आज ११औँ स्थापना दिवस मनाउँदै कोहलपुर



कोहलपुर ।

कोहलपुर नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस भव्य रूपमा मनाउन लागेको छ । आम कोहलपुरबासीको सहभागितामा आज न्युरोडको खुला मञ्चमा एक भव्य समारोहको आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो ।

सबै नगरबासीले अपनत्व ग्रहण गर्नेगरी नगर स्थापना दिवस खुला ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘यो सम्पूर्ण नगरबासीका लागि खुसीको अवसर हो,’ नगर प्रमुख आचार्यले भने, ‘यो अवसरमा सम्पूर्ण नगरबासीलाई उपस्थित भएर खुसियाली साटासाट गर्न र हाम्रा कामका बारे रचनात्मक सुझाव दिन अनुरोध गर्दछु ।’

२०७१ साल वैशाख २५ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले कोहलपुरलाई नगरपालिका घोषणा गर्ने निर्णय गरेको थियो । यही खुसियालीमा हरेक वर्ष वैशाख २५ गतेका दिन कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउँदै आएको हो ।

‘नगरपालिका घोषणा हुँदा सुरुमा कोहलपुरबासीमा जुन खुसी र उत्साह थियो त्यसलाई हामीले निरन्तर कायम राख्न सकेनौँ । यसअघिका स्थापना दिवस त्यति बृहत् स्तरमा आयोजना भएनन्,’ मेयर आचार्यले भने, ‘हामी नगरपालिकामा आएपछि आम कोहलपुरबासीका माझमा दिवस मनाउनुपर्छ भनेर गत वर्षदेखि हामीले यसलाई व्यापक बनाएका हौँ ।’

स्थापना दिवसका अवसरमा आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरिएको छ । स्थापना दिवसलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न नगरपालिकाले स्थापना दिवस कार्यक्रम कार्यान्वयन समितिसमेत निर्माण गरेको छ । जसले विभिन्न किसिमका कार्यक्रमहरू तय गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वको कार्यक्रम कार्यान्वयन समितिले चार वटा उपसमिति निर्माण गरेर जिम्मेवारी बाँडफाँट गरेको छ । आज खुलामञ्चमा मनाइने औपचारिक कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको संयोजक शाहले जानकारी दिए ।

समितिले सम्पूर्ण नगरबासीको सहभागिता गराउने उद्देश्यले त्यसैअनुरूपका कार्यक्रम तय गरिएको जनाएको छ । जसमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगित, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता, नगर सरसफाइ, रक्तादानलगायतका कार्यक्रम यसअघि नै सम्पन्न भइसकेका छन् । स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते शनिबारदेखि नै नगरपालिकाले यस्ता प्रतियोगिता सञ्चालन गरेको हो ।

वैशाख २२ गते शनिबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको थियो जसमा दुवै समूहमा कर्मचारी समूह विजयी भएको छ । त्यस्तै, नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच पुरुष ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यस्तै, २३ गते लागूऔषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । विभिन्न विद्यालयका कक्षा ९ देखि १२ सम्मका २६ जना विद्यार्थीले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा बालविद्या माविकी जानकी अर्याल, प्रथम, गोरखा युनाइटेड पब्लिक स्कुलकी राधिका बुढामगर द्वितीय र ग्रिन पिस माविका आयुष पोखरेल र पञ्चमुखी इङ्लिस मिडियम स्कुलकी रिया कुँवर तृतीय भएका छन् ।

सोही दिन आयोजित कविता प्रतियोगितमा बालज्योति माविका विपीन सिंह प्रथम, कृष्ण माविका सृष्टि बुढामगर द्वितीय, ग्रिन पिस माविका आयुष पोखरेल तृतीय र कोहलपुर बागेश्वरीकी उन्नति रावत सान्त्वना भएका छन् ।

सो अवसरमा ५ हजार मिटर छात्र र ३ हजार मिटर छात्रा दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो । दौड प्रतियोगितामा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।

