भेरीमा पिजी अध्यापन हुँदा नागरिकलाई कस्तो हुन्छ लाभ ?



चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पताललाई आफ्नो आंगिक क्याम्पसका रूपमा मान्यता दिएर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्राध्यापनका लागि जिम्मेवारी तोकेको छ । मेडिसिन, गाइने, अर्थाेपेडिक्स, मुटु र रेडियोलोजीतर्फका चिकित्सकहरूलाई न्याम्सले सहप्राध्यापकको रूपमा जिम्मेवारी दिएको छ । यसले अब भेरी अस्पतालमा कम्तीमा ती विषयमा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरू अध्ययनका लागि आउने सुनिश्चितता भएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जस्थित भेरी अस्पताललाई एमबीबीएस अध्यापन गराउनेगरी मेडिकल कलेज बनाउने कि पोष्ट ग्र्याजुएट तहको अध्यापन गराउने एकेडेमिक संस्थाको रूपमा विकास गर्ने भन्ने अन्योलताले अब टुंगो पाएको छ । अब भेरी अस्पताल एमबीबीएस पास गरेर चिकित्सक भइसकेका र कुनै विशेष विषयमा विशेषज्ञता लिन चाहने चिकित्सकहरूले अध्यापन गर्ने क्याम्पस बन्ने भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पताललाई आफ्नो आंगिक क्याम्पसका रूपमा मान्यता दिएर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्राध्यापनका लागि जिम्मेवारी तोकेको छ । मेडिसिन, गाइने, अर्थाेपेडिक्स, मुटु र रेडियोलोजीतर्फका चिकित्सकहरूलाई न्याम्सले सहप्राध्यापकको रूपमा जिम्मेवारी दिएको छ । यसले अब भेरी अस्पतालमा कम्तीमा ती विषयमा विशेषज्ञता हासिल गर्ने चिकित्सकहरू अध्ययनका लागि आउने सुनिश्चितता भएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी अहिले देखिएका विवादहरू चाँडै समाधान भएमा आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु हुने सम्भावना रहेको बताउँछन् । त्यसका लागि न्याम्सले प्रवेश परीक्षा लिँदा नै कोटा तोक्नुपर्छ । कोटा तोक्ने विषयमा अहिले टुंगो लाग्न बाँकी छ । पिजीको प्रवेश परीक्षा र फाइनल परीक्षा न्याम्सले नै लिने गर्छ ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे अहिले पनि एमडी गरिरहेका केही चिकित्सकहरू आफूसँग अध्ययनका लागि आएको बताउँछन् । कोभिड–१९ का कारण विदेशमा पढ्न गएकाहरूको पढाइ प्रभावित भएपछि उनीहरूको सहजताका लागि न्याम्सले आफूमातहत अध्ययनका लागि पठाएको उनले बताए । अहिले पनि एक जना चिकित्सक एमडी अध्ययनका क्रममा भेरीमै रहेको उनले बताए । यसले भेरी अस्पताल पिजीतर्फ अध्यापनका लागि तयार छ भन्ने प्रमाण दिएको उनी बताउँछन् ।

डा. पाण्डेले पिजीतर्फको अध्यापन हुन थालेपछि यस क्षेत्रले तीनवटा आयाममा लाभ लिन पाउने बताएका छन् । पहिलो, उपचार सेवामा सहजता आउने उनको भनाइ छ । उनले भने, ‘एमडी गर्न आउने चिकित्सक भनेका दक्ष चिकित्सकहरू नै हुन् । उनीहरू २४सै घण्टा अस्पतालमा बस्नुपर्ने हुनाले बिरामीले चिकित्सकहरूलाई कुरी बस्नुपर्ने अवस्था हुँदैन । जति बेला पनि चिकित्सकहरू उपलब्ध हुन्छन् ।’

यति मात्रै नभई त्यस्ता चिकित्सकहरू सिक्न चाहने र बिरामीको उपचारको सफलताबाटै उनीहरूको सफलताको पनि मूल्यांकन हुने हुनाले जहिले पनि सेवामा खटिन आवासीय चिकित्सकहरू प्रेरित हुने गरेको उनले बताए । ‘वीर अस्पतालमा सेवा राम्रो हुनुका पछाडि आवासीय चिकित्सकको सेवा हुनुले पनि हो भन्ने कुरा भुल्नुहुँदैन,’ डा. पाण्डेले भने ।

