गणेश रावत : कर्णाली प्रदेश भौैैगोेलिक हिसाबले विकट छ । झनै विकट छन् यहाँका गाउँ बस्ती । त्यही विकट बस्तीमा मेरो जन्म भयो । जहाँ बिरामी हुँदा सिटामोलको अभाव हुन्थ्यो । राम्रो शिक्षा, स्वास्थ्य, यातायतको सुविधा थिएन । त्यही सुविधाको पहँुचमा नभएको मेरो जन्मभूमि । जहाँ अहिलेसम्म पनि गाडी गुडेका छैनन् । भर्खर–भर्खर खोलासम्म ट्र्याक्टर गुड्न थालेका छन् ।
रारासेरी बजार पुग्न गाउँदेखि चार घन्टाको बाटो हिँडेर जानुपर्छ । प्रायः धेरैजसो कामहरूका लागि घन्टौँ हिँडेर बजारसम्म पुग्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ । खाद्यान्न, विकास निर्माणका काम, शिक्षा, स्वास्थय, यातयातजस्ता सामान्य सुविधा उपभोग गर्न पनि नागरिकले सास्ती खेप्नुपर्छ । सधैँ सुक्खा रोटी बोकी यात्रा गनुपर्ने बाध्यता अझै हटेको छैन ।
गाउँको पुछारसम्म सडक खनिए पनि अहिलेसम्म सडक राम्रो नहुँदा यातायात पुग्न कठिनाइ छ । मेरो बाल्यकालको सम्झना अहिले पनि मलाई झलझली आउने गर्छ । एकाबिहानै रोटी पकेटमा हाली काममा जानुपर्ने । म सबैभन्दा सानो थिएँ । तर, म जति चलाख कोही थिएन ।
भन्छन्, सानालाई माया ठूलालाई आधार । यो त एउटा किताबको पानामा मात्रै सीमित भएको छ । व्यवहारमा उतार्न एकाधबाहेक कसैले सकेका छैनन् । सानालाई हेप्ने र ठूला देखे डराउने प्रवृत्ति छ । यो सबैलाई अवगत भएको कुरा हो । गरिब, अशिक्षित र थोत्रा कपडा लगाएकालाई त झनै हेप्ने गरिन्छ । म पनि त्यस्तै निम्नवर्गीय परिवारमा जन्मिएको घरको जेठो सन्तान हुँ ।
खेतिपाती गर्ने घरपरिवारमा हुर्केको । गाउँले किसानको छोरा हँु । गाउँको सिरानीमा श्री महादेव आधारभूत विद्यालय छ । मेरो पहिलो पढ्ने विद्यालय यही हो । जहाँ प्राथमिक शिक्षा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो । महादेव आधारभूत विद्यालयमा पाँच कक्षा पढेर सकियो ।
माध्यमिक शिक्षा हासिल गर्न एक घन्टा बाटो हिँडेर छिमेकी गाउँमा जानुपथ्र्यो । म सानो थिएँ । एक घन्टा हिँडेर पढ्न जान सक्ने मेरो अवस्था थिएन । आठ ओटा किताब र कापी झोला बोकेर पढ्न जानुपर्ने बाध्यता थियो । मलाई ‘किताब बोक्न सक्दैन सानो छ’ भनेर बाआमाले प्राथमिक तह पास गर्दा पनि पुनः पाँच कक्षामा बसाल्ने निर्णय गरे । म पनि सानै भएकाले केही नबोली बसेँ ।
मेरो हाइट उमेरअनुसार बढेन । अर्को वर्ष अलि ठूलो भए । छिमेकी गाउँ सुडीमा रहेको देव लक्ष्मी निम्न आधारभूत विद्यालय पढ्न जान थालेँ । दुई घन्टाको बाटो हिँडेर विद्यालय जानुपथ्र्यो । बिहान ६ बजे उठ्ने । हातमुख धोएर नास्ता खाएर झोलामा सुक्खा रोटी बोकी स्कुल जाने गर्थें । एक बजे गाउँका सबै विद्यार्थी घरमा दाल भात खाएर आउँथे ।
मलगायत मेरा साथीहरू घरबाट बोकेर लगेको सुक्खा रोटी खाने गथ्र्यौँ । टिफिन टाइम बिताउथ्यौँ । पढ्न जान–आउन समय ठिक्क हुन्थ्यो । घन्टौँ हिँडेको थकाइले साँझ सबेरै निद्रा लाग्ने । साँझ सुत्यो । बिहान सबेरै ६ बजे उठ्नुपर्ने ।
