नेपालगन्ज ।
नेपालगन्जको गणेशपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका नेपालगन्ज– ११ का एहसान शेषको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले शेषको भारतको बहराइचस्थित एक अस्पतालमा उपचार भइरहेको उनका आफन्तले जानकारी गराएको बताए ।
उनीहरू प्रहरीको सम्पर्कमै रहेको एसपी कार्कीले जानकारी दिए । उनका अनुसार शेषको अनुहार र घाँटीमा चोट लागेको छ ।
आइतबार साँझ नेपालगन्जको गणेशपुरमा भे५प ८०२ र भे३प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्जका अमन गुप्ताको मृत्यु भएको थियो । बाँके प्रहरीका अनुसार अमनलाई नेपालगन्ज मेडिकल कलेजमा पु¥याएपछि डाक्टरहरूले मृत घोषित गरेका थिए ।
दुर्घटनामा परेर घाइते भएका अर्का चालक नेपालगन्जकै एहसान शेषलाई भने भेरी अस्पतालमा लगिए पनि उनका आफन्तले प्रहरीसँग समन्वय नगरीकनै भारत लगेपछि अमनका आफन्तहरूले उनलाई भगाइएको आरोप लगाउँदै नेपालगन्जमा भेरी अस्पतालअघि सोमबार प्रदर्शनसमेत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्