प्रायः सांसद, मन्त्री वा उच्च ओहदाका व्यक्तिद्वारा रिबन काटेर उद्घाटन गर्ने परम्परा रहिआएकोमा शुक्रबार सो अस्पतालको उद्घाटन कोहलपुरकै एक ज्येष्ठ नागरिकद्वारा गरिएको थियो । कोहलपुरका ज्येष्ठ नागरिक ७३ वर्षीय रामकिसुन थारूले रिबन काटेर सो अस्पतालको उद्घाटन गरेका थिए ।
कोहलपुर।
कोहलपुरमा शुक्रबारदेखि सुविधासम्पन्न नयाँ अस्पताल सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका–११ स्थित विद्युतरोडनजिकै सुविधासम्पन्न आरएम अस्पताल सञ्चालनमा आएको हो । शुक्रबार कोहलपुरमा एक फरक ढंगको समारोह आयोजना गरेर सो अस्पतालको उद्घाटन गरिएको थियो ।
प्रायः सांसद, मन्त्री वा उच्च ओहदाका व्यक्तिद्वारा रिबन काटेर उद्घाटन गर्ने परम्परा रहिआएकोमा शुक्रबार सो अस्पतालको उद्घाटन कोहलपुरकै एक ज्येष्ठ नागरिकद्वारा गरिएको थियो । कोहलपुरका ज्येष्ठ नागरिक ७३ वर्षीय रामकिसुन थारूले रिबन काटेर सो अस्पतालको उद्घाटन गरेका थिए ।
आरएम अस्पतालका सञ्चालक डा. गोविन्दप्रसाद चौधरी हुन् । उनी लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरीका पति हुन् । सो अवसरमा सांसद सञ्जु चौधरी पनि उपस्थित थिइन् । ‘चाहेको भए हामीले ठूला मान्छेहरूलाई बोलाएर भव्य समारोहमाझ अस्पतालको उद्घाटन गर्न पनि सक्थ्यौँ,’ सांसद चौधरीले भनिन्, ‘तर आफ्ना अग्रजहरूको सम्मान गर्दै हामीले अस्पतालको उद्घाटन पनि उहाँहरूबाटै गराउन चाह्यौँ ।’
उनले सो अस्पतालको नाम नै आफ्ना अग्रजहरूको नामबाट राखिएको जानकारी दिइन् । बा रामकिसुन र हजुरबा मयरामको नामबाट अस्पतालको नाम छोटकरीमा आरएम राखिएको उनले बताइन् । ‘यो हाम्रा अग्रजहरूप्रतिको सम्मान पनि हो,’ उनले भनिन्, ‘उहाँहरूका नाममा हामी समाजमा अस्पतालमार्फत सेवा गर्न चाहन्छौँ ।’
ज्येष्ठ नागरिकबाट अस्पताल उद्घाटन गरेर असल परम्पराको थालनी गरेको भन्दै कार्यक्रमका सहभागीहरूले सञ्चालकको प्रशंसा गरेका थिए । एकातिर आफ्ना अग्रजहरूको सम्मान पनि हुने अर्कातिर स्थानीय भावनाको विकास पनि हुने भन्दै उनीहरूले सञ्चालकलाई धन्यवाद दिएका थिए ।
अस्पतालको उद्घाटन गर्दै रामकिसुन थारूले आफ्ना सन्ततिले अस्पताल खोलेर मानवीय सेवालाई महत्व दिएकोमा खुसी प्रकट गरे । उनले कोहलपुरमा सुविधासम्पन्न अस्पतालको अभाव रहेका बेला आफूहरूका नाममा अस्पताल खोलेर आफ्ना सन्ततिले पुण्यको काम गरेको उनले बताए । ‘समाजमा व्यापारका लागि अरू धेरै क्षेत्रहरू छन्,’ उनले भने, ‘तर अस्पताल खोलेर मानवीय सेवाभावलाई महत्व दिएकोमा म आज निकै खुसी छु ।’
उनले विपन्न, असहाय तथा ज्येष्ठ नागरिरकहरूलाई सहुलियतमा औषधि उपचार गरिदिने प्रबन्ध मिलाउन पनि अस्पताल सञ्चालकसँग आग्रह गरे । घरआँगनमै सुविधासम्पन्न अस्पताल खुलेपछि अब जटिल तथा सामान्य स्वास्थ्य उपचारका लागि जिल्लाबाहिर वा विदेश धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।
आरएम अस्पताल अन्य अस्पतालभन्दा फरक र नयाँ सेवा सुविधाका साथ सञ्चालनमा आएको अस्पतालका सञ्चालक डा. गोविन्दप्रसाद थारूले दाबी गरे । कोहलपुरमा धेरै अस्पताल तथा क्लिनिक सञ्चालनमा आए पनि अन्य अस्पतालमा नभएका सेवाहरू सहज ढंगले प्रदान गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिए ।
उनका अनुसार सो अस्पतालमा मस्तिष्क, नसा तथा मेरुदण्ड, मानसिक स्वास्थ्य र मनोरोगको चिकित्सकीय उपचारका साथै परामर्श सेवा पनि प्रदान गरिनेछ । त्यस्तै, बहिरंग सेवा, विशेषज्ञ सेवा, स्त्रीरोग, बाल रोग, चर्म (छाला) तथा यौन रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, पेट, छाती तथा मुटुरोग, मिर्गाैला रोग, एक्सरे, भिडियो एक्सरे, ड्रेसिङ, माइनर ओटी, फिजियो थेरापीलगायत २४सै घन्टा इमेर्जेन्सी सेवा, प्रयोगशाला, इसिजी तथा फार्मेसी सेवा प्रदान गरिने डा. चौधरीले जानकारी दिए ।
हाललाई १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालले १ सय शैय्या सञ्चालन गर्ने लक्ष्य लिएको छ । विस्तारै सेवा सुविधा थप गर्दै लगिने डा. चौधरीको भनाइ छ । उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाभित्र रहेका प्रत्येक वडाका २ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क सुगर तथा प्रेसर जाँच गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्