फुटाल्ने काम छोडेर १७ वर्षीय अनुरागले हवाइजहाज बनाए



‘लकडाउनका बेला युट्युब हेरेर सानो एरोप्लेन बनाएको थिएँ,’ बाँसगढीका १७ वर्षीय अनुराग थारूले भने, ‘अहिले बिदाको अवसर पारेर त्यसैको सिको गरेर ठूलो एरोप्लेन बनाएको हुँ ।’ बुधबार बिहान उनले सो हवाइजहाज उडाए । गाउँका सबै जना हेर्न घुइँचो लागेका थिए । गाउँका सबै स्थानीयहरू कार्टुनको प्लेन देखेर छक्क परेका थिए । करिब ५० हजार लागतमा हवाइजहाज तयार भएको उनले मिसन टुडेलाई जानकारी दिए । मोटर, ब्याट्री, पांग्रालगायतका सामानहरू अनलाइनबाट मगाएर र केही बजारबाट निकेर काठको हवाइजहाज बनाएर उनले उडाएका हुन् ।गणेश रावत । कोहलपुर ।

बाँसगढी नगरपालिका–५ का अनुराग थारू उमेरले १७ वर्षका भए । सानै उमेरदेखि जिज्ञासु स्वभावका अनुराग केही सामान हात पर्ना साथ त्यसलाई फुटाल्ने गर्थे । उनलाई खेलाउन भनेर परिवारले ल्याइदिएका गाडी, प्लेनहरू खेल्नुभन्दा पहिला फोरेर भित्र के छ ? भनेर हेर्ने उनको बानी थियो ।

तर, अहिले उनी फुटाल्ने होइन्, निर्माण गर्ने काममा जुटिरहेका छन् । त्यही जिज्ञासु स्वभाव नै अहिले उनका लागि सिर्जनाको मूल आधार बनेको छ । उनले हालै एउटा हवाइजहाज बनाएका छन् । जसका कारण उनी यतिबेला चर्चामा छन् । अनुरागको उमेरसँगै उनको आनीबानी र सोचमा पनि परिवर्तन हुँदै गएको छ ।

उनी अहिले काठमाडौंमा रहेको ग्लोबल कलेज स्कुल अफ साइन्समा कक्षा–११ मा अध्ययन गरिरहेका छन् । ११ कक्षाको परीक्षा दिएर बिदाको समयमा उनी बर्दिया फर्किएका थिए । यही खाली र बिदाको समयको सदुपयोग गरेर अनुरागले हवाइजहाज बनाएका हुन् ।

‘लकडाउनका बेला युट्युब हेरेर सानो एरोप्लेन बनाएको थिएँ,’ उनले भने, ‘अहिले बिदाको अवसर पारेर त्यसैको सिको गरेर ठूलो एरोप्लेन बनाएको हुँ ।’ सामान्य परिवारमा जन्मेका अनुरागले परिवारको सहयोगबाटै यस्ता विभिन्न सामग्री निर्माण गर्ने हौसला मिलेको बताए ।

बुधबार बिहान उनले सो हवाइजहाज उडाए । गाउँका सबै जना हेर्न घुइँचो लागेका थिए । गाउँका सबै स्थानीयहरू कार्टुनको प्लेन देखेर छक्क परेका थिए । सबैले राम्रो मानेर बधाई तथा शुभकामना दिने गरेको उनले बताए । करिब ५० हजार लागतमा हवाइजहाज तयार भएको उनले मिसन टुडेलाई जानकारी दिए । मोटर, ब्याट्री, पांग्रालगायतका सामानहरू अनलाइनबाट मगाएर र केही बजारबाट निकेर बनाएको बताए ।

पहिला बनाएर के गर्ने ? के काम छ र ? अनावश्यक खर्च किन गर्नुप¥यो ? जस्ता प्रश्न स्थानीयले गर्ने गरेका थिए रे ! तर, छोराले बनाएर उडाएपछि सबै छक्क परेको उनका बाबा धनीराम थारूले बताए । छोराको मिहिनेत र सफलता देखेर खुसीको सिमान नरहेको उनले जानकारी दिए ।

धनीराम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढीका लेखपाल हुन् । उनकी श्रीमती पूर्णिमा चौधरी बाल विकास शिक्षक हुन् । ‘सानोमा मैले ल्याइदिएका खेलौनाहरू खेल्न छाडेर भित्र के छ भनेर फुटाएर हेर्ने गथ्र्याे,’ उनले भने, ‘अहिले प्लेन बनाउँछु भनेर सामान किन्न पैसा माग्थ्यो, मैले दिएँ । जे होस् छोराले राम्रो गरेको छ । खुसी लागेको छ ।’

अनुराग अतिरिक्त क्रियाकलापमा मात्र नभई पढाइमा पनि राम्रो रहेको उनले बताए । भर्खरै आएको ११ को परीक्षाको नतिजामा ए प्लस ल्याएर पास हुन सफल भएको धनीरामले जानकारी दिए । विज्ञान विषय लिएकाले पनि यस्ता कुरामा चासो राख्ने गरेको उनको भनाइ छ ।

अहिले दैनिक अनुरागलाई भेट्न आउनेहरूको लर्काे लाग्ने गरेको छ । युट्युबर, पत्रकार र स्थानीयहरू उनको सिर्जना हेर्न आउने गरेका छन् । उनलाई प्लेन देखाउन र अन्तर्वार्ता दिन भ्याइनभ्याइ रहेको उनकी आमा पूर्णिमा चौधरीले बताइन् ।

छोराको प्रगति नै आफ्नो खुसी रहेको उनी बताउँछिन् । खाली समयमा यताउता डुल्नभन्दा यस्तै काममा छोरा लागिपर्ने गरेको उनले बताइन् । छोरो भने पनि छोरी भने पनि अनुराग मात्र भएकाले उसको प्रगतिका लागि हरेक कुरामा कुनै कमी नगरिएको उनको भनाइ छ । सबैले अहिले प्लेन बनाउने अनुरागकी आमा भनेर चिन्दा खुसीले छाती फुल्ने गरेको उनले बताइन् ।

अन्य ठाउँहरूमा पनि विद्यार्थीहरूले यस्ता सिर्जना गर्ने गरेको सुनिए पनि आफ्नै गाउँमा आफ्नै छोरानातिले यस्तो सिर्जना गरेकोमा खुसी लागेको स्थानीयहरू बताउँछन् । आफ्नो गाउँकै छोरानातिले प्लेन बनाएको देखेर अचम्म र खुसी लागेको स्थानीय मयारानी थारूले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ जेठ ३१ गते बिहीबार