बुच्चापुर र महादेवामा सडक बत्ती जडान



कोहलपुर (बाँके) ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बुच्चापुर र महादेवा गाउँमा सडक बत्ती जडान गरिएको छ । दुवै गाउँ जोड्ने करिब २ किलोमिटर सडकखण्डमा सडक बत्ती जडान गरिएको हो । जिओलजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालको आर्थिक सहयोगमा सडकबत्ती जडान गरिएकोे राप्ती सोनारी वडा नम्बर ९ को कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सोहनलाल थारूले जेडएसएलले सडक बत्तीका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए । उक्त बजेटले बुच्चापुर र महादेवा गाउँमा सडक बत्ती जडान गरिएको उनले बताए । ‘दुवै गाउँ मध्यवर्ती क्षेत्रमा पर्छन् । वरिपरि जंगल भएका कारण जंगली जनावरको जोखिम थियो । अब भने सडकमा बत्ती जडान गरिएको छ । जंगली जनावरबाट हुने जोखिम कम हुने आशा छ,’ वडाध्यक्ष थारूले मिसन टुडेसँग भने ।

बुच्चापुर र महादेवा गाउँको दुई किलोमिटर दूरीको सडक खण्डमा ६२ वटा पोल जडान गरिएको छ । तीमध्ये विद्युुत प्राधिकरण कोहलपुरको समन्वयमा नयाँ आठ वटा पोल जडान गरिएको वडाध्यक्ष थारूले जानकारी दिए । बाँकी पुरानै पोलमा बत्ती जडान गरिएको छ ।

सडक बत्ती बाल्नका लागि यसअघि त्रिपक्षीय सम्झौता गरिएको छ । सम्झौता अनुसार सडक बत्तीका लागि जेडएसएलले आर्थिक सहयोग गरेको छ । यसका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ को कार्यालयको समन्वय रहेको छ । ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले सडक बत्तीको हेरचाह, मर्मत सम्हार गर्ने सहमति भएको जनाइएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रअन्तर्गत जंगल छेउका बस्तीहरू बुच्चापुर र महादेवा गाउँ जाने बाटोमा सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका छन् । गाउँमा पहिलोपटक सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।

स्थानीय सुुष्मा परियारले सडक बत्ती बलेपछि खुसी लागेको बताइन् । उनका अनुसार सडक क्षेत्र अँध्यारो हुँदा रातिको समयमा जंगली जनावरको डर हुन्थ्यो । बत्ती जडान गरेपछि आफूूहरूले सुुरक्षित महसुस गरेको उनले बताइन् ।

अर्का स्थानीय दलबहादुर खड्काले पनि गाउँका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए । ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षसमेत रहेका खड्काका अनुसार सडक बत्ती जडान गरिएपछि मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । बुच्चापुर र महादेवामा चार सय घरधुरी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार