श्यामलाल पोखरेल । बुटवल ।
रूपन्देहीको बुटवलमा प्रथम मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रूपन्देहीको आयोजनामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको हो । बुटवलको जीतगढी किल्लामा आयोजित महोत्सवको शुक्रबार उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी थिइन् ।
महोत्सवको उद्घाटनमा बोल्दै उपसभामुख रानाले मातृ भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । मुलुकमा परिवर्तन भएकाले सबैले आ–आफ्नो पहिचान खोज्नुपर्ने उनको भनाइ थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबै जातजातीको मातृ भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्पराको संरक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफैँ लेखौँ’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रूपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।
मगर साहित्य महोत्सव पहिलो र नयाँ भएकाले महोत्सवप्रति लेखक तथा साहित्यकारहरूले बढी रूची देखाएका छन् । पहिलो दिन शुक्रबार पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता वाचन प्रतियोगिता, पुस्तक विमोचन लगायतका कार्यक्रम गरिएको थियो ।
‘एक पत्रकारको वकपत्र’ पुस्तकबारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए । यसैगरी कविता प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो भने ३ वटा पुस्तक विमोचन गरिएको थियो ।
महोत्सवमा मानवशास्त्री डा. सुरेश ढकालले ‘भेजा प्रथा ः मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिएको महोत्सव मूल समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।
उनका अनुसार मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा. विष्णु सिंजाली, भाषविद् कर्णबहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार श्याम रानाले प्यानलमा छलफल चलाएका थिए ।
मगर जातिमा झाँक्रि प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै यस विषयमा छलफल गरिएको पत्रकार तथा महोत्सव प्रचार समितिका संयोजक यम रानाले बताए । आजसम्म चल्ने महोत्सवको पूर्व सभामुख ओनसरी घर्तीमगरले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्