बढ्दो गर्मीसँगै बाँके र बर्दियाका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ । दैनिकजसो ओपीडीमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको अस्पतालहरूले जनाएका छन् । कतिपय बिरामीहरूलाई ‘हट स्टोक’ समेत देखिएको बताइन्छ ।
बाँके ।
केही समययता पश्चिम तराईमा बढेको गर्मीसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ । नेपालगन्जस्थित भेरी अस्पताल, नर्सिङ होम, मेडिकल कलेज कोहलपुर, बर्दिया जिल्ला अस्पताल गुलरियालगायतका अस्पतालमा बिरामीको चाप बढेको हो ।
ज्वरो आउने, पेट दुख्ने, झाडापखालालगायतका लक्षण देखिएका बिरामीहरू बढिरहेको भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए । ‘भेरी अस्पतालको ओपीडीमा सरदर दैनिक दुई सय जना बिरामीको उपचार हुन्थ्यो । अहिले त्यो संख्या बढेर साढे दुई सय बढी पुग्ने गरेको छ,’ उनले मिसन टुडेसँग भने, ‘गर्मीकै कारण हो कि अन्य कुनै कारण हो, ठ्याकै भन्न सकिन्न ।’
बिरामीले गर्मीकै कारण स्वास्थ्यमा समस्या आए पनि बिरामीलाई त्यसबारे थाहा नहुने डा. रिसालले बताए । ‘धेरै जना थकान महसुस भएको भनेर उपचार गराउन आउनुहुन्छ । त्यस्तोमा गर्मीले धेरै भूमिका खेल्छ,’ उनले भने ।
बिरामीको चाप बढेसँगै भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ । बुधबार साँझ मिसन टुडेसँगै कुरा गर्दै डा. रिसालले अस्पतालमा आपतकालीन कक्ष, आइसीयू, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी रहेको बताए । ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसीयू, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्,’ उनले भने, ‘अन्य बेला यस्तो हुँदैनथ्यो । नयाँ बिरामी आए उपचारमा समस्या छ ।’
चर्को गर्मीपश्चात पानी परेमा अस्पतालमा अझै बिरामीहरूको चाप बढ्ने डा. रिसालले जानकारी दिए । उनका अनुसार पानी परेमा ज्वरो आउने र सर्पले टोकेका बिरामीहरूको चाप धेरै हुनेछ । यतिबेला तापक्रम उच्च छ । ‘लू’ले शरीरमा जलन उत्पन्न गर्दा स्वास्थ्यमा प्रतिकूल असरको प्रभाव देखिइरहेको छ । हात खुट्टा दुख्ने, थकान महसुस हुने, बेहोस हुने, वान्ता हुने, पखाला लाग्ने बिरामीका साझा समस्या देखिनुले ‘लू’को प्रभाव भएको उपचारमा संग्लन चिकित्सकहरू बताउँछन् ।
सरदर ओपीडीको रेकर्डमा बिरामीको संख्या २ सय ५० हुने बर्दिया जिल्ला अस्पतालमा सोमबार बिरामीको संख्या ४ सय पुगेर रेकर्ड ब्रेक भएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डे अत्यधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुख्नेलगायत समस्या लिएर अस्पताल आउने बिरामी बढेको बताउँछन् ।
तातो सुक्खा हावाबाट बिरामी परेर उपचार गर्न आएकामध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिएको उनले बताए । उनका अनुसार ती बिरामीलाई ‘हट स्टोक’ भएको खुलेको थियो । तातो सुक्खा हावाले पाँच जना बिरामी अस्पतालबाट उपचारपछि घर फर्केका छन् । वैशाख दोस्रो सातादेखि पश्चिम तराईमा वर्षा भएको छैन । त्यसयता लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको हो ।
डा. पाण्डेका अनुसार ‘लू’ वा तातो हावा चलेको बेला हिँडडुल गर्दा स्वास्थ्यमा प्रतिकूल अवस्था देखिने जोखिम अन्य बेलाभन्दा बढी हुन्छ । उपचारका लागि अस्पताल आइपुगेका बिरामीमा पनि लूका कारण विभिन्न अन्य समस्या देखिएको उनी बताउँछन् । उनी भन्छन्, ‘तातो हावाबाट बच्नुको विकल्प छैन ।’
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा समेत ओपीडी उपचार गराउन आउने बिरामीहरूको चाप उच्च रहेको छ । केही दिन अघिसम्म अस्पतालमा ‘हट स्टोक’का बिरामीहरू समेत उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी सन्जु पन्तले जानकारी दिए ।
‘एक साताअघिको जस्तो अहिले गर्मीका कारण बिरामी आउने चाप त छैन,’ उनले भने, ‘तर पनि ओपीडीमा बिरामीको चाप छ भन्दा नै हुन्छ ।’ केही दिनयता भने अस्पतालमा ‘हट स्टोक’का बिरामीहरू नआएको उनले बताए । बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
उनीहरूका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहँेलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पत्ताले हम्कने गर्नुपर्छ ।
भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्नसमेत सुझाव दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्