नेपालमा एम–पक्सको सतर्कता तथा निगरानी



मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरूमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ ।

डा. प्रकाश बुढाथोकी ।

नेपालमा पुनः १८ महिनापछि मङ्कीपक्स देखापरेको छ । तनहुँ स्थायी घर भई पुस ४ गते काठमाडौँ आएका सउदी अरेबियामा कार्यरत ३६ वर्षीय पुरुषमा पुस ५ गते सङ्क्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालमा आइसोलेसनमा राखी उपचारपश्चात् डिस्चार्ज भइसकेको छ ।

पहिलो सङ्क्रमित पुस ३ गते विमानस्थलबाट ट्याक्सी चढेर निजी अस्पताल हँुदै सरकारी सरुवा रोग अस्पताल टेकु पुगे भने अर्का ४४ वर्षीय पुरुष पुस १३ गते एक दिन स्वयम्भूमा आफन्तकहाँ बसी आइतबार टेकु अस्पताल पुगे । उनको उपचार भइरहेको छ । नेपालमा पहिलोपटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा मङ्कीपक्स देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको थियो ।

सन् २०२४ सम्मको अफ्रिकाको प्रतिवेदनमा २० देशबाट करिब ६३ हजार बढी नमुनामा १३ हजार ५ सय ७९ बढी पुष्टि, मृत्यृ १२ सय बढी छ । सङ्क्रमण तीव्ररूपमा फैलिएपछि अफ्रिकी सीडीसीले गत अगष्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगष्ट १४ मा विश्व स्वास्थ्य आपत्काल (पीएचआईसी) घोषणा गरेको थियो । एम–पक्स हाम्रा लागि नयाँ मानिए पनि विश्वमा पहिलेदेखि नै छ । अफ्रिकी महादेशमा दशकौँ अगाडिदेखि नै देखिरहेको छ । तथापि विशेष चर्चा सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो । सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले विश्वभर ७५ देशमा १६ हजार जनामा भाइरस पुष्टि भएपछि मङ्कीक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेको थियो । हाल मङ्कीपक्सलाई एम–पक्सको नामले सम्बोधन गरिन्छ ।

सन् १९५८ मा पहिलोपटक पश्चिम अफ्रिकाको डेनमार्कमा एक दुर्गम भेगमा एक बन्दी बाँदरमा फेला परेको थियो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा सङ्क्रमण पाइएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कङ्गोमा ९ महिने बालकमा पुष्टि भएको थियो । त्यतिबेला यो रोग १० अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा आयातित कुकुर हुँदै अमेरिकामा फैलिएको थियो । एसियामा सर्वप्रथम सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका व्यक्तिलाई मङ्कीपक्स देखिएको थियो । बादरबाट मानिसमा मात्र नभई मानिसबाट मानिसमा सर्न थालेको, धेरैलाई निदान गर्न कठिन भएको, खोप नभएको, सङ्क्रमण तीव्र फैलिँदै गएको तथा अहिलेसम्म सङ्क्रमण नदेखिएका देशमा समेत २१ दिनभित्र देखिनसक्ने भएकाले स्वास्थ्य आपत्काल घोषणा गरिएको सङ्गठनले बताएको छ । सन् २०२२ जुलाईमा युरोप, अमेरिकालगायत देशमा तीव्र रूपमा फैलिई ११० देशमा ८७ हजार बढी सङ्क्रमित र १४० जनाको ज्यान गएको थियो । हालसम्म भारत, नेपाललगायत ११६ देशमा यो रोग देखा परिसकेको छ ।

के कारणले हुन्छ ?

मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रूपमा घोषणा गरेको थियो ।

अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरूमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले एउटा बिरामीलाई समेत गम्भीर मानेको छ । मध्य एवम् पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा सरेकाले मङ्कीपक्स नामकरण गरिएको हो ।

लक्षण कस्तो हुन्छ ?

