कोहलपुर, कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले दुईदिने बृहत् योग तथा ध्यान शिविर सञ्चालन गर्ने भएको छ । सकारात्मक विचारको विकास गर्न स्कुलले माघ २२ र २३ गते दुईदिने शिविर सञ्चालन गर्ने भएको हो ।शुक्रबार पत्रकार सम्मेलन गर्दै स्कुलका सञ्चालक तथा संस्थापक केशर आलेले योग गुरु डा. योगी विकाशानन्दको सानिध्यमा दुई दिन मात्रै भए पनि शान्ति एवम् आनन्द प्राप्त गर्न योग तथा ध्यान शिविर सञ्चालन गरिने जानकारी दिए । विद्यालयको प्रचार नभई सकारात्मक सोचको विकास गर्न सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
समाजलाई सकारात्मक दिशातर्फ लैजान सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ, वडाध्यक्ष, सांसद सबैलाई योग तथा ध्यान गराई सकारात्मक सोचको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कोहलपुरमै पहिलोपल्ट विश्वप्रख्यात डा. योगी विकाशानन्दको सानिध्यता कार्यक्रम सञ्चालन हुने भएको छ ।
शिविरमा नर्सरीदेखि १२ सम्मका अभिभावकहरू र सञ्चालकहरूको पनि सहभागिता रहने भएको छ ।
पहिलो दिन शिविरमा करिव २ हजार जनाको सहभागिता रहने आकलन गरिएको उनले जानकारी दिए । पछिल्लो समय सामाजिक सञ्जाललगायतले समाजलाई नकारात्मकतातर्फ लगिरहेकाले सकारात्मक सोचको विकास गर्न विद्यालय योग तथा ध्यानको आयोजना गरिएको आलेको भनाइ छ ।
शिविर विद्यालयको खेलमैदानमा सञ्चालन हुने उनले जानकारी दिए । शिविरमा खाली पेट योग ध्यान गर्न मिल्ने कपडा लगाएर उपस्थित हुनसमेत उनले आग्रह गरे । दुईदिने शिविरमा डा. विकाशानन्दले जीवनशैली व्यवस्थापन, आत्मजागरण, आत्मविश्वास बढाउने, धैर्य एवम् एकाग्रतामा वृद्धि गर्ने, लक्ष्य निर्धारण गर्नेलगायतका विषयमा प्रवचन दिनेछन् ।
माघ २२ गते बिहान ८ बजे डा. योगी विकाशानन्दले उद्घाटन गर्ने शिविरमा सांसद, उच्च अदालतका न्यायाधीश, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुख, वडाध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीका साथै सर्वसाधारणहरूको समेत उपस्थिति रहने विद्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्