सिधनियाँघाटमा बैकुण्ठधामका लागि एक करोड ६८ लाखमा जग्गा खरिद



नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदी सिधनियाँघाटमा बैकुण्ठधाम नाम दिइएको अन्तिम संस्कार स्थल निर्माणका लागि एक बिघा ६ कठ्ठा एक धुर जग्गा खरिद गरिएको छ । नेपालगन्जमा महायज्ञ सञ्चालन गरी संकलित रकमबाट उक्त जग्गा खरिद गरिएको बैकुण्ठधाम सिधनियाँघाटका महासचिव श्रीराम सिग्देलले जानकारी दिए ।

एक करोड ६८ लाख रूपैयाँमा पाँचवटा कित्ताको उक्त जग्गा खरिद गरिएको उनले बताए । उक्त जमिन प्राप्त भइसकेपछि अब ठेक्का प्रक्रिया अघि बढाउनका लागि सहरी विकास तथा भवन कार्यालयलाई जानकारी गराइने उनले जानकारी दिए । बैकुण्ठधामको डिपिआर तयार भएर अन्तिम रूप दिन बाँकी रहेको उनले बताए । उक्त डिपीआरलाई केही दिनमै अन्तिम रूप दिएर कार्यालयलाई जानकारी गराइने उनको भनाइ छ ।

राप्ती नदीमा हिन्दु संस्कारअनुसारको अन्तिम संस्कारस्थल बनाउने उद्देश्यले सहरी विकास तथा भवन कार्यालयमा दुई करोड रूपैयाँ बैकुण्ठधाम निर्माणका लागि बजेट आएको छ । नेपालगन्जका समाजिक अगुवाहरूको पहलमा उक्त बजेट व्यवस्था भएकोमा पछि बैकुण्ठधाम योजना नाम दिएर सोही नामकै संस्था दर्ता गरी अभियान अघि बढाइएको थियो ।

जग्गाको व्यवस्था बैकुण्ठधाम सिधनियाँघाट नामक संस्थाले गर्ने र निर्माण कार्य सरकारी लगानीमा गर्ने योजनामुताविक कात्तिक २२ देखि ३० गतेसम्म श्रीमद् भागवत कथावाचन महायज्ञ आयोजना गरिएको थियो । तर, जग्गा खरिदमा भएको ढिलाइकै कारण ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

बैकुण्ठधामको योजनामा अग्निदाहस्थल, विद्युतीय शवदाह गृह, मलामीका लागि ओत लाग्ने ठाउँ, शिवालय, किरियापुत्री कक्ष, पितृको मृत्युकर्म, सोह्रश्राद्ध, पितृ मोक्ष कर्मकाण्डलगायतका कार्य गर्नका लागि संरचना परिकल्पना गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार