कोहलपुर ।
स्वर्गीय वीरेन्द्र शाही स्मृति खुला क्लबस्तरीय ट्वान्टी–२० प्रतियोगिता फागुन १८ गतेबाट सञ्चालन हुने भएको छ । युनाइटेड भिजन क्रिकेट क्लबको आयोजनामा प्रतियोगिताको तेस्रो संस्करण फागुन १८ देखि २२ गतेसम्म सञ्चालन हुने भएको हो ।
प्रतियोगिता कोहलपुरमा रहेको प्रास्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष गम्भीरजंग मल्लले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पूर्व खेलाडी स्वर्गीय शाहीको सम्झनामा क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ ।
वीरेन्द्र शाही भौतिक रूपमा हामीमाझ नरहे पनि उनलाई सम्झिराख्न प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । स्वर्गीय शाही क्रिकेटप्रेमी र एक अब्बल अलराउन्डर खेलाडीसमेत रहको उनले बताए । शाहीले प्रशिक्षण दिएका केही खेलाडीहरू अहिले राष्ट्रिय टिममा समेत खेलिरहेको उनले जानकारी दिए ।
यस्तै, पूर्व राष्ट्रिय टोलीका कप्तान एलबी क्षेत्रीले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद’ मात्र नभई राष्ट्रिय जनशक्ति उत्पादनका लागि पनि खेलकुदको महत्व रहेको बताए । उनका अनुसार जनशक्ति उत्पादनसँग खेलकुदलाई जोड्नुर्छ भन्ने बुझाइमा राष्ट्रिय नीतिहरू परिवर्तन हुन आवश्यक छ ।
अहिले पनि कोहलपुर क्रिकेट मैदानमा धेरै पूर्वधार बन्न बाँकी रहेको उनले बताए । जसको स्वामित्व स्थानीय सरकार र जिल्ला क्रिकेट संघले लिनुपर्ने उनको भनाइ छ । क्रिकेटको क्रेज बढ्दो रहेकाले यसको विकास गर्न जरुरी रहेको उनले बताए ।
युनाइटेड भिजन क्रिकेट क्लबले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा विद्यालय स्तरबाटै विभिन्न प्रतियोगिता गरे अझ प्रभावकारी हुने उनको सुझाव छ । क्षेत्रीले त्यसका लागि आफूले सिकेका कुरा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
प्रतियोगितामा बिजेता क्लबलाई १ लाख ५० हजार र उत्कृष्ट खेलाडीलाई ७१ हजार पुरस्कार रहेको छ । देशभर रहेका जुनसुकै नेपाली क्लबहरूले सहभागित जनाउन पाउने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्