बाँके ।
सोमबार आन्दोलित विद्यार्थीसहितको समूहले कोहलपुर नगरपालिकाले हुर्काएका बिरुवाहरूमा क्षति पु¥याएका छन् । उनीहरूले कोहलपुर चौराहा, वन कार्यालय अगाडि, न्यूरोडलगायतका क्षेत्रमा हुर्काएका बिरुवा भाँचिदिएका हुन् ।
कोहलपुर नगरपालिकाको कार्यालय तोडफोडमा उत्रिएको समूहलाई प्रहरीले तितरबितर पारेपछि त्यसको रिस उनीहरूले हुर्किरहेका बिरुवाहरूमाथि पोखेका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले हुर्किरहेका बिरुवाहरू भाँच्नुका साथै संरक्षणका लागि राखिएका ट्री गार्डसमेत फालिदिएका थिए ।
उनीहरूले हुर्किरहेका बिरुवाहरूलाई बीचबाटै भाँचिदिएका छन् । बिरुवा संरक्षणका लागि राखिएका ट्री गार्डलाई निकालेर सडकमा फालेका थिए । आन्दोलनका कारण हुर्किरहेका बिरुवामा ठूलो क्षति भएको कोहलपुर नगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार विद्यार्थीहरूले सडक किनारामा रोपिएका करिब एक दर्जन बिरुवाहरूमा क्षति पु¥याएका छन् ।
आन्दोलन साम्य भएपछि नगर प्रहरी आएर फालेका ट्री गार्डलाई ल्याएर बिरुवा संरक्षणका लागि राखेको थियो । आन्दोलनका नाममा हुर्किएका बिरुवामा क्षति पु¥याएको भन्दै स्थानीयहरूले भने विरोध गरेका छन् ।
‘कोहलपुर नगरपालिकाले दुःख गरेर हुर्काएका बिरुवालाई क्षति पु¥याउनेलाई कारबाही हुनुपर्छ,’ स्थानीय रामचन्द्र खत्रीले भने, ‘यस्तो अराजक आन्दोलनको नेतृत्व गर्नेबाट यसको क्षतिपूर्ति असुल गर्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्