कोहलपुर ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल कोहलपुरको नयाँ नेतृत्व चयन भएको छ । सोमबार सातौँ साधारण सभा तथा तेस्रो नगर अधिवेशनमार्फत प्याब्सन कोहलपुरको नयाँ नेतृत्व सर्वसम्मतिमा चयन गरिएको हो ।
रमेश खत्रीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । खत्री अघिल्लो कार्यकालमा प्याब्सन कोहलपुरको सचिव थिए । अध्यक्ष निर्वाचित खत्रीले प्याब्सनमै कोषाध्यक्षको रूपमा समेत काम गरिसकेका छन् ।
प्याब्सन कोहलपुरको उपाध्यक्षमा समीर घर्ती, सचिवमा टोपलाल ओली र कोषाध्यक्षमा अस्मिता पुनमगर चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा रबिन्द्र रेग्मी, अमृत ढकाल र कल्पना पौडेल चयन भएका छन् । एक जना सदस्य पछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष खत्रीले मिसन टुडेलाई जानकारी दिए ।
सो अवसरमा प्याब्सन बैजनाथको फोकल पर्सनको रूपमा भीमबहादुर खड्कालाई तोकिएको छ । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदीले नगरपालिकाले लिएको नीतिमा संस्थागत विद्यालयहरूले सहयोग गर्दै आइरहेको बताइन् । कोहलपुरको शिक्षा क्षेत्रको विकासका लागि नगरपालिका शैक्षिक संस्थाहरूसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
नवनिर्वाचित खत्रीले कोहलपुरमा सञ्चालित संस्थागत विद्यालयहरूलाई गोलबद्ध गर्ने र विद्यालयहरूको हकहितका लागि कटिबद्ध भएर काम गर्ने बताए । संस्थागत विद्यालयको दीगोपन, सरोकारवालाहरूसँग आपसी समन्वय, अतिरिक्त क्रियाकलापमा एकरूपता ल्याउने आफ्नो योजना रहेको अध्यक्ष खत्रीले सुनाए ।
कोहलपुर नगरपालिकाको शैक्षिक हब बनाउने योजनामा प्याब्सन कोहलपुरको पनि भूमिका रहने उनको भनाइ छ । प्याब्सन कोहलपुरमा २७ संस्थागत विद्यालय आबद्ध छन् ।
खजुरामा गोदारको नेतृत्व

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन खजुराको नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ । सोमबार खजुरमा सम्पन्न तेस्रो पालिका अधिवेशनले गीता गोदारको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।
प्याब्सन खजुराको सचिवमा रामचन्द्र यादव र कोषाध्यक्षमा बलबहादुर राना चयन भएका छन् । सदस्यमा अब्दुल गफफार खान र भीमबहादुर खड्का चयन भएका छन् भने जानकी फोकल पर्सनमा ओमप्रकाश गुप्ता चयन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्