गणेश रावत,कोहलपुर : साउण्ड सिस्टममा गुञ्जिरहेको सुमधुर बाँसुरीको धुन । सभाहलको म्याटमा लहरै लाइनमा कर्मचारी र जनप्रतिनिधि । त्यही लाइनमा रही सबै कर्मचारी र जनप्रतिनिधिहरु आ–आफ्नै तरिकाले हाँस्दै नाच्दै गरिरहेका थिए ।एकाग्रध भएर बाँसुरीको धुन सुनिरहेका थिए । एक दिन मात्रै भए पनि आनन्द महसुश लिन खोजिरहेको देखिन्थे । यो दृश्य सोमबार कोहलपुर नगरपालिका सभाहलको हो । नगरपालिकाले आयोजना गरेको एक दिने योग तथा ध्यान शिविरमा कर्मचारी र जनप्रतिनिधिहरु सहभागी थिए ।
काम गर्दागर्दा थकित भएका कर्मचारी र जनप्रतिनिधि एक दिन भएपनि योग तथा ध्यान गरेर सुख प्राप्त गर्ने प्रयास गरिहेका थिए । विश्व प्रख्यात गुरु डाक्टर योगी विकाशानन्दको सानिध्यमा कर्मचारी तथा जनप्रतिनिधिहरूले योग तथा ध्यान गरेका हुन् सधैँ काम र तनावले थाकेको शरीर योग तथा ध्यान गर्दै नाच्दै, हाँस्दै केही समय भए पनि खुसी देखिन्थे । नगरप्रमुख पूर्णप्रसाद आचार्य, उप–प्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, नगरप्रहरी प्रमुख वीरबहादुर थापा लगायत सबैले योग गर्दै समय समयमा गुरु सँगसँगै हाँसिरहेका थिए ।
त्यस पश्चात सामान्य औपचारिक कार्यक्रममा गुरु डा.विकाशानन्दलाई स्वागत गर्दै उपप्रमुख सुवेदीले समय सापेक्ष अनुसार कार्यक्रम आयोजना गरिएको बताइन् । मानिसहरु अहिले इज्जत प्रतिष्ठाले र आर्थिक रुपमा सम्पन्न भए पनि मानसिक रूपमा विक्षिप्त रहेको उनको भनाइ थियो । शारीरिक रुपमा स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको उनले बताइन् । ‘एक दिन भएपनि योग तथा शिविरले नागरिकको सेवा सहज र सरल तरिकाले गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’ उनले भनिन् । पछिल्लो समय आफूभित्र रहेको खुसी पहिचान गर्न नसकेर भौँतारिरहेका बेला योग तथा ध्यानले त्यसमा सहजता प्रदान गर्ने आशा लिएको उनको भनाइ छ ।
शिविरमा डा.विकाशानन्दले योग तथा ध्यान गराएका थिए । सुरुवाती चरणमा नै उनले गीतमार्फत नचाउँदै शिविरको सञ्चालन गरे । स्वस्थ र मस्त जीवनशैली बनाउन योग तथा ध्यान अनिवार्य रहेको उनले बताए ।जीवनशैली व्यवस्थापन, आत्मजागरण, आत्मविश्वास बढाउने, धैर्य एवम् एकाग्रतामा वृद्धि गर्ने, लक्ष्य निर्धारण गर्ने समयको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । पछिल्लो समय पैसाको पछि दौडिदा दुःख पाएको उनको भनाइ थियो ।
उनले बिहानीको समयमा योग र दिनभर प्रवचन दिएका थिए । कर्मचारी तथा जनप्रतिनिधिहरुलाई रिस उठ्दा भन्दा हाँसेरै सेवा दिनुपर्ने उनले बताए । स्वस्थ जीवन रहन खानपान र समयको व्यवस्थापन गर्न महत्वपूर्ण रहेको उनले सुनाए । सधै जसो सरकारी पोषाकमा देखिने कर्मचारी र जनप्रतिनिधिरु बाह्य पोषाकमा योग तथा ध्यानमा डुबेका थिए । सो अवसरमा अन्य इच्छुक नागरिक र शिक्षकहरुको पनि सहभागीता रहेको थियो । योग तथा ध्यानले प्रायः सबैको मुहारमा खुसी छाएको थियो ।









प्रतिक्रिया दिनुहोस्