सामान्यतः सङ्क्रमण भएको २१ दिनपछि ज्वरो आउने, ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांशपेसी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने गर्छन् । सङ्क्रमणबाट भएको घाउ १४ देखि २१ दिनसम्म रहने र त्यसपछि सामान्यतः आफैँ हराउँछ । बिबिराको प्रकृति चिकनपक्स अर्थात् ठेउला र भिरगीसँग मिल्दोजुल्दो छ ।

सङ्क्रमण भएको १ देखि २१ दिनसम्ममा एम–पक्सको लक्षणहरू देखिने गर्छ र २ देखि ४ हप्तासम्ममा अधिकांश सङ्क्रमितले स्वास्थ्य लाभ गरिसक्छन् । ‘न्यु इङ्लैन्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अनुसन्धानमा सङ्क्रमितहरूमध्ये सबैभन्दा बढीमा शरीरको विशेषतः गुप्ताङ, मलद्वारमा घाउ, पानीका फोकाहरू देखिएको छ । लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र पछि सामान्यतः आफैँ हराउँछ ।

एक व्यक्तिबाट अर्काे व्यक्तिमा लक्षण देखिने अवधि २ देखि ३ सातासम्म रहन्छ । सङ्क्रमितमध्ये १० प्रतिशतमा स्वास्थ्य जटिलता भएर मृत्यृ हुनसक्छ । गर्भवती, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा जटिलता हुनसक्छ । सम्भावित जटिलताहरूमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यृ पर्दछन् ।

सङ्क्रमण घातक देखिने वर्गमा बच्चा, दीर्घकालीन रोगी, शरीर कमजोर भएका व्यक्ति पर्दछन् । पछिल्लो समय शारीरिक क्रियाकलापमा लागेका मानिसमा रोग देखिने गरेको छ र यौनरोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ । पछिल्लो समयमा पुरुष समलिङ्गी समूहमा एउटा मात्रै घाउ दिसा गर्ने भागमा वा लिङ्गमा बिबिरा वा पानीको फोकाजस्तो बिबिरा गुप्ताङ्मा देखिएको छ । यसले सङ्क्रमण भएको स्थानबाट आएको व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएकोमा एउटा मात्र घाउ, बिबिरा आउँदा पनि एम–पक्स हुनसक्छ ।

सर्ने माध्यम के–के हुनसक्छ ?

सम्पर्कमा आएका ५० जनामध्ये एक जनामा सर्ने यो रोग अन्य सङ्क्रामक रोग तथा बिबिरा ठेउला र भिरिङ्गीको बिबिरासँग मिल्दोजुल्दो भएकाले स्वास्थ्यकर्मी झुक्किने सम्भावना बढी छ । रोग सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरूको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र मांशपेसीबाट सर्ने गर्दछ ।

भाइरस स्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेका छालामार्फत पनि सर्नसक्छ । यस्तै बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्न र फैलिन सक्छ । सङ्क्रमितसँगको यौन सम्पर्कबाट पनि सर्नसक्छ । तथापि विर्यबाट सर्ने प्रमाणित भइसकेको छैन । गर्भवतीमा गर्भबाट बच्चामा सर्नसक्छ ।

फोका, लुगाफाटोलगायतमा सङ्क्रमण हुँदा सर्ने जोखिम बढी रहन्छ । बिफरकै समूहमा पर्ने मङ्कीपक्स सङ्क्रमित व्यक्तिको घाउ, हाच्छिउँका छिटा र थुक पनि सार्ने माध्यम भएकाले सजिलै एकबाट अर्काेमा सर्नसक्छ । तरल पदार्थ स्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्छ । पानीका फोका देखिएर अस्पताल पुग्ने चलन नभएकाले सर्ने माध्यमका बारेमा जानकारी दिई फैलन नदिने नै राम्रो हो । कोभिडजस्तो छिटै सर्ने र घातक नभएकाले आत्तिहाल्नु पर्देन ।

