कोहलपुरमा सुदूरपश्चिम सेवा समाजको रक्तदान र दन्त शिविर



कोहलपुर ।

सुदूरपश्चिम सेवा समाज कोहलपुर, बाँकेद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । सोमबार समाजले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोहलपुरमा पहिलोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका हुन् ।

कोहलपुर रक्त सञ्चार केन्द्रका प्रमुख राजेन्द्रकुमार महतराका अनुसार ५३ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका छन् । समाजका संयोजक गजेन्द्र शाहीका अनुसार सामाजिक कार्य गर्ने उद्देश्यले बृहत रक्तदान एवम् निःशुल्क विशेषज्ञ सेवा दन्त शिविर आयोजना गरिएको थियो ।

‘रक्तदान जीवन र स्वास्थ मुस्कान, स्वस्थ शरीरका लागि स्वस्थ दाँत’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा ५७ जनाले रक्तदान गरेका छन् भने निःशुल्क विशेषज्ञ सेवा दन्त शिविरमा १३५ जनाले सेवा लिएका छन् । शिविरमा ५० जना महिला र ८५ जना पुरुषले दन्त सेवा लिएको संयोजक शाहीले बताए ।

रक्तदानका साथै निःशुल्क दन्त शिविर जस्तो मानवीय कार्य सुरु गरिएको उनको भनाइ छ । ‘समाजले पहिलोपटक कार्यक्रम आयोजना गरेको हो । सोमबारको कार्यक्रमबाट प्रोत्साहित भएका छौँ । आगामी दिनमा बाँके जिल्लाका दुर्गम बस्तीमा स्वास्थ्य सेवा प्रदान गर्नेछौँ,’ संयोजक शाहीले भने ।

लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले रक्तदान जीवनदान भएको भन्दै यस्ता कार्यक्रम भइरहनुपर्ने बताइन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र कोहलपुर रेडक्रस शाखाले प्राविधिक सहयोग गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार