नेपालगन्जस्थित सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिमल डाँगी
बाँके ।
नेपालगन्जस्थित सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिमल डाँगीलाई सशस्त्र प्रहरीको हेडक्वार्टर तानिएको छ । तस्करी नियन्त्रण गर्न नसकेको र सर्वसाधारणमाथि कुटपिट गर्दै जिम्मेवारी बहन गर्न असमर्थ देखिएको भन्दै एसपी डाँगीलाई सशस्त्रको हेडक्वार्टर तानिएको हो ।
उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मंगलबार प्रधान कार्यालयमा हाजिर हुने गरी सरुवा गरेको थियो । सोही अनुसार एसपी डाँगी बाँकेबाट काठमाडौँ पुगेर प्रधान कार्यालयमा हाजिर भइसकेका छन् ।
गत मंसिर ३० गते आइतबार चौलिका चोकमा एक जना नागरिकलाई सशस्त्र प्रहरीले संवेदनशील अंगमा हानेर घाइते बनाएको थियो । सोही घटनालाई लिएर भारतीय बजारबाट सामान ल्याइरहेका सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै सशस्त्र प्रहरीको आलोचना भइरहेको छ ।
भारतबाट घुम्ती पसलका लागि भारतीय बजार रूपैडिहाबाट किनेर ल्याएको १ हजार ६ सय ९० रूपैयाँका विभिन्न वस्तुहरू सशस्त्र प्रहरीको ३० नम्बर गणबाट खटिएका प्रहरीले बरामद गरेपछि नेपालगन्ज–१७ का नन्कु साहुले सामान फिर्ता माग्दा सशस्त्र प्रहरीसँग लुछाचुँडी भएको थियो ।
लुछाचुँडीका क्रममा साहुको संवेदनशील अंगमा सशस्त्र प्रहरीले प्रहार गर्दा उनी सडकमै ढलेका थिए । त्यसपछि उनलाई सशस्त्र प्रहरीले भेरी अस्पतालको इमरजेन्सी कक्षमा उपचार गरेको थियो । यस विषयमा मिसन टुडे दैनिकले विस्तृत समाचार प्रकाशित गरेको थियो ।
घटनाको अनुसन्धानका लागि यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले नौबस्ता तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गंगाराम श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययनमा खटाएको थियो । समितिले अनुसन्धान सकेलगत्तै एसपी डाँगीलाई हेडक्वार्टर तानिएको हो ।









प्रतिक्रिया दिनुहोस्