‘राष्ट्रिय सहमतिमा संविधान संशोधन हुनुपर्छ’



नेपालगन्ज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउँदले संविधान संशोधन र पुनरावलोकनमा जानुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउँदले राष्ट्रिय सहमति कायम गरेर संविधानका कमीकमजोरी हटाउन र संविधानलाई अझ जनमुखी बनाउन आवश्यक संशोधन गर्नुपर्नेमा कांग्रेस स्पष्ट रहेको बताएका हुन् ।

पूर्वमन्त्री साउँदले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तीले आशंका उब्जाएको समेत बताए । प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रममा संविधान संशोधन २०८७ सालमा मात्रै हुनसक्ने बताएपछि कांग्रेस नेताहरूले त्यसले गठबन्धन बनाउन गरिएको सहमतिप्रति प्रधानमन्त्रीको प्रतिबद्धतामा आशंका उत्पन्न भएको बताउँदै आएका छन् ।

साउँदले नै बिहीबार कांग्रेसको जिल्ला समिति बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिले सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठेको बताएका थिए । उनले प्रधानमन्त्रीको अभिव्यक्ति संविधान र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत भएको बताए ।

पूर्वमन्त्री साउँदले सुशासन र समृद्धि हासिल गर्न दुई ठूला दल कांग्रेस र एमाले गठबन्धन सरकारमा रहेपनि मूलुकमा भ्रष्टाचार चुनौतिकै रूपमा रहेको उल्लेख गरे । उनले सरकारको ‘पर्फर्मेन्स’ उच्चस्तरको हुनुपर्नेमा जोड समेत दिएका छन् ।

केन्द्रीय सदस्य साउँदले सरकार, गठबन्धन र पार्टीका बारेमा बुझ्न आफूहरू जिल्ला भ्रमणमा रहेको जानकारी दिए । जिल्ला भ्रमणमा रहेको टोलीमा साउदसँगै केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, गोविन्दबहादुर शाह, अब्दुल सत्तार र चम्पा खड्का समेत छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २७ गते शनिबार