन थालेका हुन् ।
अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक डा.निर्मल नगरकोटीका अनुसार एमडीजीपी सेवा सञ्चालनमा आएसँगै गर्भवती, सुत्केरी, एपेण्डिसाइटिस, हर्निया र हाईड्रोसिलका शल्यक्रियाहरू पनि जिल्लामै हुने गरेका छन् ।अस्पतालको सेवाबाट विशेष गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए । डा.नगरकोटीका अनुसार हाल अस्पतालमा २ जना विशेषज्ञ चिकित्सकसहित १० जना चिकित्सक कार्यरत छन् ।
स्थानीय बासिन्दाहरूले दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा विस्तार हुनु ठूलो उपलब्धि भएको बताएका छन् । अस्पतालमा आवश्यक सबै कुराको व्यवस्थापन राम्रोसँग हुँदा स्वास्थ्य सेवा दिन प्रतिदिन प्रभावकारी बन्दै गएको स्थानीयबासी बताउँछन् ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार कोरिया सरकारको सहयोगमा निर्मित नयाँ, सफा र व्यवस्थित अस्पताल भवनका कारण पनि बिरामीहरुलाई गुणस्तरीय सेवा प्रवाहमा सहजता भएको हो । अध्यक्ष मल्लले केही महिना अघि अस्पतालभित्रै औषधी पसलको पनि व्यवस्थापन गरिएको बताए ।
हालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एक जना एमडीजीपी चिकित्सक डा.अभिषेक मिश्र पनि सेवामा खटिएका छन् । यसअघि गत जेठ महिनाबाट बालरोग विशेषज्ञ डा.निर्मल नगरकोटी अस्पतालमा कार्यरत छन् ।यसअघि सामान्य प्रकारका बिरामीहरू पनि थप उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेपनि अब अन्त्य भएको अध्यक्ष मल्लले जानकारी दिए । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वयमा अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गर्न थालिएको हो । थप विशेषज्ञ सेवा उपलब्ध भएपछि अस्पतालमा गर्भवती महिलाहरू, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल लगायत जटिल रोगहरूको उपचार पनि अब जिल्लामै सम्भव हुन जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्