बाँके ।
बाँकेमा पहिलोपटक राप्ती सोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ । गाउँपालिकाले लिजा सार्वजनिक गर्दै सुधार गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा ७४.२५ प्रतिशत अंक ल्याउन सफल भएको छ । पछिल्लो दुई कार्यकालमा राप्ती सोनारीले लिजामा छलाङ मारेको हो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ६७.२५ प्रतिशत अंक हासिल गरेको थियो । २०७७÷०७८ मा केवल ४९ अंक मात्रै हासिल गरेको राप्ती सोनारीले पछिल्ला दुई आर्थिक वर्षमा भने लिजामा सुधारको छलाङ मारेको हो । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले यो स्वाभाविक प्रक्रिया भएको बताउँदै विधि र पद्धतिमा स्थानीय सरकार चलिरहेको सन्देशका रूपमा बुझ्न पनि उनले आग्रह गरे ।
‘हाम्रो काम विधिसम्मत् र नीतिसम्मत गर्ने हो,’ उनले भने, ‘पालिकालाई विधि र पद्धतिबाट चलाउँदै लगिएको छ । त्यसकै परिणाम हो । यो स्वभाविक हो ।’ गाउँपालिकाको दोस्रो कार्यकालका रूपमा पौडेल नेतृत्वको जनप्रनिधि आएपछि पालिका एउटा लयमा हिँड्न थालेको छ । चार दर्जनभन्दा बढी कानुन निर्माण भएका छन् । हालै सम्पन्न अधिवेशनले थप ९ वटा ऐन र कार्यविधि पारित गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले दश वटा सूचकका आधारमा स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको जानकारी दिए । उनका अनुसार शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गरिएको थियो ।
‘अधिकांश सूचकमा हाम्रो सुधार भएको छ,’ उनले भने, ‘सेवा प्रवाहलाई अझै सरलीकृत बनाएर लैजानुपर्नेछ । अझै धेरै काम गर्न सकिन्छ ।’ माघ ७ गतेसम्म स्थानीय तहले लिजा सार्वजनिक गरिसक्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्