एकै प्रवृत्तिका घटनामा टीकापुर प्रहरीको दोहोरो भूमिका



कैलाली, टीकापुर ८ बस्ने दीपक साउँदले इलाका प्रहरी कार्यालय टीकापुरमा सोही स्थानमा बस्ने रतन खत्रीले अभद्र व्यवहार गरेको भन्दै जाहेरी दर्ता गरे । तर प्रहरीले खत्रीलाई पक्राउ गरेन । शुक्रबार साउँदको प्रमाण नपुगेको भन्दै प्रहरीले दुबै पक्षबीच छलफल गराएको जनाएको छ ।
माघ १६ गते टीकापुरको खक्रौला नाकाबाट भन्सार छलेर तीन लाख रुपैयाँबराबरको अवैध सामान प्रहरीले बरामद गरेको थियो । से१ध २६८१ नम्बरको विद्युतीय रिक्सामा आइरहेको सामान प्रहरीले बरामद गरेको जनाइएको छ । तर सामान ल्याउने व्यक्ति र विद्युतीय रिक्सालाई छोडेको थियो ।

स्थानीय व्यापारीसमेत रहेका खत्रीले प्रहरीलाई साउँदले सूचना दिएको भन्दै गालीगलौज, डरधम्की र अभद्र व्यवहार गरेको जनाइएको छ । साउँदले बिहीबार दिएको जाहेरीअनुसार प्रहरीले खत्रीलाई पक्राउ नगरी वार्ता तथा छलफल गराएको जनाइएको छ । पीडित साउँदले भने, ‘मलाई प्रहरीले गराएको वार्ता मन परेको छैन । सार्वजनिक ठाउँमा डरधम्की दिएका खत्रीले भोलि मलाई केही गरे मेरो ज्यानको सुरक्षाको ग्यारेन्टी कसले लग्ने हो ?’ उनले आफूलाई यसअघि प्रहरीले जानकारीनै नदिई पक्राउ गरेको घटना सुनाए ।

खत्रीलाई मैले केही गरेको थिइनँ । तर दुई महिनाअघि उनको जाहेरीमा मलाई जानकारी नै नदिई प्रहरीले थुनामा राखेको थियो । पक्राउ परेको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय पु¥याएको थियो,’ उनले भने, ‘ममाथि दुव्र्यवहार हुँदा प्रहरीले मान्छेसमेत नसमात्ने । मैले केही नगरेको घटनामा जानकारी नै नदिई तीन दिन थुनामा राख्ने । यो कस्तो न्याय हो ?’

खत्रीले आफूले साउँदसँग अभद्र व्यवहार नगरेको बताउँदै भने, ‘प्रहरीलाई मेरो सामान किन पक्राउ गराएको भनेर सोधेको हुँ ।’
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले जाहेरी नलिएको भन्ने आरोप झूटो रहेको बताए । उनले भने, ‘बिहीबार जाहेरी परेपछि दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौँ । तर अर्को पक्ष नआएपछि सो दिन केही भएन । शुक्रबार दुबै पक्षबीच छलफल भएर सहमति भएको छ । खत्रीले माफी मागेका छन् ।’

०००

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार