कैलारी गाउँपालिकाको न्यायिक समिति संयोजक भगवती चौधरी उनकै सहोदर बहिनी हुन् । उनै बहिनीले बुवाले अंशमा दिएको जग्गा बिक्री गरिसकेकी छिन् । टिन्नु भगवतीकी माइली दिदी हुन् । उनी भन्छन्, ‘हामीलाई भगवतीले बुवाले अंशमा दिएको जग्गा दिन नसक्ने भए त्यही अनुसारको रकम दे भनेका थियौँ । तर, भगवतीले जग्गा पनि नदिने र पैसा पनि नदिने भन्दै फिर्ता पठाउने गरेकी छिन् ।’
शेरबहादुर ऐर । कैलाली ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ‘सी’ गाउँमा बस्दै आएकी छिन् टिन्नु चौधरी । आफ्ना बुवाको पैत्रिक सम्पत्ति पाउने आशामा उनको १६ वर्ष बितिसक्यो तर, अहिलेसम्म बुवाले दिएको अंश पाउन सकिरहेकी छैनन् । बुवाले अंशमा दिएको १६ कठ्ठा जमिन पाउँ भन्दै छोराछोरीसहित कैलारी गाउँपालिकाको न्यायिक समितिमा पुग्दा उनको पिडा थप बल्झिने गरेको उनी सुनाउँछिन् । गाउँपालिकाले उनको गुनासो नै नसुनी धम्क्याएर पठाएको घटना पटक–पटक हामीसँग दोहो¥याइन् ।
कैलारी गाउँपालिकाको न्यायिक समिति संयोजक भगवती चौधरी उनकै सहोदर बहिनी हुन् । उनै बहिनीले बुवाले अंशमा दिएको जग्गा बिक्री गरिसकेकी छिन् । टिन्नु भगवतीकी माइली दिदी हुन् । उनी भन्छन्, ‘हामीलाई भगवतीले बुवाले अंशमा दिएको जग्गा दिन नसक्ने भए त्यही अनुसारको रकम दे भनेका थियौँ । तर, भगवतीले जग्गा पनि नदिने र पैसा पनि नदिने भन्दै फिर्ता पठाउने गरेकी छिन् ।’ उनले जग्गा नामसारी गर्दा आफूहरूले नै यताउताबाट ऋण लिएर नामसारी गरेको बताइन् ।
भगवतीकी जेठी दिदी गोलिया चौधरी ७२ वर्षकी भइन् । भगवतीले झुक्याएर उनलाई कागजमा हस्ताक्षर गराएपछि भेटघाट नै नभएको बताइन् । बुवाले अंशमा दिएको १६ कठ्ठा जमिन भगवतीले बिक्री गरेको कुरा जानकारी पाएपछि उनी रुष्ट देखिन्थिन् ।
२०६५ सालमा बुवाले पैत्रिक सम्पत्ति चार दिदीबहिनिका नाममा गरे । तर, सबैभन्दा बढी अध्यापन गरेकी कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीले दिदीहरूलाई झुक्याएर तीन विघा चार कठ्ठा जमिन आफ्नै नाममा गरिन् । उनले भनिन –‘हामीलाई मालपोत कार्यालय लगे । एउटा कागजमा औँठाछाप गरेँ । हामीले आनाकानी गरेपछि भगवतीले तपाईको जग्गा म खान्छु र भन्दै प्रश्न गरिन् । सबैभन्दा बढी उही पढेलेखेकी भएकोले विश्वासका साथ औँठाछाप गरेँ । तर, अहिले जग्गाको नामनिशान हाम्रोमा छैन् ।
भगवतीले जग्गा आफूखुसी बिक्री गरेपछि गोलियालाई अहिले माइती पक्षका सबैले गाली गर्ने बताउँछिन् । भगवतीकी साइली दिदी हुन बिफनी चौधरी । कैलारी गाउँपालिका वडा नम्बर ६ बेनौलीमा बस्दै आएकी उनी बुवाले दिएको अंश पाउने आशा मारिसकेकी छिन् । उनले भनिन, ‘दिदी (गोलिया) ले भगवतीले हाम्रै लागि जग्गा भागबन्डा गर्दैछे औँठाछाप लगा भनिन् । सुरुमा त मैले मानिन पछि दुबै बहिनी र दिदीले भनेपछि औँठाछाप गरेँ । तर, बहिनीले यस्तो गर्दैछ भन्ने थाहा नै भएन् । हामी दिदीहरूलाई झुक्याएर हाम्रा बुपाको अंश एकल नाममा गरेकी रहेछ । अहिले जग्गा नदिएपनि त्यो अनुसारको पैसा दे भनेर भन्दा दिँदैन भन्छे ।’
स्थानीय तहको निर्वाचनमा मत माग्न भगवतीलाई आफ्नो घरआँगनमा देखेपछि बिफनलिे भनेकी थिइन्, ‘मतदान त गर्छु तर, जग्गा दिन्नौँ । बचेको जग्गा फिर्ता गर अनि जग्गा अनुसारको पैसा पनि देऊ ।’ तर, निर्वाचित भएपछि उनै भगवतीले अहिले गाउँपालिकाभित्र जान नदिने गरेको उनको गुनासो छ ।
बुवाको अंशको जग्गा जेठीले पाउनुपर्नेमा कान्छी (भगवती)ले आफ्नो नाममा गराई जग्गा बिक्री गरेर व्यापार गर्दै आएकी छिन् । उनले गाउँपालिकामै नीजि विद्यालय सञ्चालन गरेकी छिन् । बुवाको ६४ कठ्ठा (तीन विघा चार कठ्ठा)मध्ये अहिले १३ कठ्ठा जग्गा आफैँले सदुपयोग गर्दै आएकी छिन् । हुलाकी सडकमै रहेको चार कठ्ठामा माटोको घर बनाएकी छिन् । सो घरलाई भाडामा दिएकी छिन् । भाडामा बसेर किराना पसल चलाइरहेका व्यवसायीले भने, ‘मासिक पाँच सय रुपैयाँ तिर्ने गरेको छु । भाडा बुझ्न स्वयम उपाध्यक्ष भगवतीनै आउनुहुन्छ ।’
‘दिदीहरूको जग्गा बेचेर विद्यालय चलाएकी छिन् । दिदीहरूको घरको अवस्थाप्रति कुनै दयामाया छैन्’ एक स्थानीयले भने, ‘आफ्नै दिदीहरूमाथि अन्याय गर्ने न्यायिक समितिकी संयोजकले कस्तो न्याय सम्पादन गर्लान भन्ने प्रष्ट देखिन्छ ।’
गाउँपालिकाकी उपाध्यक्ष भगवतीसँग यस विषयमा बुझ्न खोज्दा उनी गाउँपालिकामा भेटिइनन् । हामीले उनीसँग फोन सम्पर्क गर्दा आफू काठमाडौँ रहेको र जग्गाका विषयमा भेटेर कुराकानी गर्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘काठमाडौँ छु । त्यो मेरो पैत्रिक सम्पत्ति होइन् । मैले किनेको हो । यो विषयमा म धनगढी आएपछि भेटेर कुराकानी गर्छु ।’









प्रतिक्रिया दिनुहोस्