बाँसगढी ।
बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करणअन्तर्गतको दोस्रो दिन बिहीबार दुई खेल सम्पन्न भएका छन् । जसमा ककौरा सुपर किङ्स र एचबीए विजयी भएका छन् ।
बाँसगढी राइनोज र ककौरा सुपर किङ्सबीच भएको पहिलो खेलमा राइनोजले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको ककौराले २० ओभरमा ६ बिकेट गुमाउँदै १४० रन जोडेको थियो । पहिलो इनिङमा ककौराका अजय सहनीले ३४ बलमा ५७ रन जोड्दै विस्फोटक ब्याटिङ गरे भने बाँसगढी राइनोजको बलिङतर्फ उत्सव ढकालले २ विकेट लिएका थिए ।
१४१ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै जोड्न सफल भएको थियो । फलतः ककौराले ५७ रनले राइनोजलाई पराजित ग¥यो । पहिलो म्याचमा विस्फोटक ब्याटिङ गरेका अजय सहनी माधव एण्ड मनीष म्यान अफ दी म्याच घोषित भए ।
बिहीबारै भएको बाँसगढी रोयल टाइगर्स र एचबीएबीचको दोस्रो खेलमा एचबीएले टस जितेर ब्याटिङ रोजेको थियो । एचबीएले २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन जोड्न सफल भएको थियो । जसमा एचबीएका अनुप सिंहले ४७ रन, सोलुप चौधरीले ४० रनको योगदान दिए । बलिङतर्फ बाँसगढी रोयल टाइगर्सका लवकुस यादवले ४ विकेट लिन सफल भएका थिए ।
जबाफी ब्याटिङमा उत्रिएको बाँसगढी रोयल टाइगर्सले २० ओभर खेल्दै ९ विकेट गुमाएर १५२ रन मात्रै जोड्न सकेको थियो । एचबीए १८ रनले बाँसगढी रोयल टाइगर्सलाई पराजित गर्न सफल भयो । बलिङतर्फ एचबीएका सुनिल भण्डारीले ३, हर्सल भण्डारी र अनुज सिंहले समान २–२ विकेट लिए । दोस्रो म्याचमा अलराउन्ड खेल प्रदर्शन गरेका अनुज सिंहले माधव एण्ड मनीष म्यान अफ दि म्याच अवार्ड पाए ।
प्रतियोगिताको तेस्रो दिन आज दिन पनि दुई वटा खेल हुँदै छन् । पहिलो खेल बाँसगढी रोयल टाइगर्स र ककौरा सुपर किङ्सबीच हुनेछ भने दोस्रो खेल बाँसगढी राइनोज र एचबीएबीच हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिए ।
बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । बुधबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले प्रतियोगित उद्घाटन गरेका थिए ।
प्रतियोगिताका विजेताले १ लाख ५० रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँसगढी प्रिमियर लिग–२०८१ को पहिलो संस्करणको खेलमा पशुपति वारियर्स विजेता बनेको थियो ।









प्रतिक्रिया दिनुहोस्