काठमाडौँ ।
भारतबाट यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । भारतलाई सन् २०१२ मा आईसीसी यू–१९ विश्वकप जिताउँदा कप्तान उन्मुक्तलाई लुम्बिनी लायन्सले एनपीएलका लागि अनुबन्ध गरेको हो ।
भारतको ए टोलीबाट समेत खेलिसकेका उन्मुक्त भारतमा पर्याप्त अवसर नपाएपछि भारतीय क्रिकेटबाट सन्न्यास लिँदै अमेरिका लागेका थिए । उनकै कप्तानीमा भारतले घरेलु टोली अस्ट्रेलियालाई फाइनलमा ६ विकेटले स्तब्ध पार्दै सन् २०१२ मा यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको थियो । फाइनलमा उनले शतकसमेत प्रहार गरेका थिए ।
उन्मुक्त चन्दले दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका थिए । उन्मुक्त लुम्बिनीले एनपीएलका लागि अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ र इंग्ल्यान्डका टम रोजर्सलाई अनुबन्ध गरिसकेको छ ।
उन्मुक्तले ६७ फस्ट क्लास खेलमा ३ हजार ३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै १२० लिस्ट ए क्रिकेटमा उनले ४ हजार ५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतकसमेत समावेश छन् । टी–२० मा उनले ९० खेलमा १ हजार ७९५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।
लुम्बिनी लायन्समा अनुबन्ध भएपछि उत्साहित हुँदै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रूपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपुर योगदान दिन चाहन्छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौँ ।’
उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पु¥याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडी हुन् प्रशिक्षकमा नन्दन फाडनिस छन् । एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म हुनेछ । जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् ।









प्रतिक्रिया दिनुहोस्