भारतीय फूल आयात रोक्न माग



काठमाडौँ ।

भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाली फूल व्यवसायीहरूले माग गरेका छन् । नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न सरकारसँग माग गरेको हो ।

तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरूले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन् । नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहारलगायत चाडपर्व आउन थालेपछि नेपाली फूलमाला उत्पादक किसानहरूलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताए ।

त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आायतमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले दाबी गरे । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतिक्षा गरिरहेको उनले जानकारी दिए ।

‘नेपाल सरकारलाई त्यो भारतीय फूलमाला रोक्नको लागि अनुरोध गर्दछौँ र सम्पूर्ण सयपत्री फूलमाला उत्पादक किसानलाई सजग रहन र भारतीय फूलमाला रोक्न अनुरोध गर्दछौँ,’ अध्यक्ष चौलागाईंले भने ।

तिहार आउनै लाग्दा फ्लोरीकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूलमालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले खेद प्रकट गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार