बाँसगढी ।
वडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर बाँसगढीमा बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता २०८१ को दोेस्रो संस्करण सुरु भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा बुधबारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
बुधबार एक समारोहका बीच बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्काले सो प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख खड्काले खेल क्षेत्रको विकासका लागि बाँसगढी नगरपालिका अग्रसर रहेको बताए ।
बुधबार नै ककौरा सुपर किङ्स र एचबीएबीच भएको पहिलो खेलमा ककौरालाई ११ रनले हराउँदै एचबीए विजयी भएको छ । ककौराले टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको एचबीएले १६.५ ओभरमा आफ्नो पुरा विकेट गुमाउँदै ९६ रन जोडेको थियो ।
पहिलो इनिङमा एचबीएका हर्सल भण्डारी र सौगात कार्कीले समान २३ रन जोडे भने ककौराका सुदीप रानाले ५ विकेट र भुवन शाहले २ विकेट लिए । ९७ रनको लक्ष्य पछ्याएको ककौरा १७औँ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ८५ रनमा सीमित भएको थियो ।
त्यस्तै, बुधबारै भएको बाँसगढी रोयल टाइगर्स र बाँसगढी राइनोजबीचको दोस्रो खेलमा बाँसगढी राइनोज १२ रनले विजयी भएको छ । टस जितेर फिल्डिङ रोजेको बाँसगढी रोयल टाइगर्सले बाँसगढी राइनोजलाई १३.४ ओभरमा ५६ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी रोयल टाइगर्सले १३.५ औभर खेल्दै ४४ रन जोड्दा आफ्ना सबै विकेट गुमाएको थियो ।









प्रतिक्रिया दिनुहोस्