रिहारमा भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो लाग्छ । विशेष गरी पुस मसान्तको रातभर र माघेसंक्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्ण क्षेत्रका साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन आउँछन् ।
शिवु खनाल । दाङ ।
बगार बाबा धार्मिक पर्यटकीय क्षेत्र रिहार नामले पनि चर्चित छ । स्थानीय बुढापाकाका अनुसार आजभन्दा झन्डै ५ हजार वर्षपहिले रिहार धामको उत्पत्ति भएको हो । धार्मिक विश्वास अनुुसार द्वापर युुगमा ऋषिमुुनीहरूले बिहार गरेको हुुँदा ऋषिबिहारबाट अपभ्रंश भई रिहार रहन गएको बताइन्छ ।
बगार बाबा धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व बोकेको रिहार क्षेत्र निकै पुरानो धामको रूपमा परिचित छ । नेपाल सरकारले दाङ देउखुरीमा अवस्थित बगार बाबा धार्मिक पर्यटकीय स्थललाई एक सय नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दाङ जिल्लाको लमही नगरपालिकास्थित देउखुरीमा रहेको बगार बाबा मन्दिरमा एक वर्षमा ५, ६ हजार भेडा र कुखुरा बलि दिने गरिएको छ भने त्यत्तिकै सङ्ख्यामा परेवासमेत उडाउने गरिएको छ ।
देउखुरीको धार्मिकस्थल बगार बाबामा भक्तजनको भीड लाग्ने गरेको छ । यसलाई थारू समुदायको परम्परागत देवथानको रूपमा समेत हेरिन्छ । नजिकै खोला रहेको धार्मिक स्थल सिमसार क्षेत्रमा छ । त्यहाँको भुइँभरि नुनिलो पदार्थ सेतै भएर जमेको देखिन्छ ।
यहाँको अर्को आकर्षण हो, तप्तकुण्ड । बगार बाबाको मन्दिर अगाडि करिब ७० किलो ग्रामको शिला छ । त्यसलाई भौरी भनिन्छ । भौरी भनेको पिठोको डल्ले रोटी हो । यहाँको अर्को महत्वपूर्ण र अचम्म लाग्ने गरी बाटोको ढिस्कोमा घ्युको बास्ना आउँछ । नौ लाख गाईको घ्यु राख्ने भाँडो फुटेर पोखिएको विश्वास गर्दै मेला भर्न आउनेहरूले त्यो ढिस्कोको माटो लैजाने र खानेसमेत गरेको स्थानीयबासी बताउँछन् ।
अहिले रिहारमा बगार बाबालगायत भैने परशु, मामी सौँरी, गणेश र कालिका मन्दिरका साथै तप्तकुण्ड र झाँक्रीथान पनि छन् । भैने परशुरामको एउटा मन्दिर छ । अवधीभाषी यादव समुदायको आस्थाको केन्द्र मानिने त्यो क्षेत्रको वरपर पाइने नुनिलो पदार्थलाई ‘रेरा’ भनिन्छ । त्यही रेरा शब्दबाट रिहार रहेको मान्यता छ ।
यो क्षेत्रको पानी नै नुनिलो छ । जाडो दिनभन्दा गर्मी दिनमा धेरै नुनिलो हुने भएकाले पहिले–पहिले दाङबाट समेत गाईवस्तुलाई नुनिलो पानी खुवाउन लैजाने प्रचलन रहेको पाइन्छ । मन्दिरमा चिच्चाएर भाकल गर्ने चलन छ । यहाँ मन्दिर आउने अधिकांश सन्तान प्राप्तिको भाकल गर्छन् । रिहारमा बगरबाबा, ब्राह, शिव मन्दिर र तातो पानीको कुण्ड छ ।
रिहारमा भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो हुन्छ । विशेष गरी पुस मसान्तको रातभर र माघे संक्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्ण क्षेत्रका साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन आउँछन् ।
रिहारमा तातो पानीको कुण्ड छ । जहाँ स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने र चर्मरोग निको हुने धार्मिक विश्वास छ । पौराणिक नाम बाँगड बेलहरीबाट बगार बन्न पुगेको पनि कतिपयको मत छ । पौराणिक कथनअनुसार सत्ययुगमा भगवान् शिवले बद्रीनारायणबाट पठाएको तप्तकुण्डको पानी सधैँ तातो हुन्छ । त्यो कुण्डमा ५० वर्षअघि दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्थ्यो भन्ने विश्वास गरिन्छ ।
भगवान् कृष्णको परिवारले खाँदै गरेको एउटा रोटीमा झिँगा बसेपछि अब कलियुग सुरुवातको संकेत मानी कृष्ण मथुरा गएको र त्यो रोटी ढुंगा बनेको कथन छ । यहाँ गाई चराउने मामा–भान्जी राति सुतेकै समयमा लोप भएको विश्वास गरिन्छ । मन्दिरभित्र मामा भान्जी सुतेको मूर्ति निर्माण गरिएको छ भने त्यही मन्दिरको छेउमा मामी सौँरी अर्थात माइजूको मन्दिर बनाइएको छ ।
आन्तरिकसँगै छिमेकी देश भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन दर्शन र मनोकांक्षा पूरा गर्न रिहारमा धार्मिक तीर्थाटन गर्ने गरेका छन् भने धेरै भारतीय पर्यटकका लागि प्रमुख धार्मिक रोजाइको पीठ बनेको छ रिहार ।
रिहार धार्मिक एवम् पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिए पनि यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा धेरै काम गर्न बाँकी रहेको बगार बाबा धार्मिक पर्यटक विकास समितिका अध्यक्ष रविन्द्र क्षेत्रीले बताए । पूर्व–पश्चिम राजमार्गले छोएकाले यातायातको हिसाबले सुगम मानिए पनि रिहार क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि स्थानीय सरकारलगायतले ध्यान दिनु आवश्यक रहेको उनको भनाइ छ ।
प्राकृतिक हिसाबले निकै मनमोहक रिहार धाम २५ बिघा क्षेत्रफलमा फैलिएको छ । वरपर जंगल भएकाले पनि मनोरम हावापानी र सुन्दर दृश्यमा पर्यटकको मन सहजै लोभिन्छ । घना जंगलमा पाइने जैविक विविधता, गोही संरक्षण, सिमसार क्षेत्रका लागि तलाउ निर्माण, धार्मिक ऐतिहासिकताले रिहार देशकै महत्वपूर्ण धार्मिक गन्तव्य बन्न सक्छ ।
दक्षिणतर्फ शान्त भएर बग्ने राप्तीले रिहारलाई अझ मनमोहक बनाएको छ । डुंगामा सयर गर्न चाहनेदेखि राप्तीपारिको राजपुरका डुंगा चढ्न सक्छन् । वार्षिक २ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य रिहार धाम भए पनि पर्याप्त लगानी नहुँदा रिहारको पर्यटन विकासमा उल्लेख्य प्रगति हुन नसकेको जानकारहरू बताँउछन् । बगार बाबा धार्मिक क्षेत्र दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिममा पर्दछ ।









प्रतिक्रिया दिनुहोस्