नेपालगन्जमा ‘अहिल्या’माथि परिचर्चा



कोहलपुर ।

शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजमामा नेपालगन्जमा एक कार्यक्रमका बीच किरण आचार्यको नवीनतम् उपन्यास ‘अहिल्या’माथि परिचर्चा गरिएको छ । कार्यक्रममा मन्तव्य राख्दै समालोचक प्रा.डा. गोपालप्रसाद अधिकारीले आफ्नो रूचि र क्षमताअनुसारको विषयमा कलम चलाउँदा सृजना स्तरीय बन्नसक्ने बताए ।

प्रा.डा. अधिकारीले हाम्रा प्राचीन अवशेषहरूमा पौराणिक र ऐतिहासिक विषयवस्तु रहेको बताउँदै उपन्यासकार आचार्यले तिनै विषयलाई आफ्नो लेखनको आधार बनाएको बताए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकालले पछिल्लो समय पौराणिक तथा ऐतिहासिक विषयवस्तुमा सुन्दर सिर्जनाहरू आएको बताउँदै पौराणिक कथा र ऐतिहासिक विषयवस्तुमा सिर्जना गर्ने सर्जकहरूले विषय छनोट गर्दा ठूलो सोच विचार गरेर मात्रै छनोट गर्नुपर्ने चुनौती रहेको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशिराम कार्कीले उपन्यास लेखन आफैँमा चुनौतीपूर्ण रहेको बताउँदै उपन्यासकार आचार्यले त्यो चुनौतीलाई सामना गर्दा गतिलो औपन्यासिक कृति सिर्जना गरेको बताए ।

त्यस्तै, समालोचक तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, समालोचक चरित्रा शाह, समालोचक लेकप्रसाद प्याकुरेलले ‘अहिल्या’ उपन्यासका बारेमा समीक्षात्मक मन्तव्य राखेका थिए । ‘अहिल्या’ले लैंगिक विभेदलाई दह्रो रूपमा उठाइएको र यसले नारीवादको वकालत गरेको उनीहरूको भनाइ थियो ।

कृतिकार आचार्यले पौराणिक ग्रन्थकी पौराणिक पात्र अहिल्या अन्यायमा परेको महसुस भएकोले यही अन्यायलाई चिर्न उपन्यास लेखेको बताइन् । कार्यक्रमको अध्यक्षता गरेको प्रा.डा. जनार्दन शर्मा आचार्याले नेपालगन्ज साहित्यको उर्वर क्षेत्र बन्दै गएको बताउँदै स्तरीय सिर्जनामा ध्यान दिन सर्जकहरूलाई आग्रह गरे ।

नवीन अभिलासी, खगेन्द्र गिरि कोपिला, जीतबहादुर शाह, धिरेन अनुपम, खेम बगर, चन्द्रावती अधिकारी, भीम प्रज्वल, कोपिला संग्रौला, साश्वत आचार्य, असवीर रावत, नरेन्द्र स्वार, प्राध्यापक कमानसिंह बोहरा, डा. इन्द्रबहादुर भण्डारी, नरहरि नाथ योगी, भीमबहादुर शाहीलगायत स्रष्टाहरूको उपपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार