बाँके ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ९ स्थित ढकेरीमा बिहीबार राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् भने राजमार्ग अवरुद्ध पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले गए राति टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका ८ का ४० वर्षीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै ज्यान गएको जानकारी दिए ।
कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे १ख ३०१९ नम्बरको टिपरले पूर्वबाट कोहलपुरतर्फ आउँदै गरेको भे१०प १४१३ नम्बरको विष्ट सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करपश्चात् विष्टको घटनास्थलमै ज्यान गएको हो ।
स्थानीयले ठक्कर दिने टिपरलाई आगजनी गरेको र सडक अवरुद्ध पारेका छन् । मृतकको शव अहिलेसम्म पनि सडकमै राखिएको छ भने पूर्वपश्चिम राजमार्ग स्थानीयले अवरुद्ध बनाएका छन् ।
दुर्घटनापश्चात् टिपरचालक फरार रहेका छन् । सडक खुलाउनका प्रहरीले पहल गरिरहेको छ । मृतक विष्ट राप्तीसोनारी गाउँपालिका ८ स्थित पुष्पाञ्जली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष साथै मध्य विन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सचिव रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्