कक्षामा सरले सोधेका प्रश्नको उत्तर म अगाडि नै भन्थेँ । सबैले मलाई हेरेर छक्क पर्थे । यति सानो छ किन हामीसँग पढ्न आउँछ ? भन्ने अरू साथीको मनमा कुरा खेल्न थालेछ । बिस्तारै कुराकानी हँुदै गयो । चिनजान भयो । मलाई तिमी त हामीसँग पढ्छौ भन्ने सोचेका थिएनौँ भन्ने गर्थे । समय बित्दै जाँदा सबैले मलाई माया गर्न थाले । कक्षाका साथीहरू, गुरुले मायाले मलाई जिस्काउने गर्थे । मलाई पुड्के भन्दै बोलाउने गर्थे । म पनि के कम जिस्किँदै ‘जिरे खुर्सानी पिरो हुन्छ’ भन्दै जबाफ दिन्थेँ ।
चञ्चले स्वभावको भएर पनि होला । ३ वर्ष देव लक्ष्मी आधारभूत विद्यालय पढेर पनि सकियो । त्यहाँ कक्षा आठसम्म मात्र पढाइ हुन्थ्यो । निमाविको पढाइ सकिएलगत्तै माविका लागि तीन घन्टाको बाटो हिँनेर जानुपर्ने थियो । गाउँमा विद्यालय नहुँदा पढ्न जान साह्रै कठिनाइ हुने । अहिले पनि गाउँमा विद्यालय नहुँदा हामी पछिका भाइबहिनीहरू मैले जसरी दुःख पाइरहेका छन् ।
सधैँ विद्यालय जाँदा अलि ढिलो हुने गथ्र्याे । बाटोमा जाँदा सधैँ म पछि पर्थें । किताबको झोला उकालीमा बोक्न हम्मेहम्मे हुन्थ्यो । ९ः४५ मा स्कुल पग्नुपर्ने नियम थियो । हतारहतार गर्दै १० बजे स्कुल पुग्थेँ । ढिलो पुगे उठबस गर्नुपथ्र्याे । पहाडमा उकाली, ओराली गर्दै एसईई जेनतेन पास गरेँ ।
एसईईपछि साथीहरू विभिन्न ठाउँमा पढ्न गए । विस्तारै साथीहरूसँगको भेटघाट हुन छाड्यो । म रेडियो नारी आवाजमा काम गर्न थालेँ । कोरोनाले त्यस समयमा झस्काइरहेको हुन्थ्यो । पछि विस्तारै सामाजिक सञ्जाल फेसबुकबाट साथीहरूसँग जोडिन पुग्यौँ । बालापन र विद्यालयको रमाइलो छुट्टै थियो । तर जब उमेर बढ्यो । जिम्मेवारी पनि बढ्दै गयो । विद्यार्थी जीवनको याद आउन थाल्यो । भाइबहिनी झोला बोकेर स्कुल जाँदा सानो छँदाको याद आउने गर्छ । पहिला जसरी पढ्न जान पाए ? भन्ने मनमा लाग्छ । तर, बालापन नै रमाइलो लाग्ने ।
हाँस्दै खेल्दै ‘तारा बाजी लै लै मामा आए घोडा’ लय हालेर पढेको र रमाइलो गर्दै बिताएका दिनको यादले अहिले मुटु भत्भती पोल्ने गर्छ । अहिले प्रायः सबै साथीहरूले विवाह गरिसके । कोही साथी सेनामा भर्ती भए । केही घरपरिवार चलाउन कालापहाड धाउँदै छन् । कहिले कसो भेट हँुदा अचम्म लाग्छ ।
विस्तारै कलेज ज्वाइन् भएपछि नयाँ साथी थपिए ।
समयअनुसार सबै बदलिँदा रहेछन् । गाउँमा हँुदा आटो खाने, फाटो (फाटेको)लगाउने साथीहरू आज भोलि नयाँ लुगा पनि च्यातेर लगाउँछन् । केटीहरूका अनेक थरिका फेसन देख्दा समयअनुसार संस्कृति बिर्सिंदै र हराउँदै गएको जस्तो लाग्ने गर्छ ।
गाउँको सुक्खा कमैका र जौका रोटीले जीवन धानेकाहरू स्वस्थ छन् ।
गाउँमा भएको भए पढ्न पाउँदैनथेँ होला । मेरो पनि विवाह सायद भइसकेको हुन्थ्यो होला । तर, म एसईईपछि रेडियोमा काम गर्न थालेँ । पढाइ जारी छ । तर अहिले पनि राम्रोसँग पढ्न पाएको छैन । पढ्ने मन नभएको होइन । आर्थिक अवस्था र पारिवारिक अवस्था कमजोर रहेकाले काम गर्दै पढ्दै गर्नु परेको छ ।
यस्तै अभावमा चलेको यो जिन्दगी । कसैलाई पैसा हुन्छ । पढ्ने मन लाग्दैन । पढ्नेलाई पैसा हुँदैन । भन्ने गर्थे ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन’ । सायद साँचो रहेछ । जीवनमा सबै चिज कसैलाई पुग्दो रहेनछ । जीवनमा सोचेका र देखेका सबै कुरा पूरा कहाँ हुँदारहेछन् र ? सायद जीवन यसैलाई भनिन्छ !









प्रतिक्रिया दिनुहोस्