विद्यालयलाई होप फर चिल्ड्रेनले दियो शैक्षिक सामाग्री



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ सिमरीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई होप फर चिल्ड्रेनले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच मंगलबार होप फर चिल्ड्रेनका परियोजना कोहलपुरका संयोजक नवीन खत्री र कोहलपुरका कार्यबहाक नगर प्रमुख वीरेन्द्रकुमार शाहले संयुक्त रूपमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यालयलाई बालमैत्री स्मार्ट कक्षाकोठाको लागि शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो । नगरभित्र शैक्षिक रूपले पछाडी परेको विद्यालयलाई स्थानीय सरकारको गर्नुपर्ने काम संस्थाले गरेको भन्दै कार्यबाहक नगर प्रमुख शाहले खुसी व्यक्त गरे । स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएको कुराहरू गरेपनि अझैँ धेरै गर्न बाँकी रहेको उनले बताए ।

शैक्षिक गुणस्तरको लागि स्थानीय सरकारले मात्रै नभई विभिन्न संघ संस्था, स्थानीय सरकार र अभिभावकको सहकार्य महत्वपूर्ण हुने वडाध्यक्ष समेत रहेका कार्यबहाक नगर प्रमुख शाहले बताएका थिए । ‘स्थानीय सरकारले विद्यालयलाई केही पनि सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘तर जति हुनुपर्ने थियोे त्यो हुन सकेको छैन । हाम्रो क्षमताले सकेसम्म सहयोग गर्दै पनि आएका छौँ ।’

होप फर चिल्ड्रेनले विद्यालयमा बालमैत्री स्मार्ट कक्षाकोठाको लागि शैक्षिक सामाग्री निःशूल्क प्रदान गरेकाले त्यसबाट लाभ लिन बालबालिकालाई विद्यालय पठाउन उनले सबैलाई आग्रह गरे ।

परियोजना कोहलपुरका संयोजक नवीन खत्रीले बालबालिकाको स्वास्थ्य, शिक्षा र चरित्र निर्माणमा संस्थाले विशेषगरी काम गर्दै आएको बताए । उनकाअनुसार शैक्षिक रूपमा पछाडी र राज्यको नजरमा नपरेको विद्यालयमा थोरै भएपनि सहयोग गरिएको हो ।

विद्यालयलाई करिब २ लाख रुपैयाँ बराबरको बालमैत्री स्मार्ट कक्षाकोठाको लागि शैक्षिक सामाग्री दिइएको उनले मिसन टुडेलाई जानकारी दिए । संस्थाले नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा मात्र नभई कोहलपुरका वडा नम्बर १०, ११ र १३ वडाका अन्य विद्यालयमा समेत यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूलाई निःशूल्क रूपमा ट्युसन समेत पढाइरहेको संयोजक खत्रीले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हस्तबहादुर खत्रीले होप फर चिल्ड्रेन संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

अहिले विद्यालयमा १ सय ३७ विद्यार्थीहरू अध्ययरत रहेको भन्दै उनले आर्थिक रूपले विपन्न विद्यार्थीहरूलाई संस्थाले कलम, कापी प्रदान गरेर धेरै राहत मिलेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार