कोहलपुर (बाँके) ।
कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा शवदाह गृह निर्माण गरिरहेको छ । गत असोज १९ गते शिलान्यास गरिएको अत्याधुनिक प्रविधियुक्त शवदाह गृह तीव्र रूपमा निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । कुल १ करोड २५ लाख लागतमा शवदाह गृह निर्माण हुन लागेको हो ।
शवदाह गृह निर्माण समितिका संयोजक चक्रबहादुर अधिकारीका अनुसार शवदाह गृह निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माणकार्य भइरहेको संयोजक अधिकारीले बताए ।
शवदाह गृहका लागि चाहिने अधिकांश संरचना निर्माण भइसकेको उनको भनाइ छ । शवदाह गृहमा अत्यावश्यक रहेको विद्युतसमेत जडान गरिएको संयोजक अधिकारीले जानकारी दिए ।
‘कोहलपुरको अत्यावश्यक संरचना निर्माण भइरहेको छ । निर्माणको ८० प्रतिशत काम हामीले सम्पन्न गरिसकेका छौँ । आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ,’ अधिकारीले भने ।
शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकहरूबाट राम्रो सहयोग पाइएको उनको भनाइ छ । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो ।
एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । गोल्छा समूह र दुगड समूहले समेत शवदाह गृहका लागि आवश्यक संचरना निर्माणको वाचा गरेको र छिट्टै सहयोग हस्तान्तरण गरिने आशा उनले व्यक्त गरे ।
कोहलपुर नगरपालिका–१२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहले लामो समयको प्रतीक्षापछि कोहरपुरबासीको सपना पूरा हुने चरणमा पुगेको बताए । उनले शवदाह गृह सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई धन्यवाद पनि दिए ।
कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्ती सोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता कोहलपुरबासीलाई थियो ।
निर्माण समितिका संयोजक अधिकारीले अन्य धेरै व्यवसायीहरूले सहयोग गरिरहेको र छिट्टै निर्माण सम्पन्न हुने बताए ।









प्रतिक्रिया दिनुहोस्