स्थानीय तह उपनिर्वाचन : ठाकुरबाबा–४ मा विरासत जोगाउने दबाबमा कांग्रेस



नेपाली कांग्रेसले हाल कार्यबाहक वडाध्यक्ष भएर काम गरिरहेका अमिन थारूलाई उम्मेदवारका रूपमा अगाडि सारेको छ । वडामा कांग्रेसलाई २०७९ सालको विरासत जोगाउने दबाब छ । कांग्रेसलाई नेकपा एमाले, माओवादीबाहेक नयाँ उदाएका नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिइरहेका छन् ।कोहलपुर ।

देशभरिका विभिन्न कारणले रिक्त रहेका स्थानीय तहहरूमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले रिक्त रहेका स्थानीय तहमा पदपूर्ति गर्ने उद्देश्यले सो उपनिर्वाचन हुन लागेको हो । त्यसअन्तर्गत लुब्निी प्रदेशअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ ।

निर्वाचनको अन्तिम तयारी भइरहेको बर्दियाका निर्वाचन अधिकारी मनोज श्रेष्ठले जानकारी दिए । निर्वाचनका लागि दलहरूले शान्तिपूर्ण तरिकाले प्रचार–प्रसारको काम गरिरहेको निर्वाचन अधिकारी श्रेष्ठले बताए । ‘हामीले मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरिसकेका छौँ,’ उनले भने, ‘निर्वाचनका सन्दर्भमा उनीहरूलाई आवश्यक तालिम पनि दिइसकिएको छ ।’

ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित सूर्यबहादुर विष्ट २०७९ सालमा जिल्ला समन्वय समिति बर्दियाको प्रमुख नियुक्त भएपछि सो पद खाली थियो । विष्ट समन्वय समितिमा निर्वाचित भएपछि कांग्रेसकै तर्फबाट वडा सदस्य निर्वाचित अमिन थारूले कार्यबाहक वडाध्यक्ष भएर काम गरिरहेका थिए । अहिले हुन लागेको निर्वाचनमा कांग्रेसका तर्फबाट उनै कार्यबाहक वडा सदस्य अमिन थारूको उम्मेदवारी परेको छ ।

६ वटा दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका तर्फबाट अमिन थारू, नेकपा एमालेका तर्फबाट विष्णु देवकोटा, नेकपा (माओवादी केन्द्र)का तर्फबाट शेरबहादुर थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वासुदेव शर्मा, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रितीलाल थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रत्न शाहीले उम्मेदवारी दिएका छन् ।

ठाकुरबाबामा यतिबेला दलहरू शान्तिपूर्ण रूपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । यसअघि कांग्रेसकै उम्मेदवारले अत्यधिक मतसहित जितेको र कार्यबाहक चलाइरहेका वडा सदस्यले नै पुनः कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकाले पनि यहाँ कांग्रेसका उम्मेदवार बलियो रहेको विश्लेषण गर्न थालिएको छ । ‘चुनाव हो, चुनावमा जे पनि हुन सक्छ,’ नेपाली कांग्रेसका बर्दिया जिल्ला सभापति अरुणप्रकाशसिंह राठौर भन्छन्, ‘अहिले पनि हाम्रो राम्रो छ, कतै बिग्रिएको छैन । त्यसैले हाम्रै साथीले फेरि चुनाव जित्ने कुरामा हामी ढुक्क छौँ ।’

तर नेकपा एमाले बर्दिया जिल्ला कमिटी अध्यक्ष शालिकराम अधिकारी यसपटक यहाँ तीव्र प्रतिस्पर्धा हुने बताउँछन् । यसपटक नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ छ । ‘चुनाव हो, हारजित कस्को हुन्छ भन्न सकिन्न,’ अधिकारी पनि भन्छन्, ‘तर कांग्रेसभित्रको आन्तरिक कलहका कारण हाम्रा उम्मेदवारले जित्ने सम्भावना बढेर गएको छ ।’ यसअघि यहाँ एमाले उम्मेदवारले दोस्रो स्थान हासिल गरेका थिए ।

समुदायका मत क्रस हुने सम्भावना रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि चुनाव जित्न सक्ने सम्भावना रहेको रास्वपा बर्दियाका सभापति विपिन पौडेलेको आशा छ । कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीले थारू उम्मेदवार उठाएकाले मत क्रस हुने सभापति पौडेलको भनाइ छ । केही समयअघि रास्वपाकी चर्चित नेतृ डा. तोसिमा कार्कीले चुनाव क्षेत्रको भ्रमण गरेकाले त्यसपछि चुनावी माहोल राम्रो बन्दै आएको पौडेलले बताए ।

३ हजार ६ सय मतदाता रहेको ठाकुरबाबा–४ मा गत चुनावमा कांग्रेसले १ हजार २ सय ९, एमालेले ५ सय ८०, माओवादीले ४ सय २१ मत प्राप्त गरेका थिए । यसपटक पनि यिनै तीन दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार