खजुरा ।
बाँकेको खजुरा गाउँपालिका–४ इगाउँमा एक दम्पतीले छोराको स्मृतिमा पिउनेपानीको धारा निर्माण गरेका छन् ।
आफ्ना ज्येष्ठ सुपुत्र अर्जुन रोका क्षेत्रीको निधन भएको ४५औं दिनको पुण्यतिथिको अवसर पारेर आइतबार इगाउँ चोकमा खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
स्व. अर्जुनका बुबा चोकबहादुर र आमा खिमा रोकाले आइतबार संयुक्तरूपमा खानेपानी धाराको शुभारम्भ गरेका थिए । स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरी उनीहरूको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व. अर्जुन रोकाका पिता चोकबहादुरले बताए ।
२६ वर्षीय अर्जुन रोकायको गत साउन ४ गते नेपालगन्जको धम्बोझीमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । स्व.अर्जुन रोकाको २६औं जन्मदिनको सन्दर्भ पारेर भदौँ १९ गते वडा कार्यालयमा वृक्षरोपणसमेत गरिने भएको छ ।
प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार









प्रतिक्रिया दिनुहोस्