जसमा जीवनज्योति माविकी सुष्मा चौधरी प्रथम, बागेश्वरी एकेडेमीका सागर बुढा द्वितीय, गोरखा युुनाइटेड पब्लिक स्कुलका समित सापकोटा तृतीय र तक्षशिला एकेडेमीका जेनिश गिरी सान्त्वना भएका छन् । त्यसैगरी, नृत्य प्रतियोगितामा गोरखा युनाइटेड पब्लिक स्कुल, पञ्चमुखी इङ्लिस मिडियम सेकेन्डरी स्कुल र ग्रिन पिस मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

दिवसकै सन्दर्भमा हिजो नगर सभा हलमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी नेपालगन्जको समन्वयमा भएको रक्तदान कार्यक्रममा मेयर आचार्यसहित जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयबासी सहभागी थिए । सो अवसरमा ३९ जनाले रक्तदान गरेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी दिवसकै अवसरमा हिजो नगर सरसफाइसमेत गरिएको थियो । नगरपालिकाका १५ वटै वडा कार्यालयपरिसर तथा मूल समारोह स्थल न्युरोडको खुलामञ्च सरसफाइ गरिएको थियो ।

जनप्रतिनिधि तथा कर्मचारीले आआफ्ना वडा कार्यालयपरिसर सरसफाइ गरेका थिए भने खुलामञ्चको सरसफाइमा विद्यार्थी, नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय क्लब तथा संघसंस्थाहरूको सहभागिता रहेको स्थापना दिवस कार्यक्रम कार्यान्वयन समितिका सदस्य–सचिव तथा नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

दिवसका सन्दर्भमा आज नगरपालिका गेटबाट विभिन्न संस्कृति र पहिचान झल्किने नृत्य र झाँकी प्रस्तुत गर्दै खुलामञ्च प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ । जसमा कोहलपुरका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न संंघसंस्थाका प्रतिनिधिलगायत आम सर्वसाधारणको ठूलो उपस्थिति रहने जनाइएको छ । पञ्चेबाजा, सल्यानी टप्पा नृत्य, देउडा नृत्य, थारू नृत्य, सिङ्गारु नृत्यलगायतका विभिन्न समुदायका संस्कृति झल्किने ¥यालीसहित खुलामञ्च कार्यक्रमस्थलमा पुगेर औपचारिक कार्यक्रममा परिणत हुने संयोजक शाहले बताए ।

‘यो अवसरमा हामीले कोहलपुरबासीलाई नगरपालिकाले गरेका राम्रा कामहरूका बारेमा जानकारी दिनेछौँ,’ शाहले भने, ‘साथै कोहलपुरमा राम्रो काम गरेकाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि छ ।’

सो कार्यक्रममा केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गरेका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने, नगरभित्रका उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गर्ने, बीएलई र एसइईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने, नगरभित्रका उत्कृष्ट करदातालाई सम्मान गर्ने, उत्कृष्ट निर्माण व्यवसायी र उत्कृष्ट स्वयम्सेविकालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम पनि नगरपालिकाले तय गरेको छ ।

स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताका विजेताहरूलाई समेत आज पुरस्कार प्रदान गरिनेछ । मूल समारोह स्थल खुलामञ्चमा बिहानैदेखि स्वास्थ्य चेकजाँच शिविर पनि सञ्चालन गरिने जनाइएको छ ।

मोही ख्वाउँदै कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवसका अवसरमा मूल समारोह स्थलमा उपस्थित हुने आगन्तुक पाहुना तथा सहभागीहरूलाई मोही खुवाउने भएको छ । कार्यक्रममा सहभागी हुने अतिथि तथा विद्यार्थीहरूलाई मोही खुवाउने व्यवस्था गरिएको स्थापना दिवस कार्र्यक्रम कार्यान्वयन समितिका संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए ।

‘अन्य विभिन्नखाले पेयपदार्थ किनेर बहुराष्ट्रिय कम्पनीहरूलाई पोस्नुभन्दा स्थानीय स्तरमै उत्पादन हुने मोही ख्वाउनु नै उपयुक्त लाग्यो,’ संयोजक शाहले भने, ‘यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन पनि हुने, मानिसको स्वास्थ्यमा पनि फाइदा पुग्ने ।’ यसका लागि १० क्यान मोहीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार