कैलाली ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन् । उनी सोमबार बेलुकी धनगढी हुँदै स्थलमार्गबाट जिल्ला सदरमुकाम पुगेका हुन् । चुनाव जितेको दुई वर्षपछि जिल्ला फर्किएका देउवालाई जिल्ला सदरमुकाममा बाजागाजासहित सो पार्टीका नेताकार्यकर्ताले स्वागत गरेका थिए ।
यसअघि चुनाव जितेपछि जिल्ला नफर्किने देउवा यसपटक चुनाव जितेको दुई वर्षपछि जिल्ला आएका हुन् । देउवा जिल्ला आउने भएपछि सदरमुकाम क्षेत्र र उनले भ्रमण गर्ने ठाउँमा व्यापक सरसफाइ गरिएको छ । उनी २०७० पछि पहिलोपटक सडक मार्ग भएर भ्रमण गरिरहेका छन् । २०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
सोमवार बिहान जिल्लाको भित्री मधेसमा पर्ने आलिताल र परशुरामधामको दर्शन गरेका देउवा बेलुकी जिल्ला सदरमुकाम आएका हुन् । उनी मंसिर १ गतेसम्म जिल्लामा बस्नेछन् । यहाँ रहँदा उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
जिल्ला सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवा कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा)मा सहभागी हुनेछन् । उनले कात्तिक २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुने छन् । गन्यापधुरा देउवाको गृहपालिका हो । पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्