सडक निर्माणमा ढिलाइ हुँदा लामो समयदेखि आवतजावतमा कष्टदेखि स्वास्थ्य समस्यासमेत भोगिरहेका खजुरा र बर्दियाका नागरिक काम अघि बढेपछि खुसी भएका छन् । सडक निर्माणमा ढिलाइ हुँदा पटक–पटक आन्दोलनमा उत्रिएका नागरिकले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्नुका साथै सडक निर्माण कार्य अघि बढाउन स्थानीय जनप्रतिनिधिहरूले प्रभावकारी भूमिका खेलेको भन्दै प्रशंसा पनि गरेका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
निर्माण कम्पनीको लापरवाहीले निर्माण कार्यमा ढिलाइ भई नागरिकहरूले सास्ती खेपिरहेको बाँकेको परसपुर–गौघाट १० किलोमिटर सडक निर्माण कार्य अघि बढेको छ । निर्माण कम्पनी गणपति कन्काई जेभीले खड्का कन्स्ट्रक्सनसँग निर्माण कार्यमा सहकार्य गरेपछि सडकको काम अघि बढेको हो ।
सडक निर्माणमा ढिलाइ हुँदा लामो समयदेखि आवतजावतमा कष्टदेखि स्वास्थ्य समस्यासमेत भोगिरहेका खजुरा र बर्दियाका नागरिकहरू काम अघि बढेपछि खुसी भएका छन् । सडक निर्माणमा ढिलाइ हुँदा पटक–पटक आन्दोलनमा उत्रिएका नागरिकले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । उनीहरूले सडक निर्माण कार्य अघि बढाउन स्थानीय जनप्रतिनिधिहरूले प्रभावकारी भूमिका खेलेको भन्दै प्रशंसा पनि गरेका छन् । खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्री सडक निर्माणको काम सुरु भएपछि नागरिकहरू खुसी भएको बताउँछन् ।
करिब एक दशक अघिसम्म कालोपत्रे रहेको परसपुर–गौघाट सडकको कात्रोपत्रे उप्किएर आवतजावतमा समस्या भएपछि २०७४ सालमा सडकको कालोपत्रे सबै भत्काइएको थियो । तर, उक्त सडक बनाउनेतिर सरकारले ध्यान दिएन । यसरी करिब एक दशकदेखि उक्त सडक हुँदै यात्रा गर्ने बाँकेको खजुरा गाउँपालिका र बर्दियाका नागरिकहरूले भोग्नुसम्म सास्ती भोगिरहेका छन् ।
कालोपत्रे भत्काइएको करिब पाँच वर्षपछि उक्त सडकलाई निर्वाचन क्षेत्र पूर्वाधार योजनाअन्तर्गत राखेर २०७९ साल वैशाखबाट काम सुरु गर्ने सम्झौता भएकोमा फेरि ठेकेदारले चरम लापरवाही गर्दा नागरिकहरूमा चरम आक्रोश उत्पन्न ग¥यो ।
ठेकेदार कम्पनी गणपति कन्काई जेभीले सम्झौताअनुसार काम गरेको भए २०८१ भदौ २५ सम्म निर्माण पूरा भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनीले उक्त अवधिमा करिब १२ प्रतिशत मात्रै काम ग¥यो । सडकमा यात्रा गर्दाको सास्तीदेखि धुलो हिलोका कारण उक्त सडक आसपासका नागरिकहरू पटक–पटक आन्दोलनमा उत्रिन बाध्य भए । सडकमा बिछ्याइएका ढुंगाहरू उछिट्टएर बजारिँदा सडकछेउ घर भएका बालकदेखि वृद्धसम्म घाइते भए । धुलोले गर्दा नागरिकको स्वास्थ्यमा गरेको असरको त लेखाजोखा नै छैन ।
समयमा काम सम्पन्न नगरेपछि खजुराका नागरिकहरूले ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर नयाँ कम्पनीसँग सम्झौता गर्न माग गरेका थिए । तर सडक डिभिजन कार्यालय नेपालगन्जले कम्पनीलाई कालोसूचीमा राखेन ।
बरु २०८२ जेठ मसान्तसम्मका लागि म्याद थप गरेको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर टोपेन्द्र खड्का ठेक्का सम्झौता रद्द गरेमा पुनः ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने हुँदा योजना झनै लम्बिने अवस्थालाई ध्यानमा राख्दै कम्पनीलाई अन्तिम पटक मौका दिइएको छ । कम्पनीले पनि अब निर्माण कार्य सम्पन्न गर्ने वाचा गरेको उनले बताए । कम्पनीले अरू योजनाको ठेक्कामा घाटा व्यहोर्नुपर्दा धान्न नसकेर, आर्थिक तथा प्राविधिक व्यवस्थापन गर्न नसकेर काम गर्न नसकेको पाइएको खड्काको भनाइ छ ।
अहिले ठेकेदार कम्पनीले एउटा अर्काे निर्माण कम्पनीसँग साधन स्रोतलगायत प्राविधिक सहयोग लिएर काम अघि बढाइहेको खड्काले जानकारी दिए । तर थपिएको अवधिभित्रै सडकको काम पूरा हुने सम्भावना कम देखिन्छ ।
किनकि कुल १३ करोड ४३ लाख २४ हजार रूपैयाँमा सम्झौता भएको सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २ करोड ६० लाख मात्रै बजेट आएको छ । यसअघिको काम गरेबापत साढे १ करोड रूपैयाँ कम्पनीले भुक्तानी लगिसकेको छ । इन्जिनियर खड्का बजेट भुक्तानीमा समस्या नआए हाललाई काममा कुनै बाधा नदेखिएको बताउँछन्् । तर, प्राप्त भएको बजेटको आकार हेर्दा भुक्तानीमा समस्या आउने सम्भावना देखिन्छ ।
कम्पनीले सम्झौतापछिको १६ महिना काम नगरेरै बिताएको थियो । यसको अर्थ निर्माणको काममा लाग्ने अनुमान गरिएको करिब साढे दुई वर्षमध्ये हालसम्म करिब आठ महिनाजति मात्रै काम भएको छ । त्यो पनि सुस्त गतिमा । अब काम सम्पन्न गर्नुपर्ने अवधि ६ महिना मात्रै बाँकी छ । यस अवधिमा सबै सडक निर्माण सम्पन्न भइसक्ने सम्भावना कम छ ।
तर, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष ओली अहिलेसम्मको कामको गति हेर्दा मौसमले साथ दिएमा चैतभित्रै काम सम्पन्न हुने आशा व्यक्त गर्छन् । उनले आफूहरूको निरन्तरको दबाबपछि ठेकेदार कम्पनीले निर्माणको काम खड्का कन्स्ट्रक्सनलाई जिम्मा दिएको र उक्त कम्पनीले यसअघिका योजनामा समयभन्दा अघि नै काम सम्पन्न गरेको रेकर्ड रहेकाले बाँकी अवधिभित्रै काम सम्पन्न हुने ओलीले आशा व्यक्त गरे ।
इन्जिनियर खड्का यसवर्ष कम्तिमा दुई किलोमिटर पिच र बाँकी खण्डको बेस निर्माण गरिसक्ने बताउँछन् । उनले अहिले कामको गति राम्रो रहेको र गुणस्तरका विषयमा आफूहरूले अनुगमन गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्