नेपालगन्ज (बाँके),
बाँकेसहित देशभर आजदेखि ९ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभिी खोप लगाइने भएको छ । बाँकेका आठ वटा पालिकाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका गरी ३६ हजार ९५० किशोरीहरुलाई एचपीभी खोप लगाइँदै छ ।
स्वास्थ्य कार्यालय बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको एचपीभी खोप अभियान २०८१ सम्बन्धी खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया तथा अभिमूखीकरण कार्यक्रममा जिल्लाका ३६ हजार ९५० जना किशोरीहरुलाई एचपीभी खोप लगाइने जानकारी दिइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबू श्रेष्ठले आज २२ गतेदेखि खोप अभिायन सुरु हुने बताए । उनले कक्षा ६ मा अध्ययनरत ६ हजार ६६७ जना छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका २ हजार ३८० जना किशोरी, कक्षा ७ देखि कक्षा १० सम्मका २२ हजार ६२९ जना छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका ५ हजार २७४ गरी कूल ३६ हजार ९५० जनालाई पाठेघरको मुखको क्यान्सविरुद्धको एचपीभी खोप लगाइने जानकारी दिए ।
श्रेष्ठका अनुसार राप्तीसोनारी गाउँपालिकाका ३ हजार १८३ जना, कोहलपुर नगरपालिकाका ७ हजार ४४८ जना, बैजनाथ गाउँपालिकाका ४ हजार ११४ जना, खजुरा गाउँपालिकाका ५ हजार ८७२ जना, जानकी गाउँपालिकाका १ हजार ९५० जना, नेपालगन्ज उपमहानगरपालिकाका ९ हजार ३१९ जना, डुडुवा गाउँपालिकाका २ हजार ५८४ जना र नरैनापुरका २ हजार ४८० गरी कूल ३६ हजार ९५० जना छात्रा तथा किशोरीहरुलाई उक्त खोप लगाइने लक्ष्य लिइएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले अभियान सफल पार्नका लागि जिल्लामा दुई चरण गरेर खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले पहिलो चरणमा माघ २२ गतेदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा अभियान सञ्चालन हुने जानकारी दिए ।
उनका अनुसार नेपालगन्जमा माघ २२ गतेदेखि फागुन १ गतेसम्म १० दिन, कोहलपुर, खजुरा र जानकीमा माघ २२ गतेदेखि २८ गते सात दिनसम्म खोप अभियान सञ्चालन गरिनेछ । त्यसैगरी दोस्रो चरणमा माघ ३० गतेदेखि फागुन ६ गते सात दिनसम्म राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुरमा खोप अभियान सञ्चालन हुनेछ ।
३६ हजार ९५० जना लक्षित किशोरीहरुलाई खोप लगाउनका लागि २७६ वटा विद्यालय, १२६ वटा अन्य स्थान र ८१ वटा स्वास्थ्य संस्था गरी ५२४ वटा खोप केन्द्र तोकिएको छ । त्यसैगरी ५२४ जना स्वास्थ्यकर्मी र ५२४ जना स्वयंसेवक गरी १०४८ जनाको जनशक्ति खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर रोग लाग्नुभन्दा अगाडि नै पूर्वतयारीका साथ एचपीभी खोप लगाउने अभियान सुरु हुनु अत्यन्तै सराहनीय कार्य भएको बताए ।
उनले धेरै रोगहरुको उपचार नहुने, त्यसमा पनि क्यान्सर जस्तो खतरनाक रोगको त झनै उपचार सम्भव नभइरहेको बेलामा यस रोगबाट बच्नका लागि खोप बनिसकेकाले ढुक्क भएर किशोरीहरुले रोग लाग्नु अगाडि नै एचपीभी खोप लगाउनुपर्ने बताए ।
उनले प्रायजसो शारीरिक सम्पर्कका कारण महिलामा पाठेघरको मुखको क्यान्सर रोग लाग्ने सम्भावना भएकाले किशोरी अवस्थामै यो रोगविरुद्धको खोप दिन लागिएको बताए । खोप लगाउँदा मानिसमा आफ्नो शरीरको अवस्था अनुसार कसैकसैमा केही रियाक्सन हुनसक्ने भन्दै त्यस्तो रियाक्सनबाट नडराउन तथा यदि त्यस्तो भइहालेमा स्वास्थ्यकर्मीसँग समन्वय गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्