धेरैजसो लक्षणबाट त्योबाहेक छालाको जाँच र फोकाको पीसीआरबाट पत्ता लगाइन्छ । फोकाबाट लिइएको नमुनाको मन्किपक्स भाइरल पोलिमरेज चेन रिएक्सन—पीसीआरबाट रोगको निदान गरिन्छ । नमुना छाला, तरल पदार्थ क्रस्ट वा बायोप्सीबाट निकालिन्छ । एन्टिजेन र एन्टिबडी परीक्षणले अर्थाेपक्स भाइरसबीचको फरक पत्ता लगाउन नसक्ने भएकाले उपयोगी हुँदैन ।

उपचार तथा रोकथाम के हो त ?

धेरैजसो मानिसमा यसले कुनै जटिलता नल्याउने र २ देखि ४ हप्तामा आफैँ निको हुन्छ । तथापि, बच्चा, बृद्धबृद्धा र दीर्घरोगीलाई भने च्याप्ने र छाला, आँखा तथा अङ्गको सङ्क्रमण, निमोनिया, इन्सेफलाइटिस जस्ता जटिलता ल्याउने गर्छ । रोगको मृत्यृदर शून्यदेखि ११ प्रतिशत छ । सिकिस्त बिरामीका लागि एन्टिभाइरल औषधि टेकोभिरिम्याट पनि उपलब्ध छ ।

कोरोना सङ्क्रमणमा अपनाइएका मास्कको प्रयोग, हावा ओहोरदोहोर गर्ने स्थान, साबुनपानीले हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिनुपर्छ । सङ्क्रमितले प्रयोग गरेका लुगाफाटा, बिछ्यौनालाई निसङ्क्रमित गरेर मात्र अन्यले प्रयोग गर्नपर्छ । सन् १९८० मा उन्मूलन भएको बिफरका लागि प्रयोग हुने खोप मङ्कीपक्समा ८५ प्रतिशत प्रभावकारी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्क्रमण भएको ४ दिनभित्र खोप लिन सकिन्छ र ४ देखि १४ दिनभित्रमा खोप दिनसके सङ्क्रमणको जटिलतालाई धेरै हदसम्म कम गर्न सकिन्छ । बिफरको एन्टिभाइरल औषधि प्रयोग गर्न सकिने भए पनि सजिलै उपलब्ध छैन र खोप नै सफल मानिन्छ ।

बिफर उन्मूलन भइसकेकाले त्यसको खोप विश्वमा पाउन गाह्रो छ । बजारमा पर्याप्त मात्रामा नभए पनि अन्कारा नामक खोपको दुई मात्रा लगाउन सकिन्छ । यो खोप सन् २०१९ देखि अमेरिका, क्यानाडा युरोपमा मान्यता प्राप्त छ । उच्च जोखिममा भएका स्वास्थ्यकर्मी, ल्याबमा काम गर्नेले खोप लगाउँदा हुन्छ । विगतदेखि नै समलिङ्गी बढी सङ्क्रमित छन् । बिफरको खोपले मुटुको मांशपेसी सुजन, रोग प्रतिरोधात्मक क्षमता दबाउने, एचआईभीजस्ता रोग लागेकालाई पनि जोखिम छ भने एक्जेमाका बिरामीलाई प्राणघातक छ ।

नयाँ पुस्ताका खोप जिन्नेइओसजस्ता खोप ठूला समूहलाई दिन सुरक्षित छन । तथापि, अहिलेका लागि सङ्क्रमण रोक्न रिङ्ग भ्याक्सिनेसन नै पर्याप्त छ । हाल प्रयोगमा आइरहेको एम–पक्स भाइरसको सक्रिय भाइरस प्रयोग भएकाले एसीएएम २००० नामक खोपले इम्युनोकम्प्रोमाइज्ड व्यक्तिमा प्रयोगमा नल्याउन सीडीसीले अनुरोध गरेको थियो । निस्क्रिय भाइरस प्रयोग गरिएको कम असर हुने जेन्नोइज नामक खोप पनि उपलब्ध छ ।

