ठेकेदारको लापरबाहीले एक वर्षमै सकिनुपर्ने खजुराको प्रशासनिक भवनको काम तीन वर्षसम्म अधुरै



२०७८ जेठबाट एक वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी सुरु गरिएको भवन निर्माणको योजना तीन वर्ष बित्दा पनि निर्माण कम्पनी एमके जुगल जेभीले काम सक्न सकेको छैन । निर्माण कम्पनीका कारण भवन समयमै निर्माण नहुँदा सेवाग्राहीहरूले मात्रै होइन, जनप्रतिनिधि र कर्मचारीले समेत सास्ती पाइरहेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

खजुरा गाउँपालिकाको कार्यालयमा पुग्दा गेटमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको नाम देखेर नझुक्किनुहोला । उक्त गेटभित्र रहेका टहरा र भवनमा अहिले पनि खजुरा गाउँपालिकाकै काम कारबाही हुने गर्छ । जुन भवन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई दिने भनेर गाउँसभाले निर्णय गरिसकेको छ । उता गाउँपालिकाको गौरवको योजनाअन्तर्गत प्रचार गरिएको नयाँ प्रशासनिक भवन तोकिएको समयभन्दा दुई वर्ष ढिला भइसक्दा पनि निर्माण पूरा भएको छैन ।

गाउँपालिकाले सुरुवातदेखि नै साविकको बागेश्वरी गाविसको भवनबाट सेवा प्रदान गर्दै आएको छ । नागरिकहरूलाई पनि नयाँ भवन निर्माणमा ढिलाइ हुँदा सेवा लिन समस्या भइरहेको छ । खजुरा–३ बी गाउँमा २०७८ जेठबाट एक वर्षमा निर्माण सम्पन्न गरिसक्नेगरी सुरु गरिएको उक्त भवन निर्माणको योजना तीन वर्ष बित्दा पनि पूरा भएको छैन । भवन निर्माणमा ढिलाइ हुँदा गाउँपालिकाको प्रशासनिक कामकाजमा असहजता आइरहेको छ भने अहिले कार्यसञ्चालन भइरहेको भवन प्रयोगका लागि लुम्बिनी प्राविधिक विश्वविद्यालयले ताकेता गरिरहेको छ ।

विश्वविद्यालयले पदाधिकारीहरूको कार्यकक्ष राख्नेगरी उक्त भवन प्रयोग ल्याउन पर्खेर बसेको विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारी बताउँछन् । गेटमा विश्वविद्यालयको नाम लेखिसकिएको छ । गाउँपालिकाले भवन दिने भनेर निर्णय गरिसकेपछि आफूहरू उक्त भवन प्रयोगमा ल्याउनका लागि पर्खिरहेको भण्डारीले बताए ।

नयाँ भवनमा सर्नका लागि गाउँपालिका कति आत्तिएको छ भन्ने उदाहरण गत वर्ष नै निर्माणाधीन भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष सारेर उद्घाटन गर्नु हो । २०८० असोजमा निर्माणाधीन भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष सारियो । हाल अध्यक्ष र उपाध्यक्षहरू दुवै ठाउँको कार्यकक्षमा बस्ने गरेका छन् । त्यसो हुँदा नागरिकहरू उनीहरूलाई भेट्न जाँदा अलमलिनुपर्ने अवस्था छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना त्यसले कार्यालयको कामलाई पनि प्रभावित गरिरहेको बताउँछन् ।

‘हामीहरू यता उहाँहरू उता हुँदा तत्काल सल्लाह लिनुपर्ने कामहरूमा बाधा आइहाल्छ । सेवाग्राहीहरू पनि सानो कामको लागि यता उता गरिराख्नुपर्ने हुन्छ,’ उनले भने ।

यसका साथै गाउँपालिका कार्यालयका कतिपय शाखाहरू पनि फरक–फरक स्थानमा सञ्चालित छन् । कृषि, पशु, शिक्षा र स्वास्थ्य शाखाहरू निर्माणाधीन प्रशासकीय भवनकै नजिक पुराना भवनमा सञ्चालन भइरहेका छन् । सेवाग्राहीहरूलाई कतिपय कामहरूका लागि ती शाखामा पुगेर पुनः करिब दुई किलोमिटर टाढा रहेको प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयमा पुग्नुपर्ने अवस्था छ ।

५ करोड १८ लाख ७२ हजार रुपैयाँ लागत अनुमान गरिएको नयाँ भवन निर्माणको काम अहिलेसम्म ८० प्रतिशत पूरा भएको गाउँपालिकाको दाबी छ । निर्माण कम्पनी एमके जुगल जेभीले ३ करोड २५ लाख २३ हजार भुक्तानी लगिसकेको छ । निर्माणाधीन भवनमा विद्युत्, खानेपानी, पाइप जडान, झ्यालमा ग्रिल र ग्लास राख्ने तथा रङरोगन गर्ने काम बाँकी नै छ । बहुवर्षीय योजनामा राखिएको उक्त भवनको निर्माण कार्यका लागि पटकपटक म्याद थप्दै अन्तिम म्याद २०८१ असोज मसान्त तोकिएको थियो ।

तर, चालु आर्थिक वर्षमा निर्माण कम्पनीले काम नै गरेन । गाउँपालिकाका प्रशासकीय अधिकृत रानाका अनुसार असोज मसान्तमा पनि काम सम्पन्न नगरेपछि कालोसूचीमा किन नराख्ने भनेर स्पष्टीकरण सोधिएकोमा निर्माण कम्पनीले मंसिर २५ गतेसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने वाचा गरेको छ ।

उक्त अवधिमा काम सम्पन्न नगरेमा कम्पनीलाई कालोसूचीमा राखेर आवश्यक थप कारबाही अघि बढाइने रानाको भनाइ छ । निर्माण कम्पनीले महँगी र आर्थिक संकटले काम गर्न नसकेको जबाफ दिएको उनले बताए । निर्माण कम्पनीका प्रतिनिधि नरेश ओझा बीचमा आल्मुनियमलगायतका सामानको परिमाणमा फेरबदल गरिएको र त्यसमा विवाद हुँदा काममा ढिलाइ भएको बताउँछन् । गाउँपालिकाकी इन्जिनियर सोनु शाहले परिमाण थप भएसँगै असार महिनामै भेरिएसन गरिसकिए पनि निर्माण कम्पनीले काम नगरेको बताइन् ।

खजुरा गाउँपालिका अध्यक्ष डम्मर विक तुफान निर्माण कम्पनीलाई अन्तिमपटक मौका दिइएको बताए । काम नभएमा कम्पनीलाई कारबाही गरिने उनी बताउँछन् । अध्यक्ष विकले अहिले कार्यालय चलिरहेको भवन लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई दिइसकिएकाले चाँडोभन्दा चाँडो नयाँ भवनमा कार्यालय सार्ने प्रयास भइरहेको पनि दाबी गरे । ‘नवनिर्मित भवनकै परिसरमा टिनले छाएर टहरा बनाउँदै छौँ । त्यसैमा भए पनि कार्यालय सार्छौँ । नयाँ भवनमा सर्न हामी आतुर छौँ,’ अध्यक्ष विकले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार