शिवु खनाल । दाङ ।
दुई छाक खाना जुटाउनै मुस्किल पर्ने लमही नगरपालिका–९ रिहारडेरा निवासी बुद्धिराम चौधरीलाई घरको छानो फेर्ने सपना जस्तै थियो । ४३ वर्षीय चौधरी जन्मेदेखि खरकै झुपडीमा जीवन बिताइरहेका थिए । ‘यही खरको छानोमुनि नै मरिने हो कि भन्ने चिन्ता थियो,’ उनले भने, ‘अहिले लमही नगरपालिकाले जस्ता लगाएदेखि परिवारमा खुसी छाएको छ ।’
चौधरीको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ । लमही नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै चौधरीले पनि जस्तापाताले घर छाउन पाएका हुन् । बर्खाभरी पानी चुहिएर बस्नै नसकिने घरमा जस्तापाता लगाएपछि दुःखीका पनि दिन आउँदा रहेछन् भन्ने उनलाई लागेको छ ।
उनीजस्तै लमही नगरपालिका–१ देखि ९ नम्बर वडाका विपन्न, गरिब र असहाय परिवार यो कार्यक्रमबाट लाभान्वित भएका छन् । खरका छाना विस्थापित गर्न गरिब र असहायका लागि स्थानीय सरकार सहारा बनेको लमही नगरपालिका–९ धवारी निवासी नन्नी पुनले बताए । ‘कतिपय जनता जीवनभर खरको छाना फेर्नसक्ने अवस्थामा थिएनन्,’ उनले भने, ‘जनताको आवासीय सुरक्षाका लागि यो कार्यक्रमलाई स्थानीय सरकारले पहिलो प्राथमिकता दिनु भनेकै जनताप्रति जनप्रतिनिधि उत्तरदायी बन्नु हो ।’
लमही नगरपालिका–९ धवारी गाउँ निवासी असारी रावतको पनि धोको पुरा भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण रावतले घरको छानो जस्तापाताले छाउन सकेकी थिइनन् । ‘टिनले छाएर बस्ने धोको पहिल्यैदेखि थियो । तर, कसरी छाउने । पैसा थिएन,’ उनले भनिन्, ‘अहिले नगरपालिकाबाट पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । धेरै खुसी छु ।’
लमही नगरपालिकाले यसवर्ष विपन्न परिवारका ९७ घरधुरीको छाना हटाएर जस्तापाता लगाइदिएको लमही नगरपालिका योजना शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिइन् ।
उनले लमही नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजनाअनुसार अगाडि बढेको बताइन् ।
विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान सुरु गएको थियो । तीन वर्षको अवधिमा २ सय २० घर जस्तापाताले छाइएको लमही नगरपालिकाका योजना प्रमुख सुनिता पोखरेलले जानकारी दिइन् ।
लमही नगरपालिकाका नगर उप–प्रमुख लक्ष्मी योगीले जनजीविकाका सवाललाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले वार्षिक, नीति, कार्यक्रम तथा बजेट ल्याउने गरेको बताइन् ।
‘नगरपालिकाभित्र १ हजार घर खरको छानाका थिए । त्यसमध्ये २ सय २० घरमा जस्ताको छाना लगाइयो,’ उनले भनिन्, ‘अब सबै खरले छाएका घर जस्तापाताले छाइनेछन् ।’ जिल्लाका १० वटै स्थानीय तहले यस कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् ।









प्रतिक्रिया दिनुहोस्