पिजी अध्यापनले हुने अर्काे लाभ भनेको स्वास्थ्य क्षेत्रमा अनुसन्धानको कामले बढावा पाउने र एकेडेमिक वातावरण सिर्जना हुने उनको भनाइ छ । ‘यो पढाइ भनेको रिसर्चमा आधारित पढाइ हो । यहाँ पढ्ने चिकित्सकले त पढाइ र रिसर्चमा त लाग्नुपर्छ नै, पढाउने चिकित्सकले पनि आफूलाई त्यसैगरी तयार गर्नुपर्छ,’ उनले भने । यसबाट स्वास्थ्य क्षेत्रमा इन्नोभेसनको सम्भावना बढ्ने उनले बताए । यससँगै पिजीको अध्ययापन सुरु भएपछि विशेषज्ञ बन्न चाहने चिकित्सकहरूलाई अवसर सिर्जना हुने उनले बताए ।

सरकारले २०७९ चैतमा भेरी अस्पताललाई न्याम्सको आंगिक अस्पतालको रूपमा एमडी, एमएस, डीएम, एमसीएस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नीतिगत स्वीकृत दिएको थियो । त्यसबखत भेरी अस्पतालमा मेसु रहेका छालारोग विशेषज्ञ डा. बद्री चापागाईं आफूहरूले भेरी अस्पतालमा पिजीस्तरको अध्यापनका लागि विभिन्न स्तरमा छलफल गरेको बताउँछन् । उनी भन्छन्, ‘भेरीको भविष्य पिजीको अध्यापनमै छ भनेर हामीले सुझाव दिएका थियौँ । यसले चिकित्सक, अस्पताल र नागरिक सबैलाई प्रत्यक्ष लाभ प्राप्त हुन्छ ।’

भेरीका ६ जना चिकित्सकले पाए सह प्राध्यापकको जिम्मेवारी

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भेरी अस्पतालका ६ जना चिकित्सकलाई सहप्राध्यापकको जिम्मेवारी दिएको छ । सहप्राध्यापकको जिम्मेवारी पाउने चिकित्सकहरूमा अस्पतालका मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे, अर्थोपेडिक सर्जनद्वय डा. तिर्थेन्द्र खड्का र डा.प्रकाश थापा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी, मुटुरोग विशेषज्ञ डा. विकास नेपाल र रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा रहेका छन् ।

उनीहरूलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, प्राज्ञिक परिषद्को मंसिर २ गतेको बैठकले डा.पाण्डेलाई सहप्राध्यापकको जिम्मेवारी तोकेको अनौपचारिक जानकारी आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए । डा. सुवेदीका अनुसार थप केही चिकित्सकहरूले सहायक प्राध्यापकको जिम्मेवारी पनि प्राप्त गरेको जानकारी पाए पनि आधिकारिकरूपले जानकारी भने आइसकेको छैन ।

प्राध्यापनका लागि जिम्मेवारी तोकिएका चिकित्सकहरूले न्याम्सले एमडी अध्ययनका लागि प्रवेश परीक्षा लिएर पठाएका चिकित्सकहरूलाई गाइड गर्नेछन् । न्याम्सले भेरी अस्पतालमा पिजी कार्यक्रम सञ्चालनका लागि योग्यता पुग्ने चिकित्सकहरूलाई प्राध्यापनका लागि जिम्मेवारी तोकेको हो । सहप्राध्यापकको जिम्मेवारी पाएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.पाण्डे सिकलसेल एनिमिया र थालेसिमिया रोगका विज्ञ चिकित्सक हुन् ।

यसैगरी डा.खड्का र डा.थापाको सक्रियताले भेरी अस्पालले हाडजोर्नीको गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । डा. थापा भेरी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट पनि हुन् । यसैगरी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी आफ्नो विषयका एक प्रसिद्ध चिकित्सक हुन् । यसैगरी भेरी अस्पतालमा मुटुरोग उपचारलाई विस्तार गर्नमा महत्वपूर्ण योगदान दिएका मुटुरोग विशेषज्ञ डा. नेपालले पनि सह प्राध्यापकको जिम्मेवारी पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ११ गते मंगलबार