दाङ ।
दुई जना होटेल सञ्चालक र अर्का एक युवकलाई प्रहरीले लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–१ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ सञ्चालन गर्दै आएका २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर थापाका अनुसार रोल्पा घर भएका र हाल दाङको घोराही–१४ बसपार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्तीमगर पनि पक्राउ परेकी छन् ।
त्यस्तै, घोराही–१० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
दाङ प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिलीग्राम ब्राउनसुगर बरामद भएको हो ।
गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्