रोकथामका लागि स्मलपक्स सङ्क्रमणविरुद्ध प्रयोगमा ल्याइएको एसीएम २०० र जेनिओज नामक खोप हाल प्रयोगमा ल्याइएको छ । सामान्यतया बिफर उन्मूलन भइसकेपछि उपचारका लागि तयार पारिएका खोप र औषधिलाई जैविक हतियारको रूपमा प्रयोग गर्न सुरक्षित राखिएको थियो । सीडीसीले बिफरको उपचारमा प्रयोग गरिने दुई एन्टिभाइरल औषधि टीपीओएक्स र सिडोफोभिर मङ्कीपक्सविरुद्ध प्रयोग गर्न अनुमति समेत दिएको छ । कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

असुरक्षित यौन सम्पर्कबाट पनि सरेकाले कण्डम प्रयोग गर्न र यौन साथीहरू परिवर्तन गरेकामा लक्षणहरूमा ध्यान दिनुपर्छ । भाइरस बोक्नसक्ने जनावरहरू, बिरामी वा मरेका जनावर, बाँदर, मुसाजस्ता सङ्क्रमणको इतिहास भएकाहरूको सम्पर्कमा आउनु हुँदैन । संदिग्ध जनावर वा मानिससँग सम्पर्कमा आएपछि स्यानिटाइजर वा साबुनपानीले हात धुने गर्नुपर्छ । सङ्क्रमित वा संदिग्धको हेरचाह गर्दा पीपीई लगाउने, राम्रोसँग पकाएको मासु मात्र खाने र मङ्कीपक्स सतह र सामग्रीमार्फत पनि सर्नसक्ने भएकाले बिरामी व्यक्ति वा जनावरको सम्पर्कमा रहेका सामग्रीहरू छुनु हुँदैन ।

विश्वभर मानव आवतजावत कायम रहेकाले रोकथाम सजिलै होला जस्तो पनि देखिँदैन । त्यसैमा नेपाल ट्रान्जिट प्वाइन्ट र आवतजावतले निरन्तरता पाइरहेकाले उच्च जोखिममा रहेको हो । सङ्क्रमणङ फैलिएका देशबाट आउने तथा पर्यटकको आगमनमा पनि बढोत्तरी नै छ । विदेशबाट आएकालाई कम्तिमा २ देखि ३ हप्ता क्वारेन्टाइनमा बस्ने भने पनि कार्यान्वयनमा छैन । सम्भावित जोखिम भएका देशबाट आउनेमाथि निगरानी राख्ने र क्वारेन्टिनमा राख्नुपर्छ । सङ्क्रमितलाई तीन हप्ता आइसोलेसनमा राखी कन्ट्याक्ट ट्रेसिङ अनिवार्य गर्नपर्छ । सङ्क्रमितलाई २१ दिन आइसोलेसनमा राख्नुपर्छ ।

मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएकाले परीक्षण गर्ने, सम्पर्कमा आएको सतह, स्थान वा कोठा निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने तथा फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।

अन्त्यमा, सरकारले निगरानी, फोकल अस्पताल र व्यक्ति, परीक्षण, परामर्श र उपचारको व्यवस्था गरेको छ । तथापि, आमनागरिक जिम्मेवार नहुँदा सरकारको तयारी मात्र पर्याप्त हुँदैन । तसर्थ, ज्वरो आएको तीन दिनभित्र अनुहार, हत्केला र पैतालामा डाबर देखिए स्वास्थ्य मन्त्रालयको हटलाइन १११५ मा जानकारी गराउनुपर्छ ।

एम–पक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुनसक्ने जोखिममा पञ्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, सङ्क्रमितका लुगा, तौलिया, ओछयान, भाँडाहरू तातोपानी, साबुन, डिटरजेन्टले धुने गर्नपर्छ ।

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ)

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार